सांसद चौधरीले पूर्व सभामुख नेम्वाङलाई ‘ग्याङ्का नाइके’ भनेपछि


Surendra1

काठमाडौं, साउन ११ गते । नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्लाई ‘मुलुकी ऐन अध्ययन गरेका ग्याङ्का नाइके’ भनेर आरोप लगाउँदा एमाले सांसदहरुले कडा आपत्ति जनाउनुभयो ।

व्यवस्थापिका संसदको बैठकमा बाधा अडकाउ फुकाउ प्रस्तावको छलफलमा मंगलबार भागलिंदै सांसद चौधरीले त्यस्तो आरोप लगाउनु भयो । आरोप लगाउने वित्तिकै एमाले सांसदहरुले आसनअगाडि उभिएर कडा आपत्ति जनाउनुभयो । संसदमा मर्यादित भाषा प्रयोगगर्ने नियमावलीमा व्यवस्था भएकाले कसैको व्यक्तिगत चरित्रहत्या गर्नेगरी धारणा आएको भन्दै एमाले सांसदहरुले विरोध गर्दै सो अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख ओनसरी घर्तीसँग आग्रह गर्नुभयो ।

एमाले सांसदहरुले विरोध गरेपछि सभामुख घर्तीले चौधरीको अभिव्यक्तिलाई रेकर्डबाट हटाउन निर्देश गर्दै मर्यादित भएर बोल्न निर्देश गर्नुभयो । एमाले सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति जनाउँदै चौधरीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।

चौधरीले संसद बैठकमा बोल्दै प्रमुख दलका नेताहरुको चरित्र लोकतान्त्रिक नभएको भन्दै शासन सत्ताका लागि मात्र राजनीति गरेको आरोप लगाउनुभयो । लोकतन्त्र, जनता र देशको नाममा नागरिकलाई नेताहरुले ठगिरहेको उहाँले आरोप लगाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया