चित्तवनलाई थारु विशेष संरक्षितक्षेत्र बनाउनुपर्ने अगुवाहरुको माग


5 (3)

कारी महतो
चितवन, साउन २९ गते । चितवनको स्थानीय इकाइको पुनर्संरचना गर्दा प्राविधिक समितिले प्रस्ताव गरेको ५ वा ७ वटा इकाईको दुवैखाका थारु समुदायले अस्वीकृत गर्ने निर्णय गरेको छ । चित्तवनको भरतपुरमा भएको “स्थानीय सरकारको पुनर्संरचनामा थारुहरुको अवस्था” विषयक कार्यशालामा थारुले उक्त निश्कर्ष निकालेका हुन् ।

संविधानको धारा ५६ को उपधारा ४ अनुसार गाउँपालिका, नगरपालिका तथा उपधारा ५ अनुसार विशेष, संरक्षित वा स्वायत्तक्षेत्र सहितको स्थानीय इकाई बन्नुपर्ने थारु अगुवाहरुको धारणा छ । साथै स्थानीय इकाईको पुनर्संरचना अगावै संविधान संशोधन गरी प्रदेशको सीमाङ्कनको हेरफेर गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

कार्यक्रममा चितवन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले स्थानीय इकाइ पुनर्संरचनाबारे हालसम्म भैरहेको कामको संक्षिप्त जानकारी दिंदै चितवनमा ५ वटा वा ७ वटा स्थानीय इकाइहरु सुझावका लागि प्रस्तावित गरिएको जानकारी दिनुभएको थियो । स्थानीय विकास अधिकारीले चितवन जिल्लाको विकास र समृद्धिका लागि ५ वटा इकाई तथा राजनैतिक व्यवस्थापनका लागि ७ वटा इकाई प्रस्ताव गरिएको जानकारी दिनुभएको थियो ।

13932769_1276017079105815_6243149630668518654_n

राज्य पुनर्संरचना आयोगका पूर्व सदस्य प्रा.डा. कृष्ण हाछेथूले स्थानीय सरकारको पुनर्संरचना किन र कसरी भन्नेबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित थारु अगुवाहरुले पूर्वी चितवन, पश्चिम चितवन र माडी समूहमा विभाजन भई समूहगत छलफल गरेका थिए । समूहगत छलफलपछि बनाइएको छुट्टै किसिमको खाका जिल्ला विकास समितिमा प्रस्ताव गर्ने थारुहरुले बताएका छन् ।

थारु कल्याणकारिणीसभा चितवन र शहिद कमल विपिन स्मृति प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रम थाकस चितवनको जिल्ला सभापति विश्राम महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्थानीयतहको पुनर्संरचना आयोगको स्थानीय निकाय पुनर्संरचनाको मापदण्डले संविधानलाई नाघेर गएकोले त्रुटीपूर्ण र अवैधानिक भएको वक्ताहरुले बताएका थिए । संविधानमा जिल्लाको सिमाना यथावत रहने प्रावधान कहींकतै नलेखिएकोले थारु बाहुल्य दुई जिल्लाका स्थानीय क्षेत्रहरु मिलाएर थारु स्वायत्तक्षेत्र, संरक्षितक्षेत्र वा विशेषक्षेत्र कायम गरिनुपर्ने थारु अगुवाहरुले गरेका छन् ।

नेकपा एमालेमा आबद्ध थाकसका पार्सद कृष्णलाल चौधरीले साविक बछौली, कुमरोज, कठार र भण्डारा एवम् हालको खैरहनी न.पा. मिसाइ नगरपालिका बनाउनु पर्ने धारणा राख्नुभयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रमा आवद्ध थाकस चितवनका पूर्व उपाध्यक्ष रामलाल महतोले चितवनको प्रस्तावित ५ वा ७ इकाई मोडेलअनुसारको खाका थारु समुदायको हितमा नभएको बताउनु भयो । उहाँले चितवनमा स्थानीय इकाईको संख्या बढाउनु पर्ने बताउनु भयो ।

नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष पदम गुरुङले चितवन जिल्ला थारुहरुको आदिमभूमि भएकोले थारुहरुको जीवनस्तर उकास्नका लागि राजनैतिक अधिकारसहितको थारु स्वायत्तक्षेत्र बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा थाकसका पूर्व केन्द्रिय सदस्य मायाराम चौधरी, थाकस चितवनका पूर्व सभापति टिकेन्द्र चौधरी, पतिराम महतो, ललित चौधरी, संजय चौधरी, वीरेन्द्र महतो लगायतले धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया