पश्चिम नेपालको थारु गाउँमा ‘अट्वारी’को रमझम, थारुले विदा मागे


Atwari-1

सन्तोष दहित
दाङ, भदौ १९ गते । हिन्दुहरुको हरितालिका तीजसंगै थारुगाउँमा पनि आजदेखि अट्वारी पर्वको रमझम शुरुभएको छ । हरेकवर्षको एकचोटि मनाइने आदिवासी थारु समुदायले अट्वारी पर्वलाई तेस्रो पर्वकोरुपमा मनाउदै आएका छन् ।

यद्यपि अट्वारी कुन दिन मनाउने भन्ने विषयमा नेपाली क्यालेण्डरमा तिथीमिति भने उल्लेख गरिएको छैन । सरकारी क्यालन्डेरमा त झन हुने कुरै भएन । तर, पनि थारु अगुवाहरुकोअनुसार हरेक वर्ष कृष्णजन्म अष्टिमी पछिको दुई आइतवार अर्थात १२÷१३ दिन पछि अट्वारी पर्व मनाउदै आएकाछन् ।

थारु कल्याणकारिणिसभा दाङका सभापति तेजमान चौधरीले यसवर्षको अट्वारी १९ गते अर्थात नेपाली महिला दिदीवहिनीहरुको हरितालिका तीजको दिन परेको बताउनुभयो ।

जन्मअष्टिमीको पछिको दुई आइतवार अर्थात भाद्र महिनाको कुशेऔसीको पछिको पर्ने आइतवारको दिन थारु समुदालका पुर्खाहरुले अट्वारी मनाउदै आएकोले थारु समुदायले अट्वारी मनाउन लागेको चौधरीले बताउनुभयो ।

उहाँकाअनुसार अट्वारी पर्व थारु समुदायका (पुरुष) ले मात्र मनाउने गर्दछन् । ‘अट्वारी पर्वको अगाडिको रात अर्थात शनिबारको राति १ बजे उठि विभिन्न मिठामिठा परिकार पकाएर दरखाने चलन रहेको चौधरीले भन्नुभयो,–‘दर खाइसकेपछि आइतबारको दिनभरि ब्रत बस्छौं । हामीलाई सहयोग गर्नलाई महिलाहरुले पनि ब्रत बस्नुहुन्छ ।’

‘महिलाहरुले अट्वारीको लागि पूजापाठ गर्ने कोठमा लिपपोट गरि सरसफाईमा सहयोग गर्दछन्, चौधरीले भन्नुभयो,–‘पुरुषले भने अट्वारीको लागि घरका एकजना घरमुलि बजार गएर विभिन्न फलफूल खरिद गरी ल्याउनुहुन्छ । घरमा बसेकाहरु भने अन्य सामग्री जुटाउनमा सहयोग गर्नुहुन्छ ।’

Atwari2

त्यसपछि बेलुका ३ बजेतिर नजिकै खोलामा नुहाइधुवाई गरि गन्यारी भन्ने काठबाट आगो निकाली रोटी पकाउने गरिन्छ, उहाले भन्नुभयो –‘यसरी रोटी पकाउने बेला पहिला भीमको लागि एकतर्फी रोटी पकाएर मात्र अरु रोटी पकाउने गरिन्छ ।’ किनकी अट्वारीमा भीमको नाममा पूजागरिने भएकोले अट्वारीमा सुरुमा भीमको नाममा रोटी पकाउने गरेको चौधरीले बताउनुभयो ।

पूजापाठ गर्नुभन्दा पहिले आफ्नो भागमा परेको रोटी, फलफुल, काँक्रा, दहिबाट आधाआधा आफ्नो चेलीवेटीहरुको नाममा निकालिने गर्दछौ चौधरीले भन्नुभयो– ‘त्यसपछि भीमको नाममा आगोमा पुजापाठ गर्दछौ ।’ यसरी भीमकोनामा पूजापाठ गरिसकेपछि घरका सवै सदस्यहरुले एकठाउँमा वसेर विभिन्न फलफूल, रोटी, दहि खाँदै दुःखसुखको कुरागर्दै रमाउदै अट्वारी मनाउने गरेको उहाले जानकारी दिनुभयो ।

दुई दिनसम्म थारु समुदायले धुमधामसँग अट्वारी मनाउदै आएपनि राज्यले थारु समुदायको अट्वारीलाई उपेक्षा गरेको गुनासो गर्नुभयो ।

अर्कोदिन यसैगरि विहानै उठेर नुहाईधुवाई गरि ५ देखि ७ थरिको तरकारी पकाई भीमको नाममा पूजापाठ गरि खानाखाएर विवाह भएका दिदीवहिनीहरुलाई कोशेली ‘अग्रासन’ दिन जानेगरेको चौधरीले बताउनुभयो । यसरी दुई दिनसम्म थारु समुदायले धुमधामसँग अट्वारी मनाउदै आएपनि राज्यले थारु समुदायको अट्वारीलाई उपेक्षा गरेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, कमसेकम थारु समुदाययसंग छलफलगरि सरकारी क्यालेण्डरमा तिथीमिति उल्लेख गरि कम्तीमा एकदिन सरकारी विदा दिनुपर्छ ।

थारु अगुवाकाअनुसार खासगरि अट्वारी पर्व मनाउने मुख्यकारण ऐतिहासिक घटनासँग जोदिएको छ । दाङका थारुराजा दंगीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्वन्धित छ । महाभारतका पाँच पाण्डवहरु र दाङका थारुराजा दंगिशरणवीचमा लामो समयदेखि राम्रो सम्वन्ध थियो । पाँच पाण्डव र दौपदी सवैजना सुर्खेतको काँक्रेविहारमा घुम्नेबेला दाङका थारुराजा दंगिशरणको राज्यमा शत्रुहरुलाई आक्रमण गर्नलागेको खवर थाहा पाएपछि टावाम पकाउदै गरेको रोटी छोडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानी समेत नखाई राजा दंगिसरणको पक्षमा लडेका थिए ।

भीमले राजा दंगिशरणको पक्षमा लडेर शत्रुहरुलाई हराउन सफल भएकाथिए । त्यहि विजयी उत्सवको अवसरमा थारु समुदायले अट्वारी मनाउदै आएकाछन् । भीमजस्तै बलियो हुनको लागि पानीसमेत केहि नखाई थारु समुदायले अट्वारी पर्व मनाउँदै आएका छन् ।

संयोगबस उक्त घटना आइवारको दिन परेकोले थारु समुदायले आइवारको दिन अट्वारी मनाउने गर्दछन । अट्वारी पर्व तराईका दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायहरुले प्रायः मनाउँछन् । पूर्वका थारुले अतवारी मनाउँदैनन् ।

तपाईको प्रतिक्रिया