स्थानियतहको पुनरसंरचनामा चित्तवनका थारु समुदायको चासो


Chitwanmap

कारी महतो
चितवन, साउन २६ गते । स्थानिय सरकारको पुनर्संरचनामा चितवनका थारु समुदायले चासो लिन थालेका छन् । जिल्ला विकास समिति चितवनको प्राविधिक समितिले प्रस्ताव गरेको चितवनका नगरपालिका र गाविसहरु मर्जगरी थोरै संख्यामा नगरपालिका र गाउँपालिका निर्माण गर्ने खाकाको विषयमा सुझाव पेशगर्ने करीब अन्तिम समयमा थारु समुदाले यस सम्बन्धि चासो लिन थालेका हुन् ।

थारु कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति विश्राम महतोले चाँडै सो सम्बन्धी कार्यक्रम गर्न तयारी भएको बताउनुभयो । थाकस चितवनले शहिद कमल विपिन स्मृति प्रतिष्ठानको सहकार्यमा साउन २८ गते शुक्रबारका दिन “स्थानिय सरकारको पुनरसंरचनामा थारुहरुको स्थान र सवाल” विषयक जिल्लास्तरीय कार्यशालाको आयोजना गर्ने भएको छ ।

कार्यक्रममा श्रोतव्यक्तिका रुपमा राज्य पुनरसंरचनाका पूर्व सदस्य प्रा. डा. कृष्ण हाछेथू आउने जानकारी अध्यक्ष महतोले बताउनुभयो । त्यसअघि साउन २२ गते पूर्वी चितवनमा थारु थाकस लगायतका संघ संस्थाहरुले एक चरणको कार्यशाला सम्पन्न गरी थारु अगुवाहरुबाट सुझाव संकलन गरेको छ ।

थारु स्वायत्त क्षेत्र वा थारु संरक्षित क्षेत्रका लागि मुख्य दलका नेताहरुले सकारात्मक आश्वासन दिएपछि चितवनको आन्दोलन मत्थर भएको थियो ।

थारु समुदायले थरुहट थारुवान प्रदेशका लागि आन्दोलन गरिरहेको भएपनि चितवन जिल्ला थरुहट वा थारुवान प्रदेशमा नपर्ने पक्कापक्की जस्तो भएपछि २०७२ सालदेखि चितवनका थारु समुदायले चितवनलाई प्रादेशिक केन्द्र कायम गरी चितवन पूर्व र पश्चिमका केही जिल्लाहरुलाई समेटेर प्रदेश बन्नुपर्ने धारणा राखेर आन्दोलन गरेका थिए ।

तर त्यसमा थारु बाहुल्य रहेका क्षेत्रहरुलाई समेटेर थारु स्वायत्त क्षेत्र वा थारु संरक्षित क्षेत्रको मागराखी मुख्य दलका नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । थारु स्वायत्त क्षेत्र वा थारु संरक्षित क्षेत्रका लागि मुख्य दलका नेताहरुले सकारात्मक आश्वासन दिएपछि चितवनको आन्दोलन मत्थर भएको थियो ।

हाल चितवन जिल्लाको स्थानियतहको पुनर्संरचना भैरहेको अवस्थामा चितवनका थारु समुदायको मूलमर्म पुनः कुठाराघात हुने देखिएछि चितवनका थारुहरु फेरि सचेत हुन थालेका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार चितवनमा थारु समुदायको संख्या ६३ हजार तीनसय ५९ रहेको छ ।

तपाईको प्रतिक्रिया