राष्ट्रपतिबाट सरकार गठनको आव्हान, को को हुँदैछ थारुबाट मन्त्री ?


Garuri

काठमाडौं, साउन १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ताको समय दिएर सहमतीय सरकार गठनको सोमबार आव्हान गर्नुभएको छ । संविधानको धारा २९८ को उपधारा २ बमोजिम उहाँले नयाँ मन्त्रीपरिषद गठनको आव्हान गर्नुभएको हो ।

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिअनुसार बहुमतीय सरकार गठन हुने निश्चितप्राय छ । दोस्रो ठूलो दल नेकपा (एमाले) सरकारमा नजाने बताएपछि सहमतीय सरकार गठनको सम्भावना न्यून भएको छ । कांग्रेस, माओवादीसहित सानादल मिलेर बहुमतीय सरकार गठन हुने देखिएको छ ।

IMG (4)

राष्ट्रपतिले आव्हान गरेअनुसार सातदिनमा सहमतीय सरकार गठन नहुने करिब निश्चित भएको अवस्थामा सातदिन पछि पुनः उहाँले बहुमतीय सरकार गठनकालागि आव्हान गर्नुहुनेछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारमा थारु सांसदहरु को को मन्त्री बन्ने तयारी गरेका छन् भन्ने थारु समुदायमा अहिले चासोको विषय बनेको छ ।

अहिलेको नयाँ गठबन्धन हेर्दा नेपाली कांग्रेसबाट एकजना थारु मन्त्रीमा पर्नुपर्ने अनुमान लगाउन सकिन्छ तर अहिलेसम्म कुनै थारुलाई मन्त्री बनाउने विषयमा कांग्रेसले तयारी गरिसकेको छैन । सम्भवतः कांग्रेसबाट थारु मन्त्री यसपाली बन्ने छैनन् । अनुमान लगाउँदा पदमनारायण चौधरी, तेजुलाल चौधरी, सुरेन्द्र चौधरी र डिल्लीबहादुर चौधरीको बारेमा सामान्य चर्चा भएपनि उहाँहरुको मन्त्री बन्ने सम्भावना नरहेको कांग्रेसका एक नेताले बताउनुभयो ।

janak chaudhary

माओवादी केन्द्रबाट वर्दिया ४ का मानबहादुर चौधरी र कैलाली ४ का सांसद गौरीशंकर चौधरीको चर्चा छ । तर सो मध्ये गौरीशंकरको नाम अगाडि छ । त्यस्तै, फोरम (लोकतान्त्रिक) बाट योगेन्द्र चौधरी र जनकबहादुर चौधरीको चर्चा छ । योगेन्द्र चौधरीले मन्त्री हुन चाहनु भएन भने जनकको बाटो खुल्ला हुनेछ । रामजनम चौधरी सम्भवतः अहिले मन्त्रीमा दोहोरिने छैनन् ।

त्यस्तै, थरुहट तराई पार्टी नेपालका गोपाल दहितको पनि मन्त्री हुने चर्चा छ । तर संघीय गठबन्धनले माग मुद्दा सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेपछि दहितको बाटो करिब बन्द भएको छ । सरकारमा सहभागी हुन उहाँको पार्टीले गठबन्धनबाट बाहिरिनुपर्नेछ । त्यतिसम्मको कदम सम्भवतः सो दलले उठाउने छैन ।

Rukmini chaudhary

सोहीअनुसार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की अध्यक्ष रुक्मिणी चौधरीको पनि सरकारमा जाने चर्चा छ । तर अहिलेसम्म कुनै निर्णय नभएको भनाई उहाँको छ । थारुले उठाएको माग मुद्दा सम्बोधनको वातावरण बनेमात्र आफू सरकारमा जाने उहाँको अडान रहँदैआएको छ । तर उहाँले चाहनु भयो भने सहजरुपमा सरकारमा सहभागी हुनसक्ने देखिन्छ ।

यता फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि मन्त्रीमा जाने भएका छन् । तर उनलाई थारु समुदायले खासै थारुको दर्जा दिएको देखिदैन ।

तपाईको प्रतिक्रिया