देशको ३९ औं प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित, पक्षमा ३६३ मत


Dahal

काठमाडौं, साउन १९ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको   छ ।
व्यवस्थापिका संसद्ले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई वहुमतका आधारमा प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो ।

दश वर्ष सशस्त्रयुद्ध गरेको पार्टीका अध्यक्ष दाहाल सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र मधेशवादी दलहरुको सहयोगमा दोस्रोपटक प्रधानमन्त्री भएका हुनुभएको हो ।

व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनमा दाहालले ३ सय ६३ मत प्राप्त गर्नुभएको छ । उहाँको विपक्षमा २१० मत परेको छ । संसद् बैठकमा बुधबार ५ सय ७३ जना सांसद् उपस्थित भएकोमा २ सय १० जना सांसद्ले भने प्रस्तावको विपक्षमा मतदान गरे।

1

सभामुख ओनसरी घर्तीले ३ सय ६३ मत आवश्यक वहुमत भएकाकारण माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गर्नुभयो ।

सभामुख घर्तीले निर्वाचित भएको घोषणा गर्नासाथ सबैभन्दा पहिले नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले दाहाललाई बधाइ दिनुभयो । त्यसलगत्तै माओवादी केन्द्रका सांसद्हरुबीच खादा लगाइदिन प्रतिस्पर्धा चलेको थियो । पक्ष र विपक्षमा भोट हालेका सबैजसो सांसद्हरुले दाहाललाई वधाइ दिएका थिए ।

प्रधानमन्त्रीको दौडमा दाहाल एक्लो उम्मेद्वार हुनुहुन्थ्यो । एक्लो उम्मेद्वार भए पनि निर्विरोध नहुने व्यवस्थाकाकारण व्यवस्थापिका संसदमा बुधबार मतदान भएको थियो ।

3

निर्वाचनमा दाहाललाई नेपाली काँग्रेस, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेकपा संयुक्त, थरुहट तराई पार्टी नेपाल, संघीय लोकतान्त्रिक मञ्च थरुहट, लगायतका दलका सांसद्ले भोट दिए। संसद्को दोस्रो ठूलो दल नेकपा एमाले, चौंथो ठूलो दल राप्रपा नेपाल र केही साना दलले भने दाहालको विपक्षमा भोट खसाले ।

नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार तीन बजे शपथ ग्रहण गर्ने भएका छन्। बिहीबार शपथ गर्ने जानकारी राष्ट्रपति कार्यालयलाई जानकारी गराइ सकिएको छ। दाहालले शपथ ग्रहण गर्नुअघि विभिन्न स्थानमा रहेका सहिल प्रतिमामा माल्यापर्ण गर्ने जनाइएको छ ।

भारत र चीनको प्रधानमन्त्रीले दिए बधाई

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकी मुलुक भारत र चीनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई एवम् सफल कार्यकालका लागि शुभकामना दिनुभएको हो ।

नवनिर्वाचित प्रधानमन्त्री दाहालका प्रेस सहयोगी पूर्ण कार्कीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले बधाईकै क्रममा प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तोसमेत दिनुभएको छ ।

यस्तै, यहाँस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले दाहाल निवास लाजिम्पाटमा पुगेर उहाँलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ जनताका तर्फबाट बधाई दिनुभएको छ ।

तपाईको प्रतिक्रिया