नेपाली राजनीतिक विकासमा मदन भण्डारीको योगदान प्रसंशनीय


Madan

लक्की चौधरी
काठमाडौं, असार १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले आफ्नो छोटो जीवनमा नेपाली समाजका निम्ति गर्नुभएको योगदान अविस्मरणीय र उच्च रहेको बताउनुभएको छ ।

मदन भण्डारीको ६५ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा मंगलबार यहाँ सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले त्यस्तो बताउनुभयो । “लोकतन्त्र र सामाजिक परिवर्तनका निम्ति आफ्नो जीवन समर्पित गर्नुभएका नेता भण्डारी २०४६ सालको संयुक्त जनआन्दोलनको मुख्य सम्बाहक हुनुहुन्थ्यो” राष्ट्रपति भण्डारीले भन्नुभयो, “सृजनात्मक सोच र चिन्तनको आधारमा बामपन्थी आन्दोलनलाई नयाँ दिशा दिनुभएको थियो ।”

राष्ट्रपति भण्डारीले गणतन्त्र र संविधानका सम्बन्धमा नेता भण्डारीको दूरदृष्टि सोच रहेको कुरा ०६२÷०६३ को आन्दोलनले प्रष्टपारेको भन्नुहुँदै उहाँले थप्नुभयो, “नेपाली समाजलाई सही गन्तव्य दिनकालागि नेतृत्वदायी भूमिका खेल्नसक्ने यस्ता लोकप्रिय व्यक्तित्वको रहस्यमय निधनले नेपाली समाजमा अपूरणीय क्षति भएको छ, उहाँको अभाव लामो समयसम्म खड्किरहने छ ।”

“संविधान जारीपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ, मुलुक दीगो शान्ति र मेलमिलापको दिशामा अग्रसर भएको छ” राष्ट्रपति भण्डारीले भन्नुभयो, “मुलुकलाई आर्थिक समृद्धितर्फ लग्ने ऐतिहासिक जिम्मेवारी अब हामी सबैको काँधमा आएको छ, संविधानको प्रभावकारी कार्यान्वयन मार्फत मुलुक समृद्ध हुन्छ ।” सबै राजनीतिक दलका नेताहरुलाई त्यसप्रति जिम्मेवार बन्न उहाँले आग्रह गर्नुभयो ।
नेता भण्डारीका धर्मपत्नीसमेत रहनुभएका राष्ट्रपति भण्डारीले उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीले देख्नुभएको सपनाअनुसार वर्तमान सरकार जनताको अधिक्तम सहुलियत र सुविधाका लागि काम गरिरहेको बताउनुभयो । “मदन भण्डारीको सबैभन्दा ठूलो गुण र योगदान भनेकै जनताको बहुदलीय जनवाद हो, जुन समाज र राष्ट्रलाई समृद्धिको बाटोमा लग्ने उत्कृष्ट सिद्धान्त हो” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

“भूकम्प पीडितको अवस्थाप्रति सरकार अत्यन्त संवेदनशील छ, पुनस्र्थापनामा राजनीति कसैले गर्नु हुँदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो, “झुठ र बेइमानीको राजनीतिमा अल्झिने समय अहिले छैन ।” संविधानको कार्यान्वयन गरी समृद्ध नेपाल र सुखी नेपाली हाम्रो लक्ष्य हो एमाले अध्यक्ष समेत रहनुभएका ओलीले प्रष्ट पार्नुभयो ।

Madan1

“वर्तमान सरकार संविधानको कार्यान्वयनसँगै मुलुकलाई विकासको गतिमा अघि बढाउने प्रयासमा लागेको देख्दा कोहीलाई छटपटि भएको छ” भन्नुहुँदै प्रधानमन्त्री ओलीले सरकार आफ्नो योजनाअनुसार काम गर्न दृढ रहेको बताउनुभयो । भूकम्पपीडितलाई छिटोभन्दा छिटो कसरी सुविधा उपलब्ध गराउन सकिन्छ भन्नेमा सरकार दत्तचित्त रहेको प्रष्ट पार्नुभयो ।

“आठलाख घर भत्किएको छ, जनता पीडामा छन्, देश पीडामा छ, यो पीडामा राजनीति गर्ने विषय होइन, गर्नु हुँदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीसँग थोत्रो, बेइमानी र निरर्थक राजनीति गर्ने समय छैन ।” देशलाई तिव्र आर्थिक समृद्धिमा लग्न तिव्रगतिमा अगाडि बढेको बताउँदै उहाँले समता, समृद्धि र देशको विकासले मात्र मदन भण्डारीको सपना पूराहुने बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा नयाँ संविधान जारी भएपनि मुलुकको अवस्था अझै सहज भैनसकेको बताउनुभयो । संविधान जारी भएपनि चुनौतिको सामना गर्ने अवस्था अझै बाँकी छ, सबै मिलेर चुनौतिलाई अवसरमा बदल्न सक्नुपर्छ भन्दै अध्यक्ष प्रचण्डले सबैलाई मुलुकप्रति जिम्मेवार हुन आग्रह गर्नुभयो ।

जननेता मदन भण्डारी र आफने विचारमा समानता रहेको दावी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेता भण्डारी र मेरो सोचमा विचित्रको समानता थियो, भेट भएको भए नेपाली समाजलाई बदल्ने दिशामा थप योगदान पुग्थ्यो होला ।” नेपाली कम्युनिष्ट राजनीतिले ठूलो फड्को मारेपनि नकारात्मक विरासत पनि रहेको उहाँले चर्चा गर्नुभयो । कम्युनिष्ट विचारलाई एकतामा ल्याउन सके नयाँ क्रमभंगता हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले समकालिन नेपाली राजनीतिका सर्वाधिक लोकप्रिय नेताकोरुपमा मदन भण्डारी रहेको चर्चा गर्नुभयो । ०४७ सालदेखि ५० सम्म नेपाली राजनीतिमा उदाएका नेता भण्डारीले तीन वर्षमै प्रशंसनीय काम गरेर जानुभएको उहाँले स्मरण गर्नुभयो ।

“नेता भण्डारी बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो, उहाँको देन र योगदानले आज कम्युनिष्ट पार्टी सफलताको शिखरमा छ” भन्दै उहाँले मदन भण्डारीले देखाउनु भएको बाटो नै नेपाली राजनीतिको मार्गदर्शन रहेको बताउनुभयो ।

“नेता भण्डारी बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो, उहाँको देन र योगदानले आज कम्युनिष्ट पार्टी सफलताको शिखरमा छ” भन्दै उहाँले मदन भण्डारीले देखाउनु भएको बाटो नै नेपाली राजनीतिको मार्गदर्शन रहेको बताउनुभयो । आफ्नो दल संविधानको पक्षमा नरहे पनि लोकतान्त्रिक व्यवस्थालाई स्वीकार गरेर आलोचनात्मक समर्थन गरेको उहाँले प्रष्ट पार्नुभयो । नेपाली जनताको अनुहारमा हाँसो र खुशी आएमात्र मुलुक आर्थिक समृद्धिको बाटोमा गएको महुशस हुने उहाँले चर्चा गर्नुभयो ।

सो अवसरमा बोल्ने वक्ताहरु सबैले जननेता भण्डारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सम्मानित हुने व्यक्तित्वहरुलाई बधाई ज्ञापन गर्नुभयो । सो अवसरमा नेता भण्डारीको भाषणको संकलन सिडी र उहाँको सम्झनामा प्रकाशित पुस्तक सार्वजनिक गरिएको थियो ।

दुई व्यक्तित्व सम्मानितः
मदन भण्डारी फाउण्डेशनले हरेक वर्ष दिइने मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट दुईजना व्यक्तित्व सम्मानित हुनुभएको छ । स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै डा. भगवान कोइराला र सामाजिक क्षेत्रमा सूचना प्रविधिको उच्च विकास गरेको भन्दै महावीर पुनलाई सो सम्मान प्रदान गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैलाई नगदसहित सम्मापत्रले सम्मानित गर्नुभयो । पुरस्कारको राशी जनही एकलाख एक रुपियाँ रहेको फाउण्डेशनले बताएको छ । पुनलाई आर्थिक वर्ष ०७१ को र कोइरालालाई ०७२ को पुरस्कार प्रदान गरिएको हो । गतवर्ष मुलुकमा आएको प्राकृतिक विपत्तिका कारण पुरस्कार वितरण गर्न नसकिएको आयोजकले बताएको छ । यसअघि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, शहिद पार्क हेटौडा संस्था सो पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।

सम्मानका लागि एमाले सचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा छनौट समिति गठन गरिएको थियो । सोही समितिले कोइराला र पुनलाई सम्मानका लागि सिफारिस गरेको थियो ।

सम्मानका लागि एमाले सचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा छनौट समिति गठन गरिएको थियो । सोही समितिले कोइराला र पुनलाई सम्मानका लागि सिफारिस गरेको थियो ।

सम्मानित व्यक्तित्व डा. भगवान कोइरालाले मुलुकको परिवर्तनका लागि लागातारको परिश्रम आवश्यक रहेको बताउँदै दलका नेताहरुलाई त्यसमा लाग्न आग्रह गर्नुभयो । नेता भण्डारी सोही सिद्धान्तमा अडिग रहनुभएकाले सफलता हात पार्नुभएको भन्दै उहाँले सम्मान व्यक्त गरेकोमा आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

अर्का सम्मानित व्यक्तित्व महावीर पुनले सम्मानले आफूलाई मुलुकका लागि थप लाग्ने प्रेरणा दिएको बताउनुभयो । अब मुलुकलाई अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा लग्न थप प्रयास गर्नेछु, यसअघि पनि गरेको थिएँ अब झन गर्छु उहाँले भन्नुभयो । सम्मानप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।

तपाईको प्रतिक्रिया