पत्रकार महासंघको विधानमै थारुकोटा छुटयाउन मागगर्दै ज्ञापनपत्र


tja-pic

काठमाडौं, भाद्र २७ गते । नेपाल पत्रकार महासंघको केन्द्रीय विधानमा पदाधिकारी र सदस्यहरुको थारुकोटा छुट्याउन माग गर्दै थारु पत्रकार संघ नेपालले महासंघलाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।

भाद्र २५ गते चित्तवनको सौराहामा भएको केन्द्रीय भेलाको निर्णयअनुसार संघले महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा गएर महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष डा. विष्टले ज्ञापनपत्रले आफ्नो ध्यानाकर्षण भएको र त्यसलाई केन्द्रीय कमिटीमा छलफलका लागि लैजाने प्रतिवद्धता जनाउनुभएको संघका अध्यक्ष कृष्णराज सर्वहारीले बताउनुभयो । देश संघीय संरचनामा गइसकेकाले संविधानमा भएको व्यवस्थाअनुरुप थारु क्लष्टरअनुसार प्रतिनिधित्वको माग संघले गरेको हो ।

संघले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, “संविधान २०७२ मा थारु समुदायलाई छुट्टै क्लस्टरको व्यवस्था गरिएकाले सोहीअनुसार नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यमा थारु कोटाको छुट्टै व्यवस्था गरियोस् ।”

महासंघको विधानमा हाल मधेसी, महिला, समावेशी कोटा पदाधिकारीमा भएपनि दलित, मुस्लिम लगायतका कोटाहरु केन्द्रीय सदस्यदेखि जिल्लास्तरसम्म रहेको छ । यसअघि प्रेस चौतारी नेपालले पनि थारु कोटा केन्द्रीय कमिटीमा कार्यान्वयन गरिसकेको छ ।

देशको चौथो ठूलो जनसंख्या ओगटने थारु समुदायलाई समानुपातिक समावेशी सिद्धान्तको कार्यान्वयनका लागि पनि राज्यको सबै संयन्त्रमा छुट्टै कोटाका लागि संविधानमा क्लष्टर फरक राखिएको छ । लोकसेवा आयोग, राजनीतिक दल, शासन प्रशासनमा समेत अब थारुले आफ्नो छुट्टै कोटा संविधानअनुरुप हक राख्छन् ।

संघले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, “संविधान २०७२ मा थारु समुदायलाई छुट्टै क्लस्टरको व्यवस्था गरिएकाले सोहीअनुसार नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यमा थारु कोटाको छुट्टै व्यवस्था गरियोस् ।”

महासंघको यही २९ र ३० गते पाल्पाको तानसेनमा केन्द्रीय कमिटी बैठक तथा राष्टिय भेला हुन गइरहेको छ । सो भेलामा विधानको मस्यौदा प्रस्तुत हुने कार्यक्रम रहेकाले परिमार्जित विधानमा थारु पत्रकारको माग परोस् भन्ने संघको चाहना भएको अध्यक्ष सर्वहारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया