आदिबासीको आधारभूत अधिकार सम्बोधन भएको छः सभामुख घर्ती


Garti

काठमाडौं, साउन २३ गते । व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीमगरले नयाँ संविधानमा आदिबासीको सबै अधिकार सम्बोधन नभएपनि आगामी दिनमा संशोधनमार्फत सम्बोधन गरिने आश्वासन दिनुभएको छ ।

नेपाल आदिबासी जनजाति महासंघले विश्व आदिबासी दिवस २०७३ को अवसरमा आइतबार यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले त्यस्तो बताउनुभयो । संविधानलाई सर्वस्वीकार्य बनाउन पनि सबैको अधिकार अधिक्तमरुपमा सम्बोधन अनिवार्य रहेको उहाँले चर्चा गर्नुभयो । त्यसकालागि आफूले सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

“आदिबासी जनजाति हामी सबैले सोचेकोजस्तो विषय त नयाँ संविधानमा सम्बोधन भएको छैन, तर संशोधनको ढोका खुल्लै छ” उहाँले भन्नुभयो । आदिबासी जनजातिको आधारभूत अधिकारमात्र संविधानले सम्बोधन गरेको उहाँले प्रष्ट पार्नुभयो । नेपाली नागरिकभएको अनुभूति सबै नेपाली नागरिकले गर्न पाउनुपर्छ, नयाँ संविधानले त्यस्तो अनुभूति अझै दिनसकेको छैन भन्दै उहाँले आगामी दिनमा दलीय सहमतिमा संशोधन गर्न सकिने तर्क गर्नुभयो ।

“आदिबासी जनजाति हामी सबैले सोचेकोजस्तो विषय त नयाँ संविधानमा सम्बोधन भएको छैन, तर संशोधनको ढोका खुल्लै छ” उहाँले भन्नुभयो ।

सबै नागरिक अधिकारले सुसज्जीत भएमात्र मुलुक समृद्धिमा जानसक्ने भन्दै उहाँले छुटेका अधिकार सुनिश्चित्तामा आफ्नो तर्फबाट सहयोग गर्ने सभामुख घर्तीले विश्वास दिलाउनुभयो ।

कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष तथा सांसद नगेन्द्रकुमार कुमालले आदिबासी जनजातिको अधिकार सुनिश्चित्ताका लागि सबै दलहरु सकारात्मक हुनुपर्ने आग्रह गर्नुभयो । आदिबासीको अधिकार सुनिश्चिताअविना संविधान कार्यान्वयन हुन नसक्ने भन्दै उहाँले माग सम्बोधन नभए सडक आन्दोलनको विकल्प नरहेको चेतावनी दिनुभयो ।

कार्यक्रममा आदिबासी जनजाति सांसदहरु, आदिबासी अगुवाहरु, विभिन्न संघ संस्थाका पदाधिकारी तथा आदिबासी जनजातिहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन सभामुख घर्तीले आदिबासी जनजातिको राष्ट्रिय गीत कम्युटरमा क्लिक गरेर गर्नुभएको   थियो । महासंघले २५ गते विश्व आदिबासी दिवसको अवसरमा मुख्य कार्यक्रम गर्ने आयोजना गरेको छ । सो कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने अध्यक्ष कुमालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया