टीकापुरबासीले भने, ‘स्थिति नर्मल हुँदैछ तर मनको त्रास बाँकी छ’


SAM_5573

लक्की चौधरी
टीकापुर, साउन ३१ गते । गत भाद्र ७ गतेको घटनापछि टीकापुरबासीले एघार महिनादेखि त्रासको जीवन बाँचे । बाहिरबाट हेर्दा अहिले स्थिति सामान्य देखिए पनि स्थानीयको मनको सन्त्रास उस्तै छ । आवत–जावत बढेको छ, तर एक–अर्काप्रतिको आशंका कायमै छ ।

स्थानीय नागरिक अगुवा लालवीर चौधरीले भाद्र ७ गतेको घटना राष्ट्रिय चर्चा पाएपनि ८ गतेको घटनालाई मिडियाले दबाउने काम गरेको गुनासो सुनाउनुभयो । ‘पीडितले उचित क्षतिपूर्ति र पीडकले सजाय नपाउँदासम्म समस्या दीर्घकालिनरुपमा समाधान हुँदैन’ चौधरीले भन्नुभयो । पत्रकारले एकपक्षीय समाचार प्रकाशन प्रशारण गरेको आरोप लगाउँदै चौधरीले भन्नुभयो, “समस्या समाधानका लागि कुनै पक्षले ठोस पहल गरेन, थारु र गैरथारुपक्षबीच वार्ता संवाद हुनसके समस्या ठूलो छैन ।”

चौधरी फुलबारी एफ.एम.का सञ्चालक रेशमलाल चौधरीका बुवा चौधरीले ७ गतेको घटनामा ज्यान गुमाएकाहरुले राज्यबाट उचित क्षतिपूर्ति पाएपनि ८ गते गरिएको आगजनीका पीडितले कुनै राहत नपाएको दुःखसो पोख्नुभयो । “हात मिलाएर समस्या दीर्घकालिनरुपमा समाधान हुँदैन, मन मिलाउने काम राज्यले गर्नुपर्छ” उहाँले भन्नुभयो ।

SAM_5558

टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवरले थारु र पहाडिया समुदाय सदियौंदेखि एकठाउँमा घुलमिल गरेर बसेकाले मिल्नुको विकल्प नरहेको बताउनुभयो । “हामी यति नजिक छौं कि थारु र गैरथारुको आङ्गन सँगैजोडिएको छ, फाटेको मन मिलाउनेगरी जिम्मेवार निकाय र सरकारले भूमिका खेल्नुपर्छ ।”

मिडियामा गलत समाचार सम्प्रेषण हुँदा समस्या समान्य बन्न नसकेको उहाँले सुनाउनुभयो । भाद्र ७ र ८ गतेको दुवै दिनको घटनाको सत्यतथ्य पत्ता लगाएर दोसीलाई कानून अनुसारको सजाय र पीडितलाई उचित क्षतिपूर्ति दिनमा राज्यले कन्जुस्याई गर्नु हुँदैन कुँवरले भन्नुभयो । स्थिति सामान्यतर्फ उन्मुखरहेको उहाँले दावी गर्नुभयो ।

स्थानीय मानवअधिकारकर्मी फिरुलाल चौधरीले अवस्था सामान्य बन्दै गएपनि मनको सन्त्रास कायमै रहेको बताउनुभयो । “यहाँ पत्रकार, नागरिक समाज, अधिकारकर्मी, सुरक्षाकर्मी, राजनीतिकदल सबै विभाजित छन्, स्थितिलाई सामान्य बनाउन निश्पक्ष सहजकर्ता चाहिएको छ, दुवै पक्षलाई एकठाउँमा बसाउने वातावरण बने स्थिति सामान्य बन्छ” चौधरीले भन्नुभयो । भाद्र ८ गते दर्जनबढी थारुको घरमा आगजनी गरिएको छ, क्षतिपूर्ति राज्यले नदिएसम्म मनमा तुस रहिरहन्छ चौधरीले गुनासो गर्नुभयो ।

स्थानीय पत्रकार योगेश रावलले स्थिति सामान्य बनाउन कुनै पक्षबाट ठोस पहल नभएकाले टीकापुरबासी मनोवैज्ञानिक त्रासमा बाँच्न बाध्यरहेको बताउनुभयो । “समस्या समाधानमा न राज्यपक्षले पहल ग¥यो, न राजनीतिकदल र अधिकारकर्मीले नै” रावलले भन्नुभयो । पत्रकारको कलम समेत एकपक्षीय भैदिंदा थारु समुदाय थप मारमा परेको उहाँको बुझाई छ ।

“रेशम चौधरीको फूलबारी एफ.एम. पाँचवर्षका लागि लिजमा लिएर सञ्चालन भर्खर शुरुगरेको थिएँ, आगो लगाएर ध्वस्त पारिदिए, एक सुको क्षतिपूर्ति पाएको छैन” रावलले दुख व्यक्त गर्नुभयो । भाद्र ८ गते कैयौं निर्दोष थारुको घरमा आगजनी गरिए न सुरक्षाकर्मीले सुन्यो न अधिकारकर्मीले बोले समस्या समाधान कसरी हुन्छ ? रावलको जिज्ञासा छ ।

समाचार लेखेकैकारण आफू गैरथारु पक्षबाट धम्की नखाएको भएपनि घटनापछि बारम्बार ज्यानमार्ने धम्की खाएको चौधरीले सुनाउनुभयो, “अब त यस्तो डर लाग्छ, एक्लोदुक्लो समाचार संकलन गर्न पनि सकिदैन कि ।”

स्थानीय अर्का पत्रकार गणेश चौधरीले टीकापुर घटनापछि मिडियाप्रतिको विश्वास ह्वात्तै घटेको बताउनुभयो । समाचार सन्तुलनमा पत्रकारले ख्याल गर्न नसक्दा थारु र गैरथारु दुवैपक्षले पत्रकारको आलोचना गरिरहेको उहाँले सुनाउनुभयो । घटनाको समाचार संकलनका क्रममा आफूलाई निकै थ्रेट आएको बताउँदै चौधरीले भन्नुभयो, “टीकापुर घटनापछि सुरक्षाकर्मीसँग सुरुक्षा माग्दा कुनै सुरक्षा मिलेन, पत्रकार साथीहरुकै सहयोगमा ज्यान जोगाइयो ।”

स्थिति सामान्य बन्दै गएको देखिएपनि सबै पक्षबाट सामुहिक पहल नभए थारु र गैरथारुबीचको द्वण्द्व दीर्घकालिन जानसक्ने आशंका उहाँले सुनाउनुभयो । यसअघिसम्म समाचार लेखेकैकारण आफू गैरथारु पक्षबाट धम्की नखाएको भएपनि घटनापछि बारम्बार ज्यानमार्ने धम्की खाएको चौधरीले सुनाउनुभयो, “अब त यस्तो डर लाग्छ, एक्लोदुक्लो समाचार संकलन गर्न पनि सकिदैन कि ।”

राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय संयोजक मोहन जोशीले मिडियाकर्मीले समाजलाई भड्काउनेभन्दा पनि जोड्ने भूमिका खेल्नुपर्ने बताउनुभयो । टीकापुर घटनापछि मानवअधिकारकर्मीको तर्फबाट दुवै पक्षलाई एक ठाउँमा ल्याउन नसकेको स्वीकार गर्दै उहाँले स्थिति अलि सहज बनेपछि त्यसकालागि प्रयास गर्ने बताउनुभयो । यद्यपि घटनाबारे आयोगले छानविन गरिरहेको उहाँको भनाई छ ।

कैलालीका प्रहरी प्रमुख राजेन्द्र विष्टले सामाजिक सद्भाव खल्बल्याउनु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु सरह रहेको बताउनुभयो । स्थितिलाई सामान्य बनाउन सुरक्षाकर्मीको तर्फबाट संयमित ढंगले प्रयास भएपनि नागरिक समाजका अगुवा, बुद्धिजिवी तथा राजनीतिक दलबाट ठोस प्रयास नभएको उहाँले गुनासो गर्नुभयो ।

“क्षतिको विवरण बनाएर गृहमन्त्रालयमा पठाइसकेका छौं, गृहमन्त्रालयले अर्थमन्त्रालयमा रकम निकासका लागि प्रक्रिया अघि बढाएको छ, चाँडै क्षतिपूर्ति उपलब्ध गराउँछौं ।”

हामी सुरक्षाकर्मीका लागि त के अखण्ड सुदूरपश्चिम के थरुहट मतलब हुने कुरै भएन, हाम्रो सरोकार स्थिति सामान्य बनाउने र दुवै पक्षको टुटेको मनलाई जोड्ने हो विष्टले भन्नुभयो । घटनापछि टीकापुरमा पहिलो पटक चियापान कार्यक्रम गरेर स्थानीयलाई एक ठाउँमा ल्याउने प्रयास आफूले गरेको उहाँले स्मरण गर्नुभयो । “पीडितलाई उचित क्षतिपूर्ति र पीडकलाई कानूनअनुसारको कारवाहीका लागि सबैले पहल गर्नुपर्छ त्यसो गरिए समस्या समाधान हुन्छ” प्रमुख विष्टले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सामुहिक चियापान र सार्वजनिक सुनुवाई लगायतका कार्यक्रम टीकापुरमा भइरहे पनि राजनीतिक तवरबाट ठूलो कार्यक्रम हुन नसकेको बताउनुभयो । संघीयता, अधिकारका विषय राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै समस्या समाधानको पहल गर्न उहाँले आग्रह गर्नुभयो । स्थानीयलाई सुरक्षाको व्यवस्था गर्न स्थानीय प्रशासन तयार रहेको बताउँदै प्रजिअ रिजालले भन्नुभयो, “बाहिरको आँखाबाट देखिएकोजस्तो टीकापुरको अवस्था छैन, सामान्य बन्दैगएको छ ।”

स्थितिलाई सामान्य बनाउनमा मिडियाको भूमिका महत्वपूर्ण हुनसक्ने भन्दै उहाँले त्यसकालागि मिडियाले भूमिका खेलोस् भन्नुभयो । टीकापुर घटनाका क्रममा कुल ८२ वटा घरमा आगजनी र तोडफोड भएको जानकारी दिंदै उहाँले भन्नुभयो, “क्षतिको विवरण बनाएर गृहमन्त्रालयमा पठाइसकेका छौं, गृहमन्त्रालयले अर्थमन्त्रालयमा रकम निकासका लागि प्रक्रिया अघि बढाएको छ, चाँडै क्षतिपूर्ति उपलब्ध गराउँछौं ।”

तपाईको प्रतिक्रिया