सम्झौतामुखी राजनीतिले पहिले गर्न सकेन, यसपाली गर्छुः प्रधानमन्त्री


Dang

काठमाडौं, भाद्र १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताको राजनीतिमा सबैलाई विश्वासमा लिएर काम गर्नुपर्ने कारणले यसअघि चाहेर पनि धेरै काम गर्न नसकेको बताउनुभएको छ ।

दाङबाट आएको जनयुद्धका घाइते र अपाङ्ग योद्धाहरुसँगको आइतबारको बालुवाटार भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘जनता र राष्ट्रको पक्षमा काम ईच्छाशक्ति थियो । तर, सम्झौताको राजनीतिमा सबैलाई मिलाएर लानुपर्ने र सबैका भावना समेट्नुपर्ने कारण विगतमा चाहेर पनि धेरै काम गर्न सकिएन तर, यसपटक परिणाममूखी काम गर्नेछु ।’

भेटमा प्रधानमन्त्रीले जोखिमपूर्ण अवसरकारुपमा दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचन भएको उल्लेख गर्दै भन्नुभयो, ‘यो हाम्रा लागि जोखिमपूर्ण अवसर हो । यसलाई फलदायी र उपलब्धिमूलक बनाउने संकल्प गरेको छु ।

यसपटक जनयुद्धका शहिद, बेपत्ता, घाइते र अपाङ्ग योद्धाहरुको पक्षमा केही न केही काम गर्नेछु’ भन्दै सो अवसरमा प्रधानमन्त्रीले युद्धका घाइते र अपाङ्ग योद्धाहरुको जीवन निर्वाह भत्ता वृद्धिगर्ने बताउनुभयो ।

चक्रपाणि शर्माको नेतृत्वमा दाङबाट आएको टोलीले जनयुद्धका घाइते र अपाङ्गहरुको जीवन निर्वाह भत्ता दोब्बर गर्न, सहज र सुलभ उपचारको व्यवस्था गर्न, पूर्ण सहुलियत सहितको राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्न, राजनीतिक नियुक्तिहरुमा घाइते, अपाङ्गहरुलाई प्राथमिकता दिन, जीवन निर्वाह भत्तालाई पेन्सनमा रुपान्तरण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

तपाईको प्रतिक्रिया