थरुहट समितिले संघर्षको नाममा आन्दोलन तुहाउँछः अध्यक्ष थारु


SAM_4797

काठमाडौं, असार १ गते । थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरीले थरुहट थारुवान संयुक्त संघर्ष समितिले संघर्षको नाममा थारु आन्दोलन तुहाउने बाटोमा लागेको आरोप लगाउनुभएको छ ।

हमार पहुरा डट कमसँग आज संक्षिप्त कुरागर्दै अध्यक्ष थारुले त्यस्तो बताउनुभयो । संघर्ष समिति र आफ्नो दलका नेताहरुसँग फोनमा समेत समन्वय भइनरहेको बताउँदै उहाँले छिन्नभिन्न भएर आन्दोलनको कुनै उपलब्धी हात नलाग्ने तर्क गर्नुभयो । संघर्ष समितिलाई संघीय गठबन्धनको आन्दोलनमा सरिक हुन उहाँले सुझाव दिनुभयो ।

थारु कल्याणकारिणीसभाको नेतृत्वमा भइरहेको थरुहट थारुवान संघर्ष समितिको आन्दोलनको कार्यक्रमको कुनै अर्थ नरहेको बताउँदै अध्यक्ष थारुले देखाउनका लागि गरिने आन्दोलनमा आफ्नो दलको कुनै सहभागीता र सहयोग नहुने स्पष्ट पार्नुभयो । थारु नेताबीच नै सहकार्य र समन्वय नरहेको बताउँदै उहाँले महिना दिनसम्म पनि संघर्ष समितिको नेताहरुसँग आफनो सम्पर्क नरहेको प्रष्ट पार्नुभयो ।

“हामी नेताहरुबीच आन्दोलनको विषयमा कुनै छलफल र समन्वय छैन, सम्पर्क नभएको पनि महिनौं भैसक्यो, एकतर्फीरुपमा संघर्ष समितिको आन्दोलनको कार्यक्रम मिडियामा हेरेपछि थाहा हुन्छ” भन्दै अध्यक्ष थारुले थारुबीचको एकताविना थारुको अधिकार सुनिश्चित हुनै नसक्ने दावी गर्नुभयो ।

“हामी नेताहरुबीच आन्दोलनको विषयमा कुनै छलफल र समन्वय छैन, सम्पर्क नभएको पनि महिनौं भैसक्यो, एकतर्फीरुपमा संघर्ष समितिको आन्दोलनको कार्यक्रम मिडियामा हेरेपछि थाहा हुन्छ”

संघर्ष समितिले एकतर्फी सरकारसँग वार्ता गर्ने वार्ता टोली बनाएकोप्रति टिप्पणी गर्दै अध्यक्ष थारुले वार्ताको कुनै उपलब्धी नहुने बताउनुभयो । “सरकारी चिया र खाजा खानुबाहेक वार्ताबाट कुनै उपलब्धी हात लाग्दैन, यो वार्ताले थारु आन्दोलनलाई तुहाउने काम गर्नेछ” थारुले दावी गर्नुभयो ।

टीकापुर घटनामा पक्राउ परी कारागार जीवन व्यतित गरेकाहरुको रिहाइकालागि आन्दोलन नै सबैभन्दा उपयुक्त विकल्प रहेको बताउँदै अध्यक्ष थारुले राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै समाधान गर्न सहज हुने चर्चा गर्नुभयो । आन्दोलनमा नागरिकलाई उचाल्ने तर समस्या पर्दा समाधानका लागि पहल नगर्ने नेतृत्वको कमजोरी भएको उहाँले बताउनुभयो ।

संघीय गठबन्धनको आन्दोलनबाट नै पछाडि परेका सबैको अधिकार संविधानमा सुनिश्चित गर्ने उचित विकल्प रहेको बताउँदै अध्यक्ष थारुले मागमुद्दा सम्बोधन नहुँदासम्म गठबन्धनका आन्दोलन जारी रहने बताउनुभयो । अधिकारप्राप्तीको आन्दोलन भएकाले सरकारमा जानेसँग यसको कुनै सरोकार नरहेको उहाँको बुझाई छ ।

थरुहट तराई पार्टी नेपालका अध्यक्ष थारुको अन्तरवार्ता विस्तृतमा यसपछि प्रकाशन हुनेछ । (सम्पादक)

तपाईको प्रतिक्रिया