संविधानको विरोध गर्दै थारु समुदायले गरे धनगढीमा बृहद प्रदर्शन


tharu1

धनगढी, असोज ३ गते । नयाँ संविधान जारी भएको खुशीयालीमा संविधान दिवस मनाइरहँदा संविधान र प्रादेशीक सीमाङ्कनप्रति असन्तुष्ट पक्षले सोमवार धनगढीमा विरोध प्रदर्शन गरेका छन् ।

‘असोज ३, कालो दिन’ भन्दै आन्दोलनरत थरुहट थारुवान संघर्ष समितिसहित सङ्घीय गठबन्धनले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । हात–हातमा कालोझण्डा समेत बोकेर विरोध प्रदर्शन गरिएको थियो । क्याम्पसरोड (गुरही चौक) बाट सुरुभएको विरोध ¥याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारुले कुनै वर्गले असोज ३ मा खुशीयाली मनाइ रहँदा सीमाङ्कन र पहिचानसहितको अधिकार नसमेटिएकाले उत्पीडित, पिछ्डिएको वर्ग तथा थारु, मधेसीले कालो दिनकोरुपमा मनाउन वाध्य भएको बताए ।
उनले सीमाङ्कनसहित संविधान संशोधन नभएसम्म आन्दोलन जारीरहने उल्लेख गरे । ‘प्रादेशिक सीमाङ्कनसहित संविधान संशोधन नभएसम्म जबरजस्ती लादिएको संविधान स्वीकार्न सक्दैनौं’, थारुले अगाडि थपे–‘दसैं अगाडि सीमाङ्कन र संविधान संशोधन भएन भने हामी आफ्नो संविधान आफै घोषणा गर्न वाध्य हुनेछौं ।’

यसअघि, बिहान कैलालीमा सरकारी कार्यालयहरुको आयोजनामा संविधान जारी भएको उपलक्ष्यमा खुशीयाली मनाइएको थियो । २०७३ असोज ३ गते नयाँ संविधान जारी भएको खुशीयालीमा कतै खुशी साटासाट गरिएको छ भने कतै संविधानको विरोध ।

dsc01009
गतवर्ष संविधान जारीहुनु अगावै कैलाली, कञ्चनपुरसहित तराईको नवलपरासीसम्म एक प्रदेश हुनुपर्ने र समानुपातिक समावेशिताको मागगर्दै थरुहट पक्षधरले आन्दोलन सुरु गरेको थियो । आन्दोनकै क्रममा टीकापुरमा एक बालकसहित नौ जनाको ज्यान जानेगरी हिंसात्मक र थारुको घर छानी–छानी आगो लगाउने घटना भएको थियो ।

थरुहट पार्टी अध्यक्ष थारुले टीकापुर घटना राज्यले नै षडयन्त्रपूर्वक घटाएको जिकिर गर्नुभयो । संविधान कार्यान्वयन गर्ने क्रममा अधिकार नदिइदा विभिन्न देशमा मुलुक टुक्रेको उदाहरण रहेको चर्चागर्दै चौधरीले आन्दोलनरतपक्षको माग पूरा गर्नतर्फ सरकार गम्भीर हुनु पर्ने बताए । उनले भने–‘अहिलेसम्म हामीले धैर्यताकासाथ सीमाङ्कन हेरफेर गर्न मात्रै माग गरिरहेका छौं । तर, माग पूरा भएन भने जेपनि हुन सक्छ । टीकापुर घटना ट्रेलर थियो । पूरा फिल्म अझै बाँकी छ ।’

कोणसभालाई सम्बोधन गर्दै थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिका प्रादेशिक संयोजक होरीलाल चौधरीले ७० प्रतिशत जनता संविधानप्रति असन्तुष्ट रहेको बताए । उनले सबै जाति, क्षेत्र, वर्ग, लिङ्गको संविधानमा अधिकार नसमेटिएकाले जारी भएकै दिन नयाँ संविधान जलाएको उल्लेख गरे । चौधरीले दसैं अगावै संविधान संशोधन र टीकापुर घटनामा झूठामुद्दा लागेका बन्दीहरुलाई रिहाई नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

tharu-2
आइतवार पूर्व उपप्रधानमन्त्री भीम रावलले धनगढीमा दिएको वक्तव्यप्रति आपत्ति जनाउँदै चौधरीले गतवर्ष भदौ ७ र ८ गते रावलकै षडयन्त्रमा टीकापुर घटना घटेको आरोप लगाए । उनले थारु समुदायको विरुद्धमा वक्तव्य नदिन नेता रावललाई चेतावनी समेत दिए ।

थरुहट आन्दोलनकारीले सीमाङ्कनको विवाद अन्त्य नहुँदासम्म स्थानीय निकायको पुनःसंरचना कार्य अगाडि नबढाउन सरकारलाई आग्रह गरेका छन् । उनीहरुले सङ्घीयतामा गइसकेको मुलुकमा केन्द्रबाटै स्थानीयतहको पुनःसंरचना गर्ने कार्य पञ्चायतकालिन निरंकुशता जस्तै रहेको भन्दै स्थानीयतहको पुनःसंरचनाको जिम्मा प्रदेशकै जिम्मा लगाउनु पर्नेमा जोड दिएका छन् ।

राना थारु संयुक्त सङ्घर्ष समितिका संयोजक मालामती रानाथारुले नयाँ संविधानले पिछ्डिएका जाति, वर्ग, समुदायको अधिकारलाई उपेक्षा गरेको बताए । उनले दलका नेताहरुले अहिले कैलाली, कञ्चनपुरका रानाथारु समुदायलाई झुटो आश्वसन दिदैं हिडिरहेको आरोप लगाए ।

कोणसभालाई सम्बोधन गर्दै थरुहट थारुवान संयुक्त सङ्घर्ष समिति कैलालीका कार्यबाहक संयोजक कृष्णकुमार चौधरीले १९ दिने जनआन्दोलन र १० वर्षीय जनयुद्धको ‘म्यान्डेट’ विपरित मुलुकमा जबरजस्ती संविधान घोषणा भएको जिकिर गरे । नयाँ संविधानले केहि अधिकार सुनिश्चित गरे पनि दुईतिहाई जनतालाई अधिकारबिहीन बनाएकाले आन्दोलन जारी राखेको बताए ।

उनले ठूला दलहरुले बहुमतको दम्भमा जबरजस्ती संविधान बनाए पनि कार्यान्वयन गर्न छोडेर सत्ताको लुछाचुडीमा लागेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया