जिम्मेवारीअनुसारको भूमिका राष्ट्रसंघमा निर्वाह गर्नेछुः फूलमान चौधरी


SAM_4877

काठमाडौ, असार ११ गते । राष्ट्रसंघको आदिबासी जनजाति सवालका लागि स्थायी फोरममा तीन वर्षका लागि नियुक्त हुनुभएका फूलमान चौधरीले अवसरलाई जिम्मेवारीकोरुपमा लिएर सकेसम्म आदिबासी जनजातिको सवालमा राम्रो प्रस्तुतिको प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

काठमाडौंमा शनिबार थारु आदिबासी अगुवाहरुसँग छलफल गर्दै चौधरीले थारु समुदायबाट पहिलो पटक जिम्मेवारीमा पुगेकाले गौरवसँगै चुनौति महशुस भइरहेको बताउनुभयो । आदिबासी जनजातिको सवालमा नेपाल भित्र र बाहिर फरक फरक बुझाई रहेकाले त्यसलाई चिर्न आफूले भूमिका खेल्ने बताउनुभयो ।

SAM_4884

एसियाको प्रतिनिधित्व गर्दै आफू राष्ट्रसंघको स्थायी प्रतिनिधिमा निर्वाचित भएपनि नेपालको सवाल स्वभावैले प्रमुखतामा पर्ने बताउँदै चौधरीले त्यसकालागि सबैको सहयोग र सल्लाहको अपेक्षा गर्नुभयो । चौधरी सन् २०१७ देखि २०१९ सम्मका लागि सो पदमा नियुक्त हुनुभएको हो ।

विभिन्न १६ वटा देशबाट प्रतिनिधित्व रहने सोका लागि आठजनालाई सरकारले सिफारिस गरेर प्रतिनिधित्व गर्ने र आठजनालाई नागरिक समाजका संघ संस्थाको सिफारिसमा नियुक्त हुने व्यवस्था छ । चौधरी संघ संस्थाको सिफारिसमा त्यहाँ पुग्नुभएको हो । यसअघि सन् २००२ देखि २००७ सम्म दुई कार्यकालका लागि पर्शुराम तामाङ नेपालबाट सो पदमा रहेर काम गर्नुभयो ।

छलफल कार्यक्रममा पत्रकार लक्की चौधरीले नयाँ संविधानमा भएको व्यवस्था र त्यसको कार्यान्वयन, समानुपातिक व्यवस्थाको बुझाई र त्यसको कार्यान्वयन, आईएलओ महासन्धी १६९ ले गरेको व्यवस्था र सरकारले गरेको कार्यान्वयन, आदिबासी जनजातिको प्रथाजनित कानून, प्राकृतिक स्रोत साधनमा पहिलो अधिकारको विषयमा सुझाव दिनुभयो ।

SAM_4886

त्यस्तै, दीगो विकासका लागि सो वर्गको उत्थान र सशख्तिकरणका विषयमा सुझाव दिनुभएको थियो । आदिबासी जनजातिमध्ये थारुलाई मात्र लाग्ने सिकलसेल र त्यसको निदानको विषयलाई समेत उठाउन चौधरीलाई सुझाव दिनुभयो । संघीय व्यवस्था र त्यसको कार्यान्वयनमा देखिएको उदासिनताको विषयलाई समेत प्राथमिकता दिन सुझाव दिनुभयो ।

त्यस्तै, थरुहट तराई पार्टी नेपालका सचिव मिनराज थारुले राज्यले विभिन्न आदिबासी जनजातिको अधिकार सुनिश्चित्ताका लागि सहमति र सम्झौता गर्ने तर कार्यान्वयन कहिल्यै नगर्ने, जल, जंगल, जमिन र जडिबुटीमा आदिबासी जनजातिको अधिकारको सवाल, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक अधिकार तथा अग्राधिकारको विषयलाई समेत जोड्दार ढंगले उठाउन उहाँले सुझाव दिनुभयो ।

छलफल कार्यक्रममा स्माइल चौधरी, वसन्ती चौधरी, गीता थारु, श्याम गौरो थारु, उन्नति चौधरी, वीरेन्द्र चौधरी लगायतले नेपालमा आदिबासी सहित थारुको सवाल र उठाउनु पर्ने विषयका बारेमा चौधरीलाई सुझाव दिनुभएको थियो ।

जुलाई ११ देखि १५ सम्म जेनेभामा हुने छलफल कार्यक्रममा फूलमान चौधरीले सो विषयलाई उठाउने प्रतिवद्धता जनाउनुभयो । थप सल्लाह र सुझावका लागि उहाँले इमेल मार्फत सहयोग गर्न सबैमा अपिल गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया