काठमाडौं, असोज ७ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले नयाँ संविधानमा संशोधन गरी सबै वर्गको अधिकारलाई सुनिश्चित् गर्दैजाने बताउनुभएको छ । संविधानमा मधेसी, थारु, जनजातिको अधिकार केही छुट्न गएको उहाँले धारणा राख्नुभयो ।
थारु समुदायको जितिया महोत्सवको उद्घाटनसत्रमा शुक्रबार यहाँ बोल्दै उपप्रधानमन्त्री निधीले त्यस्तो बताउँदै संविधान संशोधनकालागि सरकारले अन्तिम तयारी गरिरहेको जानकारी दिनुभयो । “नयाँ संविधानमा थारु समुदायको केही अधिकार सुनिश्चित् भएको छ, केही अधिकार सम्बोधन गर्न बाँकी छ, अब हुने संशोधनले थारुको अधिकार सुनिश्चित् गर्छ” उहाँले भन्नुभयो ।
मधेसी मोर्चासहिको संघीय गठबन्धनसँग सरकार बनाउँदा गरिएको तीनबुँदे सहमति संविधान संशोधन गरी छुटेको माग सुनिश्चित गर्नकैलागि भएको मन्त्री निधीले बताउनुभयो । सरकारले सबै वर्गको अधिकार र सवाललाई सम्बोधन गरी मुलुकमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न लागिपरेको बताउनुभयो ।
कृषिमन्त्री गौरीशंकर चौधरीले नयाँ संविधानमा केही अधिकार सबैवर्गको सम्बोधन भएपनि बाँकी अधिकारका लागि प्रयास गर्नुपर्ने बताउनुभयो । थारु समुदायको मन्त्रीको नाताले आफूले थारुको अधिकार सम्बोधनकालागि प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो । नयाँ संविधान संशोधनको चरणमा रहेको बताउँदै उहाँले चाँडै थारु र मधेसीको माग सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।
थारु कल्याणकारिणीसभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले नयाँ संविधनमा छुटेको थारुको माग मुद्दा सम्बोधनमा सरकार उदासिन भएको आरोप लगाउनुभयो । लामो समयदेखि थारु समुदाय आन्दोलित भएपनि माग सुनुवाई नगरेकोमा उहाँले गुनासो गर्नुभयो । टीकापुर घटनाका निर्दोषलाई तत्काल जेलमुक्त गर्नुपर्ने, भाद्र ८ गते थारुको घरमा आगजनी गर्नेलाई कानूनअनुसार कारवाही गरी पीडितलाई क्षतिपूर्ति दिन उहाँले सरकारसँग माग गर्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लक्की चौधरीले नेपाल जातीय विविधतामा जति सबल भएपनि शासन प्रशासनमा विविधता आउन नसकेको बताउनुभयो । नयाँ संविधानले सबै वर्ग र समुदायको मागको सम्बोधन गरी शासन प्रशासन, राजनीतिक दल, राज्यको सबै संयन्त्रमा विविधतायुक्त प्रतिनिधित्वको व्यवस्था गर्न उहाँले राजनीतिकदलका नेता तथा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
थारु महिला सभाकी अध्यक्ष तारा चौधरीको सभापतित्वमा भएको कार्यक्रममा थारु नेता डा. ललन चौधरी, सत्यनारायण चौधरी, चन्द्रप्रसाद चौधरी, रमेश चौधरी, सरस्वती चौधरी, गीता चौधरीलगायतले थारुको पहिचान संविधानमै सुनिश्चित गर्न माग गर्नुभयो । नयाँ संविधानको कार्यान्वयन गरी छुटेको माग मुद्दालाई सम्बोधन गर्न उहाँहरुले राजनीतिकदलका नेता तथा सरकारसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा विभिन्न थारु नृत्यहरु प्रस्तुत गरिएका थिए । प्रमुख अतिथि उपप्रधानमन्त्री निधीले थारु समुदायबाट राष्ट्रकालागि खेलकुदमा महत्वपूर्ण योगदान दिने थारु महिला खेलाडी सरस्वती चौधरी, देवीकुमारी चौधरी, लक्ष्मी चौधरी र अनुराधा चौधरीलाई सम्मानित गर्नुभयो ।
थारु महिलाहरुको पर्व जितियामा थारु चेलीले २४ घण्टा निराहार व्रत बसी परिवारको सुख शान्ति र समृद्धिकालागि भगवानसँग प्रार्थना गर्ने गर्दछन् । पश्चिम नेपालको कपिलवस्तुदेखि पूर्व झापासम्मका थारु समुदायले जितियापर्व भव्यवताकासाथ मनाउने गर्छन् । दाङदेखि पश्चिम कञ्चनपुरसम्मका थारुले भने जितिया पर्व खासै मनाउँदैनन् ।