मानव बेचविखन विरुद्धको अन्तर्राष्ट्रिय सन्धी अनुमोदनको माग


me

काठमाडौं, भाद्र १७ गते । संयुक्त राष्ट्रसंघको मानव बेचविखन (महिला तथा बालबालिका बेचविखनलाई रोक्ने, दवाउने र सजाय गर्ने) विरुद्धको सन्धीलाई नेपालले तत्काल अनुमोदन गर्नुपर्ने सरोकारवाला पक्षले माग गरेका छन् ।

महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) को आयोजनामा शुक्रबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद तथा सरोकारवाला पक्षले त्यस्तो माग गरेका हुन् । छिमेकी मुलुक भारत, चीन, श्रीलंका लगायतले सो सन्धीको अनुमोदन गरिसक्दासमेत नेपालले नगर्नु दुर्भाग्यपूर्ण भएको उहाँहरुको भनाई छ ।

सन्धी अनुमोदन गरी त्यसको कार्यान्वयन हुनसके मानव ओसारपसार तथा बेचविखनमा कमी आउने बुझाई सरोकारवालाहरुको छ । दलालले विभिन्न प्रलोभन, ठगी, अपहरण गरेर महिला तथा बालबालिकालाई बाह्य मुलुकमा ओसारपसार गरिरहेको आरोप वक्ताहरुको छ ।

व्यवस्थापिका संसद अन्तर्गतको महिला, बालबालिका, ज्येष्ठनागरिक तथा समाजकल्याण समितिकी सभापति रञ्जु झाले शैक्षिक र आर्थिकपक्ष बलियो नभएकैकारण नेपाली महिला र बालबालिकाहरुलाई दलालले विभिन्न प्रलोभन देखाएर विदेशमा बेचविखन गरिरहेको बताउनुभयो । मानव बेचविखन विरुद्धको ऐन नियम नेपालमा भएपनि अन्तर्राष्ट्रिय सन्धीको समेत अनुमोदनको आवश्यकता औल्याउनुभयो ।

महिला देशको प्रमुख मानवीय मापदण्ड र बालबालिका भविष्यका कर्णधार भएकाले तिनीहरुको वेचविखन तथा ओसारपसार हुनु जघन्य अपराध भएको बताउनुभयो । गरिबी, अशिक्षा, आर्थिक विपन्नताका कारण दलालले विभिन्न बहानागरी जागिर दिने नाममा नेपालबाट महिला बालबालिका बेचविखनमा परिरहेको उहाँले बताउनुभयो ।

SAM_5955

सांसद कमला घिमिरे, पेम्बा लामा तथा कान्ता भट्टराईले महिला तथा बालबालिकालाई बेचविखन र ओसारपसार गर्नु ठूलो अपराध भएको बताउँदै त्यसको न्यूनिकरणमा सामुहिक प्रयासको आवश्यकता औल्याउनुभयो । नेपालमा भएको त्यस विरुद्धको कानूनको पूर्ण कार्यान्वयन गरी अन्तर्राष्ट्रिय सन्धी सम्झौताको अनुमोदनको आवश्यकता औल्याउनुभयो ।

महिला बालबालिका मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले नेपालले विभिन्न ११ वटा सन्धी अनुमोदन गरी पक्षराष्ट्र बनेपनि त्यसको सही कार्यान्वयन हुन नसकेको बताउनुभयो । मानव बेचविखन तथा ओसारपसार विरुद्धको यो सन्धीको अनुमोदन आवश्यक रहे पनि नेपालको ध्यान जान नसकेको उहाँले बताउनुभयो । भइरहेकै कानूनलाई ठोसरुपमा कार्यान्वयन गर्दासमेत बेचविखनको घटनालाई न्यून गर्न सकिने उहाँले चर्चा गर्नुभयो ।

मानव बेचविखन विरुद्धको दशौं राष्ट्रिय दिवस २०७३ मनाइरहँदा त्यस विरुद्धको अन्तर्राष्ट्रिय सन्धीको अनुमोदनको सबैले आवश्यकता औल्याउनुभयो । कार्यक्रममा बोल्दै प्राध्यापक तथा अधिवक्ता गीता पाठक संग्रौलाले मानव बेचविखन ओसारपसार दासताको अवस्था भएको बताउँदै त्यसले गम्भीर मानवअधिकारको उल्लंघन समेत भइरहेको बताउनुभयो । महिला ओसारपसार गरी महिलाको यौन शोषण भइरहेको बताउँदै उहाँले त्यसको न्यूनिकरणमा भएको कानूनको कार्यान्वयन र अन्तर्राष्ट्रिय सन्धीको अनुमोदन अपरिहार्य भएको बताउनुभयो ।

एटविनकी अध्यक्ष मिना विष्टले मानव बेचविखन तथा ओसारपसारको अवस्थालाई न्यूनिकरण गर्न कडा नियम बनाई त्यसको पूर्णतः कार्यान्वयन र अन्तर्राष्ट्रिय सन्धीको अनुमोदनको आवश्यकता औल्याउनुभयो । विभिन्न जागीर र सुविधाको प्रलोभन देखाएर निर्दोष महिला चेलीबेटी र बालबालिकालाई विदेशमा लगेर दलालहरुले मानवताविरुद्धका अपराध गरे पनि सरकारको चासो खासै जान नसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया