पत्रकारले महासंघ टोलीसँग भने, ‘अरुभन्दा पत्रकारबाटै थ्रेट छ’


IMG_20160811_153856

लक्की चौधरी
कञ्चनपुर, साउन २९ गते । मध्य र सुदूरपश्चिमका भारतीय सीमासँग जोडिएका जिल्लाका पत्रकारले सुरक्षाको प्रमुख थ्रेट आन्तरिक रहेको बताएका छन् । पत्रकार स्वयम् पत्रकारबाटै बढी थ्रेटमा रहनेगरेको पत्रकारको बुझाई छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय मिसनटोली चारदिने अभियान लिएर विहिबारदेखि पश्चिम नेपालको तराईका जिल्लामा छलफल गरिरहेको छ । मिसनटोलीसँग अधिकांश स्थानीय पत्रकारले बाह्य र आन्तरिक दुवै हिसावले सुरक्षाको चुनौति रहेपनि पत्रकार स्वयम्बाट ठूलो थ्रेट रहनेगरेको अनुभव सुनाए । एकले अर्काको अस्तित्व नस्वीकार्ने, विज्ञापनको होडबाजी तथा आफू अगाडि जानकालागि अरुलाई पछार्ने आन्तरिक समस्याको शिकार पत्रकार स्वयम् हुनेगरेको धेरैको बुझाई छ ।

महासंघले द्वण्द्व चर्केकाबेला घटनामा परेका पत्रकारको अवस्था बुझ्न र द्वण्द्वपछिको अवस्था बुझन् मिसन टोली गठन गरी पत्रकारको पछिल्लो अवस्थाबारे जानकारी लिनेगरेको छ । यसक्रममा महासंघले तराईका जिल्लाका पत्रकारको अवस्था बुझ्नेगरी पूर्वदेखि पश्चिमका जिल्लामा मिसनटोली गठन गरेको छ । टोलीले यसअघि नै पूर्वी तराईका जिल्लाको अवस्था बुझिसकेको छ । अहिले टोली पश्चिम नेपालका तराईका जिल्लामा क्रियाशील छ ।

IMG_20160811_120216

पछिल्लो समय मधेस तराईमा भएको आन्दोलनकाकारण कतिपय पत्रकार धम्की, कुटपिट र चुनौतिको सामना गरेका थिए । अहिले तराई मधेसमा करिब आन्दोलन साम्य रहेकाबेला पत्रकारलाई समाचार संकलन, सम्प्रेषण तथा जनजीविका चलाउन समस्या पर्नेगरेको गुनासो महासंघमा छिटपुट आउने गरेपछि महासंघले अवस्था अध्ययनका लागि मिसन टोली गठन गरेर परिचालन गरेको हो ।

कञ्चनपुरका पत्रकार चित्राङ थापाले नेपाली पत्रकार विभिन्न विचारले बाँडिएकाले आफ्नै साथीबाट बढी थ्रेट भोग्न बाध्यभएको बताउनु  भयो । “हामीलाई अहिले बाह्य थ्रेट छैन, विभिन्न बहानामा आन्तरिकरुपमा पत्रकारलाई पत्रकारबाटै बढी थ्रेट हुनेगरेको छ” उहाँले भन्नु   भयो । कुनै मिडियामा समाचार प्रकाशन, प्रशारण हुँदा सरोकारवालाले त्यस विषयमा चासो राख्नुको साटो पत्रकारले नै किन र केकालागि समाचार बनायो भनेर चासो लिनेगरेको अनुभव उहाँले सुनाउनुभयो ।

स्थानीय पत्रकार लक्ष्मी चौधरीले थ्रेटको प्रकृति फेरिए पनि पत्रकारको थ्रेटमा कमी नआएको अनुभव सुनाउनुभयो । महिला पत्रकारलाई अझ बढी मनोवैज्ञानिक र भौतिक थ्रेटरहेको बताउँदै पत्रकार चौधरीले भन्नुभयो, “हामी महिला पत्रकारलाई मिडियाकर्मी, सुरक्षाकर्मी र अन्य पक्षबाट समेत थ्रेट छ, त्यसको पीडा पुरुष पत्रकारलाई छैन ।”

“हामीलाई अहिले बाह्य थ्रेट छैन, विभिन्न बहानामा आन्तरिकरुपमा पत्रकारलाई पत्रकारबाटै बढी थ्रेट हुनेगरेको छ”

स्थानीय पत्रकार अम्वादत्त तिवारीले पत्रकारिता पेशाबाट पेटपाल्न गाह्रो भएपछि आफू राजनीतिकदलमा आवद्ध हुन बाध्यभएको अनुभव बताउनुभयो । “म मधेसवादी एक दलको जिल्ला अध्यक्ष पनि हुँ र एउटा स्थानीय पत्रिकाको प्रकाशक सम्पादक पनि हुँ” भन्दै तिवारीले पत्रकारिता पेशालेमात्र घरजहान चल्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । विज्ञापनकालागि चाहेर पनि व्यापारीको कालो कर्तुतबारे समाचार बनाउन नसकिएको उहाँले चर्चा गर्नुभयो ।

नेपाल पत्रकार महासंघ वर्दियाका अध्यक्ष तथा स्थानीय पत्रकार मिनराज शर्माले स्थानीय पत्रकारलाई विगार्नेकाम ठूला मिडियाले गरिरहेको आरोप लगाउनुभयो । समाचार पठाए पनि समयमा तलब पाइँदैन, तलब माग्दा विज्ञापन उठाएर खा भन्ने माथिबाटै आदेश आउँछ भन्दै उहाँले समयमा तलब नपाएर पत्रकार विग्रने गरेको अनुभव सुनाउनुभयो । पत्रकार शुद्धिकरण हुन नसक्दा पत्रकार स्वयम् सहकर्मी पत्रकारको निसामा पर्नेगरेको उहाँको अनुभव छ ।

“रंग हेरेर पत्रकारमाथि व्यवहार हुन्छ हामीलाई धेरै समस्या छ” खानले भन्नुभयो ।

वर्दियाका पत्रकार यज्ञप्रकाश सापकोटाले पत्रकारको आन्तरिक लडाईले पत्रकार समस्यामा पर्नेगरेको अनुभव सुनाउनुभयो । समाचार लेख्दा पनि दोसी नलेख्दा पनि दोसी हुने अप्ठेरामा हामी छौं, पत्रकारको आन्तरिक खुट्टातान्ने प्रबृत्ति पत्रकारका लागि थ्रेट बन्नेगरेको उहाँको बुझाई छ ।

नेपालगञ्जका स्थानीय पत्रकार आलम खानले महासंघले पत्रकारको समस्यामात्र बुझ्ने तर समस्या समाधान नगरेर पत्रकारलाई थप पीडित बनाउनेगरेको आरोप लगाउनुभयो । अनुहार हेरेर सुरक्षाकर्मी र पत्रकारबाटै अर्को पत्रकार समस्यामा पर्नेगरेको अनुभव उहाँसँग छ । “रंग हेरेर पत्रकारमाथि व्यवहार हुन्छ हामीलाई धेरै समस्या छ” खानले भन्नुभयो ।

वर्दियाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर थापाले पत्रकारले समाचारको आधारमा पाउने पारिश्रमिक निकै न्यून भएकैकारण पत्रकारले अन्तसन्त लेख्न बाध्य भएको टिप्पणी गर्नुभयो । गुणात्मक समाचारभन्दा पनि समाचारको संख्या पु¥याउने हिसावले जस्तोसुकै समाचार लेखेर पठाउने समस्याले पत्रकार बढी थ्रेटमा पर्नेगरेको उहाँले अनुभव सुनाउनुभयो । यद्यपि पत्रकारको सुरक्षाकालागि आफूहरु जहिले तयार रहेको बताउनुभयो ।

IMG_20160813_120415

महासंघ मिसनटोलीका संयोजक डा. सुरेश आचार्यले अस्वस्थ र अपरिपक्व पत्रकारिताले समस्या ल्याउने गरेको बताउनुभयो । पत्रकारको धेरै थ्रेटको पछाडि पत्रकारको कार्यशैली, आचरण व्यवहार नै हुनेगरेको बताउँदै संयोजक आचार्यले आचारसंहिताको पूर्णपालना र इमान्दारितालाई ख्याल गर्न पत्रकारलाई सुझाव दिनुभयो । पत्रकारको काम नागरिकलाई सुसूचित गराउने र सामाजिक उत्तरदायित्व पूरागर्ने रहेको बताउँदै उहाँले प्रलोभनमा नपर्न पत्रकारसँग आग्रह गर्नुभयो ।

महासंघले पश्चिम नेपालका पत्रकारको सुरक्षा अवस्था बुझ्न महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको संयोजकत्वमा मिसनटोली खटाएको छ । टोलीमा सचिव प्रभात चलाउने, सदस्य लक्की चौधरी, प्रकाश शाह, खगेन्द्र पन्त, हिरण्य जोशी संलग्न हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया