गौरीशंकर चौधरी कृषिमन्त्री, पहिलो चरणमा केन्द्रको समावेशी मन्त्री


Garuri

काठमाडौं, साउन २० गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको मन्त्रीमा पार्टीको तर्फबाट समावेशी चरित्र प्रदर्शन गरेका छन् । माओवादीले पहिलो चरणमै कैलाली क्षेत्र नं. ४ बाट निर्वाचित सांसद गौरीशंकर चौधरीलाई कृषि मन्त्रालयको जिम्मा लगाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री दाहालसहित माओवादीका तीन र कांग्रेसबाट दुईजना मन्त्रीले राष्ट्रपति भवनमा पद तथा गोपनियताको सपथ खाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनुभएको छ । सत्तासाझेदार कांग्रेसबाट विमलेन्द्र निधीको नेतृत्वमा रमेश लेखक मन्त्रीको सपथ खानु भएको छ । अर्जुननरसिंह केसीले समेत शपथ खाने तयारी गरेपनि मन्त्रालयमा कुरा नमिलेपछि शपथ खानु भएन ।

माओवादी केन्द्रकातर्फबाट सरकारमा कृष्णबहादुर महरा, दलजित वि.के श्रीपाइली र चौधरीले मन्त्री भएका छन् ।  माओवादीको हेडक्वार्टर बैठकले महरालाई अर्थ मन्त्रालय, श्रीपाइलीलाई युवा तथा खेलकुद मन्त्रालय र चौधरीलाई कृषि मन्त्रालय दिने निर्णय गरेको हो।
कांग्रेसका तर्फबाट निधी उपप्रधान तथा गृहमन्त्री र लेखक भौतिक योजना मन्त्रीका रूपमा सपथ लिएका छन् ।

सम्भावित थारु मन्त्रीहरु
अर्को चरणमा सम्भावित थारुमन्त्रीहरुमा कांग्रेसबाट पद्मनारायण चौधरी र डिल्ली चौधरीबाट एकजना, फोरम (लोकतान्त्रिक) बाट योगेन्द्र चौधरी, संघीय लोकतान्त्रिक मञ्च (थरुहट) बाट रुक्मिणी चौधरीको नाम चर्चामा छ ।

संघीय गठबन्धनमा आवद्ध थरुहट तराई पार्टी नेपालले भने गठबन्धनको निर्णयअनुसार अगाडि बढ्ने बताएको छ । गठबन्धनदल मन्त्रालयमा गए थरुहट तराई पार्टीबाट वरिष्ठ नेता गोपाल दहितको मन्त्री बन्ने सम्भावना प्रवल छ । दहितले उपप्रधानसहितको मन्त्रालयको दावी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया