जन्मजयन्तीमा मदनको सम्झैनै सम्झना


Madan

काठमाडौँ, असार १३ गते । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले जननेता मदन भण्डारीको ६५औँ जन्मजयन्तीका अवसरमा ‘शार्र्दूल’ शीर्षक अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशनमा ल्याएको छ ।

वैचारिक सिर्जनाको संवाहकका रुपमा लिइएको सो पत्रिकाका प्रमुख संरक्षकमा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसम्पादकमा प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बा तथा कार्यकारी सम्पादकमा डा विन्दु शर्मा र यशोदा अधिकारी रहनुभएकोे छ । ‘श्वेतशार्दूल’ नेकपा एमालेका तत्कालीन महासचिव एवम् जनताको बहुदलीय जनवाद जबजका प्रणेता मदन भण्डारीको भूमिगत नाम पनि हो ।

पत्रिकामा प्रा डा बद्रीविशाल पोखरेल, डा अमर गिरी, डा कृष्णबहादुर थापा, डा डिल्लीराज खनाल, प्रा डा सोम खतिवडा, डा भीम खतिवडा, शान्ता मानवी, श्यामल, जयन्ता पोखरेल, सुदेश सत्याल लगायतद्वारा रचित जनताको बहुदलीय जनवादसम्बन्धी कार्यपत्र, जनपक्षीय साहित्य, संस्कृति, सङ्गीत, चलचित्र र पत्रकारिता, नाटक, निबन्ध मदन भण्डारीसँगको संस्मरणसमेत, कथा, कविता ९मदनका कवितासमेत०, समालोचना, प्रतिष्ठानका प्रतिवेदन लगायत विषय समेटिएको छ ।

विसं २०६७ माघ २२मा स्थापित सो प्रतिष्ठान र पत्रिकाको संरक्षकमा उषाकिरण भण्डारी रहनुभएको छ ।

यसैबीच प्रतिष्ठानले भण्डारीको जन्मजयन्तीका उपलक्ष्यमा विराटनगरमा काव्यविमर्श, तनहुँमा वृक्षरोपण, नेपालगन्जमा वैचारिक अन्तक्र्रिया र धनगढीमा काव्यगोष्ठी आयोजना गर्न लागेको प्रतिष्ठानका महासचिव डा देवी नेपालले जानकारी दिनुभयो ।

मदन भण्डारी फाउन्डेसन अन्तर्गत रहेका नेपाल बुद्धिजीवी मञ्च, मदन भण्डारी स्पोर्ट एकेडेमी र कला साहित्य प्रतिष्ठानका तत्कालीन अध्यक्षमा विद्यादेवी भण्डारी हुनुहुन्थ्यो । फाउन्डेसनले भण्डारीको जन्मदिन असार १४ गते ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पनि प्रदान  गर्दैछ । फाउन्डेसनले भने ‘दिशाबोध’ पत्रिका प्रकाशन गरिरहेको छ । रासस

तपाईको प्रतिक्रिया