एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने, विपक्षमा मतदान गर्ने


SAM_3701

काठमाडौं, साउन १८ गते । नेकपा (एमाले) ले नयाँ प्रधानमन्त्रीका लागि उम्मेदवारी नदिने भएपनि कांग्रेस–माओवादी गठबन्धनद्वारा प्रस्तुत हुने उम्मेदवारको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटीको मंगलबार बालुवाटारमा बसेको बैठकले त्यस्तो निर्णय गर्दै अब बन्ने सरकारको जिम्मेवार प्रतिपक्षीमा बस्ने निर्णय पनि गरेको छ । यसअघिसम्म पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने चर्चा पार्टीको आन्तरिक बृत्तमा चर्चा चलेपनि स्थायी कमिटी बैठकले कोही पनि उम्मेदवार नबनाउने फरक निर्णय गरेको छ ।

व्यवस्थापिका संसद नियमावली २०७३ को नियम ४९ (५) र (७) मा भएको व्यवस्थाअनुसार एमालेले त्यस्तो निर्णय गरेको हो । सो नियममा एउटामात्र उम्मेदवार रहँदासमेत संसद बैठकमा सांसदहरुबीच मतविभाजन गराउने व्यवस्था छ । कांग्रेस–माओवादी गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी दर्ता भएकाले उहाँको विपक्षमा एमालेले मतदान गर्ने संसदीयदलका उपनेता नेम्वाङ्ले जानकारी दिनुभयो ।

यसअघिसम्म पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने चर्चा पार्टीको आन्तरिक बृत्तमा चर्चा चलेपनि स्थायी कमिटी बैठकले कोही पनि उम्मेदवार नबनाउने फरक निर्णय गरेको छ ।

बैठकले नेपाली राजनीतिमा देखापरेका पछिल्ला घटनाक्रमबारे छलफल गर्दै मुलुकमा राजनीतिक रिक्तता सिर्जना गर्न खोजिएकाले सबैलाई सजग हुन आव्हान गरेको छ । प्रकट तथा अप्रकट षडयन्त्रले मुलुकको संवैधानिक तथा लोकतान्त्रिक प्रक्रिया अवरुद्ध गर्न खोजिएको बैठकले ठहर गरेको सचिव योगेश भट्टराईले बताउनुभयो ।

प्रचार विभाग प्रमुख समेत रहनुभएका भट्टराईकाअनुसार बैठकले आगामी मंसिरमा स्थानीयतह, ०७४ वैशाखमा प्रदेश र कात्तिक मंसिरमा संघीय संसदको निर्वाचन गर्ने वर्तमान सरकारले सार्वजनिक गरेको कार्यसूचीलाई कार्यान्वयन गर्नेगरी पहल गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मुलुकको स्वतन्त्रता, सार्वभौमिकतामाथि खतरा उत्पन्न हुनेखालको कुनैपनि राजनीतिक प्रस्तावलाई अस्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ । सचिव भट्टराईकाअनुसार राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ गर्न पार्टीको तर्फबाट प्रभावकारी कदम चाल्ने निर्णय बैठकले गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको सभापतित्वमा बसेको बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदमा निर्वाचित गर्न मतदान गर्ने तथा सरकारलाई साथ, सहयोग र समर्थन दिइरहने सबै राजनीतिक दल, व्यवस्थापिका संसदका सदस्यलगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

तपाईको प्रतिक्रिया