अब धनगढीमै ठूलो लगानीको थारु होमस्टे सञ्चालनको तयारीमा


17

राम दहित
धनगढी, साउन ३२ गते । धनगढी उपमहानगरपालिका–१४ बंगरामा ठूलो लगानीको थारु होमस्टे एण्ड रिसोर्ट सञ्चालनको तयारी भएको   छ । बंगराका स्थानीय यूवा दिनेश चौधरीको निजी स्वामित्वमा थारु समुदायको रहनसहन, कला, संस्कृति, भेषभुषा, खानपान, सुविधाजनक बासस्थान लगायतको व्यवस्था रहेको होमस्टे सञ्चालनको तयारीमा पुगेको छ ।

धनगढी गुरहीचौक (क्याम्पस चौक) बाट करिब चार किलोमिटर दक्षिण मोहना नदी नजिक तथा उपमहानगरपालिकाको प्रस्तावित रिङरोडमा होमस्टे पर्दछ ।

होमस्टे सञ्चालक दिनेश चौधरीले करिब १५ लाखको लगानीमा होमस्टे तथा रिसोर्ट सञ्चालनको तयारीमा रहेको र करिब ९० प्रतिशत काम सम्पन्न भएको जानकारी गराउनुभयो । बैशाख १ गतेदेखि निर्माणको काम सुरुगरेका चौधरीले भदौ पहिलो साता होमस्टेको विधिवत उदघाटनको तयारी भएको बताउनुभयो ।

सञ्चालक चौधरीले थारु घर र हस्तकलाको पुरै झल्को दिनेगरी होमस्टे निर्माण भइरहेको जानकारी दिनुभयो । जहाँ रहेका सबै कोठाहरु अटेज बाथरुमसहित बैठक कोठा, बगैचा पनि बनाइएको छ ।

Bangara

त्यस्तै, खानपानको रुपमा थारु परिकार ढिक्री, खेरिया, बरिया, अण्डिक् भात, संगुर, मुसा, घोंघी, सुतही, लोकल कुखराको मासुको परिकारलगायत रहने र प्रत्येक शुक्रबार थारु सांस्कृतिक कार्यक्रम हुने सञ्चालक चौधरीको भनाई छ ।

होमस्टेको थप आकर्षणमा थारु हस्तकला तथा संग्राहलय हुने जनाइएको छ । जहाँ थारु समुदायको लोपोन्मुख, डेलुवा, मन्छोप्नी, सिरठ्ठा, बेना, हेल्का, पौवा, भौंका, डोली, डोलालगायतको पनि प्रदर्शनी राखिने योजना सञ्चालकको छ ।

धनगढी बजारबाट केहि दुरीमा रिसोर्ट रहेकोले थारु समुदायको संस्कार, खानपान, भेषभुषाप्रति इच्छुक ग्राहक तथा अवलोकनकर्ताहरुलाई रिसार्टसम्म पु¥याउन लहरु (परम्परागत डल्लप) को व्यवस्था गरिने जनाइएको छ ।

सञ्चालनको तयारीमा रहेको होमस्टे तथा रिसार्ट निजी स्वामित्वको हुनेछ । जुन सुदूरपश्चिम विकास क्षेत्रमै पहिलो रहेको सञ्चालकको दाबी छ । तर हाल धनगढी उपमहानगरपालिका–१७ स्थित भादागाउँ होमस्टे, घोडाघोडी नगरपालिकास्थित माघी होमस्टे पनि सञ्चालनमा रहेका छन् । जुन होमस्टेहरु सामुदायिक होमस्टेको रुपमा सञ्चालित छन् ।

तपाईको प्रतिक्रिया