कानूनीरुपमा सरकार अल्पमतमा परेको छैनः एमाले सचिव ज्ञवाली

माओवादीलाई अव सम्हालिन गाह्रो छ


Pradip-gywali

काठमाडौं, साउन १ गते । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले सरकार अझै कानूनीरुपमा अल्पमतमा परिनसकेको बताउनुभएको छ । त्यसको प्रमाणित गर्ने निकाय व्यवस्थापिका संसद हो, अझै त्यसले प्रमाणित गरिनसकेकाले सरकार अल्पमतमा प¥यो भन्न नहुने उहाँले तर्क गर्नुभयो ।

प्रेस चौतारी नेपालले शनिबार यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै सचिव ज्ञवालीले त्यस्तो तर्क गर्नुभयो । हाम्रो लडाई राजनीतिक लडाई हो, राजनीतिकरुपमा यसको मुकाविला गर्छौं भन्नुहुँदै सचिव ज्ञवालीले भन्नुभयो, “राजनीतिकरुपमा हामीले पर्याप्त पूँजी आर्जन गरेका छौं, जनताबीच जान हामीलाई अप्ठेरो छैन ।”

“संसदीय प्रक्रियामा सरकार बन्नु र विघटन हुनु सामान्य विषय हो, स्वाभाविक परिघटना हो तर अहिलेको घटना स्वाभाविक छैन, देखिएको छैन” भन्दै सचिव ज्ञवालीले “यसअघिको मनमोहन अधिकारी नेतृत्वको सरकार राम्रो काम गरेरै अपदस्थ पारिएको थियो, अहिलेको सरकारमा पनि त्यही घटनाको पुनराबृत्ति हुन खोजेको छ” आशंका व्यक्त गर्नुभयो ।

“सरकारले शुरुगरेको राष्ट्रिय स्वाधिनताको अभियान र झण्डै दुईसयवर्ष अगाडिको सुगौलीसन्धीबाट निहुरिन शुरुगरेको नेपाली शीरलाई ठाडो गरेर हाम्रा सबै छिमेकीहरुसँग सिधा आँखामाआँखा जुधाएर नेपालको राष्ट्रिय हित यो हो, यसरी अगाडि बढ्नुपर्छ भन्ने काम सरकारले गरिरहेको अवस्थामा सरकार परिवर्तन गर्न खोजिएको छ” भन्दै सचिव ज्ञवालीले गएको नौ महिनामा देश र जनताका लागि के काम ग¥यो भनेर बताइरहनु आवश्यक नरहेको चर्चा गर्नुभयो ।

सचिव ज्ञवालीले “यसअघिको मनमोहन अधिकारी नेतृत्वको सरकार राम्रो काम गरेरै अपदस्थ पारिएको थियो, अहिलेको सरकारमा पनि त्यही घटनाको पुनराबृत्ति हुन खोजेको छ” आशंका व्यक्त गर्नुभयो ।

“सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव अघि सार्दा राम्रो काम गरेबापत सरकारलाई दण्डित गर्ने प्रयत्न गरिएको छ, हामी त्यसलाई पूर्णरुपमा अस्वीकृत गर्छौ” भन्दै सचिव ज्ञवालीले त्यसको सरकारले डटेर सामना गर्ने बताउनुभयो । गलत मनसायकासाथ वर्तमान सरकारलाई विघटन गर्ने प्रपञ्च रचिदैछन् हामी त्यसको राजनीतिक र कानूनीरुपमा फेस गर्छौ उहाँले भन्नुभयो ।

“यो सरकार मेड इन नेपाल हो, मेड बाई पार्लियामेन्ट हो, जस्केलाबाट छिर्दैन, भाग्दैन” भन्दै सचिव ज्ञवालीले भन्नुभयो, “हामी पार्लियामेन्टलाई सोध्न चाहन्छौं, यो सरकारले गएको नौ महिनामा के चाहि गल्ती ग¥यो ? जसको कारणले बजेटसमेत पास हुन दिइएको छैन ?” आफै सम्मिलित मन्त्रीपरिषदले पास गरेर संसदमा पठाएको विधेयकको विरुद्ध उभिने पार्टीका नेता तथा सांसदको चरित्र देखेर आफूलाई अचम्म लागेको बताउनुभयो ।

सरकार गठनका लागि स्पष्ट कानूनी व्यवस्थाको खाँचो रहेको बताउँदै सचिव ज्ञवालीले संविधानको धारा २९८ ले संक्रमणकालिन अवस्थामा दोस्रो सरकार गठन गर्ने नगर्ने विषयमा प्रष्टता नरहेको बताउनुभयो । सरकारले गरेको कामको जनताको इजलासमा न्यायिक फैसला हुने दावीगर्दै उहाँले नेपालले संघीयता, गणतन्त्र, सामाजिक न्याय आदि कोर्सलाई बदल्ने प्रयास पर्दा पछाडि भइरहेको आशंका व्यक्त गर्नुभयो ।

PCN

“अचेल कान्लामुनिका विरालाहरु म्याउ–म्याउ गर्दैछन्, संघीयता कार्यान्वयन हुँदैन, अर्को खिलराज रेग्मी नेतृत्वको सरकार बन्छ आदि इत्यादि” सचिव ज्ञवालीले भन्नुभयो, “संविधान कार्यान्वयन हुन नदिएर मुलुकलाई संकटतिर धकेल्ने कुनै पनि प्रयत्नलाई एमालेले सफल हुन दिने छैन, नेपाली जनतामा जागेको राष्ट्रिय स्वाधिनताको चेतलाई किमार्थ पनि कमजोर हुन दिने छैन ।” एमाले सरकारमा रहोस् या बाहिर निरन्तर संविधानको पहरेदारी गर्ने उहाँले उद्घोष गर्नुभयो ।

सार्वभौम संसदविनाको मुलुक कस्तो संकटमा पर्छ त्यो चेत सबैभन्दा वढी एमालेलाई छ भन्दै सचिव ज्ञवालीले जनप्रतिनिधिविहिनताको परिकल्पना आफूहरुले नगर्ने बताउनुभयो । बाहिर हल्ला चलेजस्तो संसद विघटनको विषयमा सरकारले कल्पना समेत नगरेको प्रष्ट पार्नुभयो ।

“यसबीचमा सभामुखले गम्भीर गल्ती गर्नुभएको छ, संसदमा विचाराधिन विधेयकहरुको छलफललाई डाइभर्ट गरेर उहाँले अविश्वासको प्रस्तावलाई प्राथमिकता दिनुभएको छ” भन्दै सचिव ज्ञवालीले सरकारले दिएको विजनेसलाई सभामुखले वेवास्ता गरेको आरोप लगाउनु भयो । “संसदलाई विजनेस दिनेकाम सरकारको हो, त्यो विजनेसमा सभामुख लाग्नुपथ्र्यौ, उहाँको निश्पक्षतामाथि प्रश्नचिन्ह लागेको छ” भन्दै उहाँले भन्नुभयो, “सभामुख को हुनुहुन्छ भन्ने ठूलो कुरा होइन, कुर्सी सम्मानित हो, त्यसको गरिमा राख्नुपथ्र्यौ ।”

राजनीतिकबृत्तमा चर्चाको विषय रहेको भद्र सहमतिको विषयमा सचिव ज्ञवालीले कुनै त्यस्तो सहमति नभएको बताउनुभयो । “एमाले र माओवादीबीचको नौबुँदे सहमतिताका लिखित प्रस्तावकोरुपमा माओवादीले ल्याएको थियो, तर त्यसलाई प्रधानमन्त्रीले स्वीकृत गर्नुभएन” प्रष्टपार्दै सचिव ज्ञवालीले भन्नुभयो, “प्रस्ताव आएकै हो तर प्रधानमन्त्रीले प्रस्तावलाई प्रथम दृष्टिमै अस्वीकार गर्नुभएको हो ।” बजेट पारित भएपछि प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव आएको सही हो, तर त्यसमा सहमति भएको हैन उहाँले भन्नुभयो ।

“माओवादीले गठबन्धन टोडेर नराम्रोसँग फँस्यो, देशलाई त हामीले जसरी पनि सम्हाल्छौं तर माओवादी सम्हालिन असम्भव जस्तै हुन्छ” भन्दै सचिव ज्ञवलीले प्रचण्डलाई छलछामको राजनीति गरेको आरोप लगाउनुभयो ।

कार्यक्रम प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको सभापतित्वमा भएको थियो । तर यता कांग्रेस र माओवादी केन्द्रका नेताहरुले सरकार अल्पमतमा परिसकेकाले राजीनामा दिनुपर्छ तकै अघि सारेका छन् ।

तपाईको प्रतिक्रिया