साहित्यकार रामलाल जोशीको ‘ऐना’ लाई यस वर्षको मदनपुरस्कार


aaina

काठमाडौं, असोज ४ गते । सुदूरपश्चिमका युवा साहित्यकार रामलाल जोशीको कथा–संग्रह ‘ऐना’लाई यसवर्षको मदन पुरस्कार दिने मदन पुरस्कार गुठीले निर्णय गरेको छ । २०७२ सालको प्रकाशित पुस्तकबाट ऐनालाई पुरस्कारका लागि छनौट गरिएको गुठीले बताएको छ ।

त्यस्तै, गुठीको निर्णयले २०७२ को जगदम्बा पुरस्कार लीलबहादुर क्षेत्रीलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारका लागि सातवटा पुस्तक सुचीमा थिए । जोशीको ‘ऐना’, भूवनहरि सिग्देलको ‘आमोई’, निलम कार्की निहारिकाको ‘चीरहरण’, घनश्याम खड्काको ‘निर्वाण’, सरिता तिवारीको ‘प्रश्नहरुको कारखाना’, बुद्धिसागर चापागाईको ‘फिरफिरे’ र दामोदर पुडासैनीको ‘सिमानाका रंग, सिमानाका तरंग’ सूचीमा थिए ।

पुस्तकका लेखक रामलाल जोशीले पुरस्कारले आफूलाई थप गम्भीर बनाएको बताउनुभयो । राजनीतिक विकृतिले हरेक क्षेत्रमा प्रभाव पारिरहेका बेला आफूलाई पनि त्यसको डर लागेको बताउँदै जोशीले मेहनत र लेखनीको सम्मान भएको प्रतिक्रिया दिनुभयो । गुठीले उचित मूल्याङ्कन गरेको उहाँले बताउनुभयो ।

sam_5372

रानी जगदम्बाले २०१२ सालमा स्थापना गर्नुभएको मदन पुरस्कार पहिलो पटक २०१३ मा ‘हाम्रो लोकसंस्कृति’ का लागि सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो । त्यस्तै, २०४५ सालमा रानीको निधनपछि सम्झनास्वरुप पुरस्कार जगदम्बाश्री थप गरिएको गुठीले जानकारी गराएको छ । पुरस्कारको राशी दुई दुईलाख रुपिया रहेको छ । हरेक वर्ष घटस्थापनाका दिन पुरस्कार वितरण हुने गरेको छ ।

तपाईको प्रतिक्रिया