शुरुभयो थारु अतवारी पर्व, के छ ‘अत्वारी’को महिमा

लक्की चौधरी

लक्की चौधरी

SAM_5315

पृष्ठभूमिः
आइतवार पर्नेहुनाले यस पर्वलाई अत्वारी भनिएको हो । ‘आइत + वारी’ शब्द अपभ्रंस हुँदै बोलीचालीमा अत्वारी भनिएको हो । कृष्णाष्टमी पछि आउने यसपर्व थारु पुरुषले मात्र व्रतबस्ने फरक मौलिकता र अपनत्वपन बोकेको ठूलो चाड हो । यो वर्ष भाद्र १९ गते आइतबार यो पर्व मनाइँदैछ । हिन्दू चेलीको चाड तीज र अत्वारी एकैदिन परेको छ । यो पर्वभन्दा अगाडि ‘गुरही’ र ‘अष्टिम्की’ पर्ने गर्दछन् । थारु समाजमा यस चाड कसरी शुरुभयो ? किन र कहिले शुरुभयो भन्ने विषयमा धेरै मतान्तर र तर्क छन् । अत्वारी पर्व प्रायजसो भदौ महिनामा पर्ने गर्दछ । खेतमा धान हरियो भई लोभलाग्दो भएकाबेला बर्षासमय सकिँदै जाँदा पर्ने यस पर्वका लागि थारुहरु घरघरमा माछाको सुकुटी बनाएका हुन्छन् । माछा र मासुका सौकिन थारुहरु चाडपर्वमा अधिकांशले माछा, मासु खाने गर्छन् । सुकाएको माछा अत्वारीमा राती दर खानेबेला र व्रत बसिसकेपछि फल्हार गर्नेबेला (सेलाउने) मा प्रयोग गरिन्छ ।

‘अत्वारी’ थारु समाजमा कहिलेदेखि शुरुभयो भन्ने एकिन तथ्य छैन । मतान्तर निकै छन् । थारुहरुको उत्पत्तिकालदेखि नै अतवारी मनाउने चलन चलेको मानिन्छ । हिन्दूचेलीको महान पर्व तीज सँगसँगै यो पर्व पर्ने गर्छ । थारुको मात्रै यो पर्व भएकोले पनि थारु समाजमा यसको महत्व ठूलो छ । अत्वारीमा थारुहरु भिमको पूजा गर्ने गर्छन् । भिमलाई थारुमा ‘भेवाँ’ भनिन्छ । भिमको पूजा गर्नुको अलग अलग तर्क    छन् । महाभारतमा कुन्तीका पाँचछोरा युधिष्ठिर, भीम, अर्जुन, नहकुल र सहदेवमध्ये माइलो छोरा भिमले थारु चेलीबेटीलाई एक राक्षसबाट जोगाएको चर्चा गरिन्छ । त्यसैले उनकै नाममा व्रतबसी पूजा गरेको तर्क छ ।

द्वापरयुगमा एउटा राक्षस गाउँमा आतंक र विचल्ली मच्चाउने गथ्र्यो । पालैपालो गाउँका मानिसलाई आफ्नो शिकार बनाउँथ्यो । राक्षसले थारु युवतिलाई शिकार बनाउनेक्रममा भिमले राक्षससँग लडाई लडी उनलाई बचाएका थिए । थारुचेलीलाई आफ्नो बहिनी बनाएका थिए । राक्षसको बधले गाउँमा ठूलो खुशीयाली भयो । भोज ग्रहण गरिरहँदा भीमले त्यही थारु बहिनीलाई सम्झेर उनको लागि पनि भात तरकारीसहितको खानेकुराको पोको बोकेर लगिदिएका थिए । तवदेखि नै थारुले बहिनी चेलीबेटीलाई उपहारकोरुपमा ‘अग्रासन’ दिने चलन चलेको मानिन्छ ।

26

अर्को तर्क पनि छ । भिम सूर्य भगवानका परमभक्त थिए । सूर्य भगवानको ब्रत बस्ने गर्थे । एकदिन उनले व्रतकैक्रममा गर्मी भएपछि नुहाउन नदीमा गएछन् । नदीको पानीमा पाकेको मीठो फल ‘खुरहुर’ बगेको फेला पारेछन् । व्रत रहेका भीमले बिर्सेर सो फल खाएछन् । डोपहरमै सो फल खाएकाले उनको व्रत भङ्ग हुन्छ । त्यहीकारण थारुहरु उनकैअनुसार आधादिन व्रत बस्छन् । थारुचेलीको रक्षा तथा उनीहरुको सम्झनामा अत्वारी व्रत बसेर थारु पुरुषले मनाउने गर्छन् । यो पर्वमा महिलालाई पनि व्रतबस्ने छुट रहन्छ । तर वर्षमा एकदिन थारु पुरुषले व्रतबस्ने मनाउने पर्व अत्वारी मात्र हो ।

कसरी मनाइन्छः
शनिबार राती ढिकी कुट्नेबेला भान्सेहरु विभिन्न परिकारका खाद्यान्न दरका लागि पकाउँछन् । पुरुषहरु मस्त निद्रामा रहँदा महिलाहरु काममा व्यस्त हुन्छन् । भात तरकारी तयार भएपछि दरखान व्यूँझाउँछन् । व्रत बस्न इच्छुकहरु उठ्छन् र कुखुरा बास्नुअघि दर खान्छन् । कुखुरा बासेपछि दरखाने प्रचलन छैन । वर्षदिनमा थारु समुदाय दुइटा पर्वमा व्रत बस्छन् । महिलाहरु कृष्णाष्टमीमा र पुरुषहरु अत्वारीमा । पुरुषसँगै भान्साको कामगर्ने महिला पनि व्रत बस्छन् । दर खाएको विहान सबैजना रोटीका विभिन्न परिकार बनाउँछन् । सबै परिकार पकाएर तयार बनाएपछि व्रतालुहरु मध्यान्ह नदी, तलाउ, जलाशयमा स्नान गर्छन् । व्रतालुहरु स्नान गर्न गएकोबेला घरमा गोवरपानीले लिपपोत गरी शुद्ध पारिन्छ । बस्नलाई काठको शुद्ध मुढा राखिन्छ । व्रतालुहरु स्नान गरेर फर्केपछि त्यही चोखो ठाउँमा बस्छन् । महिलाहरुले खानेकुरा दिन्छन् । व्रतालु पुरुषले खानेकुराको पूजा गरेपछिमात्र खान्छन् । जसरी भीमले बहिनीकालागि परिकार सम्झेर छुट्याएका थिए । त्यसरी नै व्रतालु थारुले एकभाग दिदीबहिनीको नाममा छुट्याएर अर्कोभाग परिकार खान्छन् । परिकार खानुअगाडि भीमको स्मरणमा पूजा गर्छन् । सो दिनको परिकारमा नून मिसाइएको हुँदैन ।

Atwari-1

त्यसरी छुटयाइएको अर्कोभाग विवाहित चेलीलाई उपहारकोरुपमा प्रदान गरिन्छ । जसलाई ‘अग्रासन’ भनिन्छ । त्यही परिकारको प्रतिक्षामा विवाहित थारु चेलीबेटीहरु हुन्छन् । त्यो परिकार खानलाई मात्र सीमित छैन । घरका सदस्यहरुसँगको अटुटनाता र सम्बन्धसँग गाँसिएको छ । सो दिन सूर्य नअस्ताएसम्म पानी, फलफूल र रोटी खाइन्छ । सूर्य अस्ताएपछि पुनः खानेकुरा बन्द हुन्छ । सोमबारका दिन व्रत नसेलाउँदासम्म नून मिसाइएको परिकार र भात खाने प्रचलन छैन । अर्कोदिन सोमबार विहान जलाशमा स्नानगरी चोखो भई पूजापाठ गरेरमात्र खानेकुरा खाने प्रचलन छ । व्रत सेलाएपछि नूनसहितको परिकार, भात, माछाको परिकार र पकौडा, हरियो सागसब्जीको तरकारी बनाई खाइन्छ । खानुभन्दा अगाडि त्यसदिन पनि आफ्नो चेलीबेटीकालागि एकभाग सबै परिकार छुट्याइन्छ । पूजापाठ गरिसकेपछि मात्र खाना ग्रहण गरिन्छ । खाना खाइसकेपछि छुट्याइएको अर्को हिस्सा विवाहित चेलीलाई पु¥याउन चेलीको घरतिर थारु पुरुषहरु लाग्छन् । अत्वारीमा विवाहित चेलीलाई माइतमा ल्याउने प्रचलन छैन । चेलीको घरमै खानाका परिकार पु¥याइन्छ । माइतीतर्फका बुवा, दाजुभाइ या भतिजाहरु घरमा आउँदा चेलीले सक्दो सम्मान र सत्कार गर्छन् ।

सामाजिक पक्षः
चाडपर्वहरुले हाम्रो समाजलाई जोड्ने सेतुको काम गर्छन् । थारु समुदाय आफ्नै रीतिथिति र संस्कारले भरिएको समुदाय हो । महिनैपिच्छे चाडपर्वहरु मनाउने गर्छ । त्यसैअनुरुपको अत्वारी पर्व एउटा हो । गाउँघरमा मानिसहरु समाजमा अन्तरघूलित भएर बस्छन् । एकअर्काको साथसहयोगले समाज चलेको हुन्छ । खुशी सामुहिकरुपले साट्ने र दुःख आइपर्दा मिलेरै सामना गर्ने प्रचलन गाउँघरको विशेषता हो । थारु समुदाय झन त्यसमा अगाडि छ । घरका चेलीबेटी विवाहपछि परायघर जान्छन् । यो चेलीबेटीको नियती हो । जुन विश्वव्यापी प्रचलन हो । जन्मघर छाडी परायघर गएका चेलीहरुसँगको मीठो सम्झना र आत्मीयता साट्न यस्ता पर्वले मद्दत गर्ने गर्छ । विछोडिएकाहरुबीचको मायासाट्ने र सम्बन्धलाई जोड्ने पुलको काम पर्वले गर्छन् । अत्वारी पर्व त्यस्तै एउटा बलियो सामाजिक सद्भाव बोकेको पर्व हो । विवाहित चेलीलाई माइतीमा नल्याए पनि घरका मान्छेले जे खान्छन्, जे पाकवान पकाउँछन् । सबै चिज उपहारकोरुपमा चेलीलाई पु¥याउँछन् । वर्षदिनपछि चेलीको घरमा गएर दुःखसुखका कुराहरु गर्छन् । चेलीको खुशी, व्यथा, दुःखको पोको लिएर फर्किन्छन् । त्यो खबर फर्केपछि घरका सबै सदस्यसँग साट्छन् ।

Atwari2

विवाहित चेली सुखी छ कि दुःखी छ सूचना लिन्छन् । समस्यामा भए सकेसम्मको सहयोग गर्छन् । खुशी छ भने आफ्नै खुशीमानेर आत्मसात गर्छन् । यो पर्वको मुख्य विशेषता भनेकै विवाहित चेलीको सुखदुःखको सूचना लिनु हो । सम्बन्ध र सम्झनाको अपडेट गर्नु हो । थारुगाउँका हरेक घरका परिवार र सदस्यले आफ्ना विवाहित चेलीको खवर लिन्छन् । गच्छअनुसारको उपहार दिन्छन् । चेलीले पनि सकेसम्मको सत्कार स्वागत गरेर आफ्ना कुराहरु माइतका सदस्यलाई धक फुकाएर खोल्छिन् । घरका सबै सदस्यलाई आफ्नो सूचना पू¥याइदिन आग्रह गर्छिन् । त्यहीअनुसार उपहार दिनगएका माइतीका प्रतिनिधिले आफ्नो भूमिका निर्वाह गर्छन् । यसले समाजलाई जोड्ने काम गर्छ । एकअर्कामा निर्भरताको सन्देश दिन्छ । समाजमा मिलेर बस्ने र सुखदुखःमा एकहुने सन्देश दिन्छ ।

सांस्कृतिक पक्षः
थारु समुदायको आफ्नै सांस्कृतिक शैली छ । चाडपिच्छे फरक किसिमको खानेकुरा, पहिरन र नाचगान गाउने प्रचलन छ । अत्वारीपर्वमा थारुले गीतबास र नाचगान गर्ने त गर्दैनन् । तर जमेर चेलीबेटीको दुःखसुखको सूचनाहरु संकलन गर्छन् । बाबियो या जुटको रसीले बुनेका ‘सिंकहर’ मा ढकिया राखेर त्यसभित्र परिकारलाई उपहारकोरुपमा चेलीलाई लग्ने गरिन्छ । यो नै थारुको छुट्टै सांस्कृतिक विशेषता हो ।

बाबियो या जुटको रसीले बुनेका ‘सिंकहर’ मा ढकिया राखेर त्यसभित्र परिकारलाई उपहारकोरुपमा चेलीलाई लग्ने गरिन्छ । यो नै थारुको छुट्टै सांस्कृतिक विशेषता हो ।

सिंकहर बुन्न पनि विशेषकिसिमको सीप चाहिन्छ । ढकिया थारुचेलीले बुन्ने वस्तु हो । सिंकहर र ढकियामा विशेष सम्बन्ध छ । थारुपुरुष र महिलाको अन्तरसम्बन्धको गाथा यसमा गाँसिएको छ । घरमै उत्पादित चिजवस्तुले बनाइएका यस्ता सरसामानले थारु समुदाय सुसज्जित छ । सीपको भण्डार छ । तर त्यसलाई बजारकोरुप भने सो समुदायले दिन सकेको छैन । आफ्नो कामकालागि सबै सामानहरु गाउँघरमै उत्पादन गर्नसक्ने हैसियत थारु समुदायले राख्छ । आत्मनिर्भरताको एउटा बलियो सन्देश त्यसले दिन्छ ।

टाढा रहेका चेलीबेटीलाई उपहार पु¥याउन जाँदा बाटोमा एकअर्कासँग धेरैको भेटघाट हुनेगर्छ । एउटा गाउँका पुरुषको अर्का गाउँका पुरुषसँग बाटोमा भेट हुन्छ । एकले अर्काको परिचय लिन्छन् । गाउँघरको आपसी सम्बन्ध, संस्कार, प्रचलन र सीपकाबारेमा भलाकुसारी हुनेगर्छ । सीप र शैलीको आदानप्रदान हुनेगर्छ । सूचनाको आदानप्रदान गर्छन् । गाउँगाउँको परिचय साटासाट हुन्छ । बाटोघाटोको एकअर्कासँगको सम्बन्धले दीगो सम्बन्धमा पनि परिणत हुनसक्छ । त्यही बाटोको चिनजान र भलाकुसारीले कहिलेकाहीं दीगोसम्बन्ध जोड्नेगर्छ । मनमिलेमा छोराछोरीको विवाहको छिनोफानोसम्मको कुरा बाटैमा हुनेगर्छ । थारुपुरुषहरु आफ्नै भेष र पोशाकमा चेलीलाई उपहार दिन जान्छन् । सिंकहर, भाटा, छाता, लठ्टी थारु पुरुषको संस्कार र परिचय दिनेगर्छ ।

तपाईको प्रतिक्रिया