काभ्रे र बैतडीमा बस दुर्घटना, काभ्रेमा ३२ र वैतडीमा चारजनाको मृत्यु


Kavre incident

काठमाडौं, साउन ३१ गते । काभ्रेको विर्ता देउराली र बैतडीको बृन्दाबनमा भएको बस दुर्घटनामा परी अहिलेसम्म ३६ जनाको ज्यान गएको खबर छ । काभ्रेमा ३२ र बैतडीमा ४ जनाको ज्यान गएको प्रहरी कार्यालयले जानकारी गराएको छ ।

काभ्रेको देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । दुर्घटनामा चालीस जना घाइते भएका छन् । बस काठमाडौंबाट काभ्रेको मादनकुडारी गैरहेको थियो ।

२६ जना घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । तीनजनाको सदरमुकाम धुलिखेलमा उपचार भइरहेको बताइएको छ । काठमाडौंबाट कोशीपारी मादनकुँडारी जाँदैगरेको बा ३ ख १०६ नम्बरको बस उकालोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले मृतकको संख्या ३२ पुगेको जानकारी दिएको छ । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । घटना दिउँसो एक बजेतिर भएपनि झण्डै एक घण्टापछि मात्रै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

Kavre-Bus-Accident-1

घाइतेलाई काठमाडौं ल्याइयो

घाइतेलाई काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाडौं ल्याएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको जानकारी दिनुभयो ।

त्यस्तै, अन्य घाइतेहरुलाई अस्पतालसम्म पुर्‍याउन ५ वटा एम्बुलेन्सको प्रयोग गरिएको छ । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।

बैतडीमा पनि दुर्घटनाः
धनगढीबाट बझाङतर्फ गइरहेको बस बैतडीको बृन्दाबनमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जन घाइते भएका छन्। बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीकाअनुसार ना ४ ख २८३२ नम्बरको यात्रुबस सोमबार दिउँसो तीन बजेतिर सिद्धेश्वरको वृन्दावन भन्ने स्थानमा सडकबाट तीनसय मिटर तल खसेको थियो।

चौधरीले अहिलेसम्म चारजनाको शव फेला परेको र मृतकको संख्या बढ्न सक्ने बताउनुभयो । घाइते अठार जनालाई उपचारका लागि डडेल्धुरा पठाइएको र अन्य यात्रुको पनि उद्धार कार्य भइरहेको चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया