सकारात्मक समाचारलाई प्राथमिकता दिन मन्त्री कार्कीको आग्रह


SAM_5592

काठमाडौं, साउन ३२ गते । नवनियुक्त सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सनसनी मच्चाउने नाममा नकारात्मक समाचारलाई प्राथमिकता नदिन मिडियाकर्मीहरुसँग आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघले मंगलबार यहाँ आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा मन्त्री कार्कीले त्यस्तो आग्रह गर्नुभयो । “नेपाली पत्रकारिता नकारत्मक समाचारले भरिएको छ, विहान उठेर अखबार हेर्दा दिमाग रन्थनिन्छ” भन्दै उहाँले हरेक अखबारको एक पृष्ठमा सकारात्मक समाचारलाई मात्र प्राथमिकता दिने व्यवस्था गर्न सुझाव दिनुभयो ।

“असाध्य धेरै नकारात्मक विषयवस्तुले मिडियामा स्थान पाउन लाग्यो, सकिन्छ भने हप्तामा एक दिन त्यो पनि सकिन्न भने महिनामा एकदिन अखबार र अन्य मिडिया सबैले सकारात्मक विषयवस्तुलाई प्राथमिकता दिनुहोस” उहाँले भन्नुभयो । समाजमा सबै काम खराब मात्र भएका छैनन्, सकारात्मक कामलाई प्राथमितामा राखेर समाचार सम्प्रेषण गर्न उहाँले सुझाव दिनुभयो ।

SAM_5601

त्यसो भनिरहँदा सञ्चारमन्त्री कार्कीले थप प्रष्ट्याउँदै भन्नुभयो, “मैले सरकारको आलोचनाका बचाउ गर्न खोजेको होइन, मिडिया जहिले प्रतिपक्षी भूमिकामै रहन्छ, तर तथ्यगत र रचनात्मक आलोचना गरिदिनुस् ।” राजनीति र पत्रकारिता पेशालाई समाजमा सबैभन्दा आलोचना गर्नेगरेको स्मरण गर्दै मन्त्री कार्कीले दुवै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

“कलम आफूसँग छ भन्दैमा कलमरुपी तरवार जथाभावि चलाउनु भएन, तथ्यगतरुपमा कमजोरीलाई उजागर गरिदिनुस्” भन्दै उहाँले आफ्नो कार्यकालमा रचनात्मक सुझाव र सहयोग गर्न पत्रकार महासंघ टोलीलाई आग्रह गर्नुभयो । काममा आफूले महाभारतको ‘कर्ण’पात्रलाई मन पराउने गरेको पनि उहाँले प्रष्ट्याउनुभयो । महासंघले स्वागत तथा बधाई कार्यक्रम गरेकामा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाल पत्रकार महासंघले मंगलबार यहाँ आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा मन्त्री कार्कीले त्यस्तो आग्रह गर्नुभयो । “नेपाली पत्रकारिता नकारत्मक समाचारले भरिएको छ, विहान उठेर अखबार हेर्दा दिमाग रन्थनिन्छ”

कार्यक्रममा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली पत्रकारिताको पेशागत तथा भौतिक सुरक्षाका निम्ति महासंघ निरन्तर लागिरहेकाले मन्त्रालयको तर्फबाट पनि त्यस अभियानमा सहयोगको अपेक्षा गर्नुभयो । पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनको चुनौति रहेपनि त्यसको सरकारलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

अहिले सिफारिस भएको न्यूनतम पारिश्रमिक दिएर सञ्चार उद्योग नै बन्द हुन्छ कि भन्ने तर्क कुनै हालतमा ठीक नभएको भन्दै उहाँले श्रमजीवी पत्रकारको पारिश्रमिक दिएर दुनियामा कहिं कतै मिडिया उद्योग बन्द भएको उदाहरण नभएको प्रष्ट पार्नुभयो । सो अवसरमा अध्यक्ष विष्टले पत्रकारको दुर्घटना विमा, ज्येष्ठ पत्रकार सहयोग बृत्तिकोष सञ्चालन भएकाले मन्त्रालयको तर्फबाट सहयोग गर्न मन्त्री कार्कीसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा महासंघका पदाधिकारी, केन्द्रीय सदस्य तथा उपस्थित पत्रकारले नवनियुक्त मन्त्री कार्कीलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा महासंघका महासचिव उजिर मगर, कोषाध्यक्ष सूर्यमणि गौतम लगायतले मन्त्री कार्कीलाई स्वागत तथा पत्रकारको हकहितको विषयमा गम्भीर भइदिन मन्त्रीसँग आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया