सरोकारवालापक्षले भने, ‘बोक्सी हुन्छ कि अन्धविश्वास मात्र हो ?’


14159135_1374163112613663_991743574_n

धनगढी, भाद्र १६ गते । आजको बैज्ञानिक युगमा समेत बोक्सी हुन्छ भन्दै मान्छेमाथि अमानवीय व्यवहार हुनु अन्धविश्वासको पराकाष्टा भएको सरोकारवालाले बताएका छन् । मान्छे चेतना र विवेकसुन्य भएपछि आफुजस्तै अर्को मान्छेमाथि क्रुर व्यवहार गर्नेगरेको उनीहरुले भनाई छ ।

अधिकारको क्षेत्रमा कामगर्ने विभिन्न संघ संस्थाहरुले धनगढीमा आयोजना गरेको ‘महिला हिंसाको पराकाष्ठाः बोक्सी प्रथा’ विषयक अन्तर सम्वाद कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

उनीहरुले बोक्सीको आरोपमा महिलामाथि हुने हिंसाका घटना न्यूनिकरणका लागि मानिसले आफ्नो सोंचमा नै परिवर्तन गर्न र जनचेतना फैलाउन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रमका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले सरोकारवाला सबैको पहलमा बोक्सीको आरोपमा हुने अमानवीय घटनालाई कम गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले बोक्सीको आरोप लगाउने कारणहरु पत्ता लगाउन र नेपाल सरकारले ल्याएको बोक्सी कसुर ऐनको बारेमा सबैतिर जानकारी गराउन आवश्यक रहेको औंल्याउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रिजालले बोक्सीको आरोपमा महिलामाथि हुने क्रुर व्यवहार, गैरकानुनी र मानवता बिरुद्धको पराकाष्टा भएको उल्लेख गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी रिजालले बोक्सीको आरोपमा महिलामाथि हुने क्रुर व्यवहार, गैरकानुनी र मानवता बिरुद्धको पराकाष्टा भएको उल्लेख गर्नुभयो।

नेपालमा खासगरेर विपन्न, शारीरिकरुपमा अशक्त, असहाय वा विधुवा महिलाहरुलाई बोक्सीको आरोप लगाइने गरेको छ । बोक्सीको आरोपमा अमानवीय यातना दिएर ज्यानै लिएका धेरै उदाहरण छन् ।

बोक्सी हुन्न भन्ने बारेमा कलम चलाउँदै आएका सञ्जय खड्काले बोक्सी हुन्छ भन्नु मान्छेभित्रको अन्धविश्वासी सोच भएको बताउनुभयो । एक अर्काबीचको मनमुटाव, रिसइबी, इगोमा गरिव, एकल, शारिरीकरुपमा कुरुप, असहायमाथि यस्तो आरोप लाग्ने गरेको उहाँले उल्लेख गर्नुभयो । अशिक्षा, अन्धविश्वास, पितृसतात्मक सोंच लगायतका कारणले बोक्सी प्रथाले निरन्तरता पाइरहेको खड्काको भनाइ थियो ।

अधिवक्ता डा. जानकी तुलाधरले बोक्सीप्रथा विरुद्धको ऐन आएपनि बोक्सीको आरोपमा दिनदिनै महिलाहरु हिंसाको शिकार भइरहेको बताउनुभयो । उहाँले यस्तो कुरीति हटाउनका लागि स्थानीयस्तरबाटै जनचेतना फैलाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयका मोहनदेव जोशीले बोक्सीको आरोपमा हुने हिंसा निन्दनीय र कानुनीरुपमा दण्डनीय रहेको बताउनुभयो । नेकपा एमालेका जिल्ला सचिव रणबहादुर चन्दले समस्या बढी भएको ठाउँमा जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

महिला तथा बालबालिका कार्यालयका प्रमुख हरिप्रिया बमले सामाजिक क्षेत्रमा क्रान्ति गर्न निकै गाह्रो रहेको उल्लेख गर्दै बोक्सीप्रथा जस्तो मानवता विरोधी कार्य विरुद्ध एकीकृत भएर लाग्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले मान्छेहरुले सोंचमा मात्र नभइ व्यवहारमा समेत सकारात्मक परिवर्तन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बोक्सी प्रथा हटाउनका लागि मानिसहरुले सोंचमा परिवर्तन गर्न आवश्यक रहेको औल्याउनुभयो ।

नेपाली कांग्रेसका पूर्वसभापति गोबिन्दराज जोशीले समाजमा अन्धविश्वासले जरा गाडेको भन्दै असहाय तथा बृद्धाहरुलाई मात्रै बोक्सी देखाइने गरेको बताउनुभयो । उहाँले कानुन कार्यान्वयन गर्ने निकायका मान्छेहरुनै बोक्सी हुन्छ भन्ने मानसिकता बोकेका कारण त्यस्तालाई कडा कारबाही गरिनुपर्ने बताउनुभयो ।

कोसेली न्यूज अनलाइनको संयोजनमा भएको कार्यक्रम दलित महिला अधिकार मञ्च नेपाल, ओरेक नेपाल, पीसवीन कैलाली, इन्सेक सुदूरपश्चिम क्षेत्रीय कार्यालय, नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र बाँके, कमैया प्रथा उन्मूलन समाज कैलालीले संयुक्त आयोजना गरेका थिए ।

दलित अधिकार मञ्चका संस्थापक अध्यक्ष सावित्रा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पीसवीन कैलालीका कार्यकारी प्रतिनिधी हर्कबहादुर ओलीले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया