अगुवाहरुले भने, ‘अधिकार सुनिश्चित् गर्न तराई मधेस मिल्नु पर्छ’


sam_6648

काठमाडौं, असोज ८ गते । थरुहट र मधेसका अगुवाले राज्य संयन्त्रमा सो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न तराई मधेसको एकता र समन्वयको आवश्यकता रहेको बताउनुभएको छ ।

स्वराज अभियान नेपालको आयोजनामा शनिबार यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले तराई मधेसको अधिकार संविधानमा सुनिश्चित् गर्न समन्वय, सहकार्य र एकताको आवश्यकता रहेको तर्क गर्नुभएको हो । नयाँ संविधानले सबै तराई र मधेसमूलको माग सम्बोधन नगरेकाले त्यसको सम्बोधनका लागि सहकार्यको खाँचो उहाँहरुले औल्याउनुभयो ।

तमलोपाका नेता तथा स्वराज अभियान नेपालका अध्यक्ष गोविन्द चौधरीले नयाँ संविधानमा थरुहट प्रदेश कथंकदाचित कायम भएमा बज्जीहटको स्थान कहाँ रहने भन्ने विषयमा समेत छलफल हुनुपर्ने बताउनुभयो । कपिलवस्तु, नवलपरासीदेखि चित्तवनसम्म बज्जिसमुदायको बसोबास रहेकाले थरुहट भएमा सो समुदायको अधिकार सुनिश्चित् गर्नमा समेत थारुले ध्यान दिनुपर्ने बताउनुभयो ।

sam_6647

राप्रपाका नेता ठाकुरसिंह थारुले थारु समुदायको इतिहास गौतमबुद्धपछि नभएर थारु परिवारको एउटा सदस्य गौतमबुद्ध भएको बताउनु  भयो । गौतमबुद्धपछि थारुको इतिहास भनेर केही अल्पज्ञान भएका विज्ञहरुले व्याख्या गर्दा थारुको इतिहासको अपव्याख्या भइरहेको बताउनुभयो ।

गोरखापत्रका पूर्व सम्पादक सीताराम अग्रहरीले राज्यबाट थारु समुदाय सदियौंदेखि हेपिएकाले थारुको एकतासँगै मधेसी समुदायको समेत सहयोगको आवश्यकता औल्याउनुभयो । मधेसी समुदायको धेरै माग सम्बोधन भएपनि थारुको माग अझै सम्बोधन नभएको भन्दै उहाँले तराई र मधेसको एकता आवश्यक रहेको उहाँले बताउनुभयो ।

थारु नेता डा. ललन चौधरीले थारु समुदाय सबैभन्दा पुरानो जाति भएपनि शासन प्रशासनमा थारुलाई कहिल्यै स्थान नदिइएको गुनासो गर्नुभयो । थारु समुदाय सिधासादा छ भन्दैमा शासकहरुले हेप्ने प्रबृत्ति राख्नु गलत भएको भन्दै उहाँले मुलुक बनाउन सबैलाई समान व्यवहारको खाँचो रहेको तर्क गर्नुभयो ।

मधेसी अगुवा सिताराम अग्रवालले अढाई सयवर्षदेखि बाहुन क्षेत्रीको गुलामी मधेसी समुदायले गरिरहेको तर्क गर्नुभयो । अरुलाई बनाउनमै मधेसी समुदाय लागेको बताउँदै उहाँले अब मधेसी नेताहरु मधेसकै लागि केन्द्रीत भएर लाग्नुपर्ने बताउनुभयो । थारु र मधेसीको एकताविना शासनसत्तामा ती वर्गको प्रतिनिधित्व अनिश्चित भएको बताउनुभयो ।

तमलोपाका केन्द्रीय सदस्य सुरेश मण्डलले मधेसी र थारु समुदायको आफ्नै फुट र गलत प्रबृत्तिले त्यसको फाइदा अन्य समुदायले लिएको बताउनुभयो । समावेशीताको माग सरकारसँग माग गर्ने तर आफ्नै पार्टीभित्र त्यसको सही कार्यान्वयन गर्न नसकेको उहाँले गुनासो गर्नुभयो ।

तमलोपाका केन्द्रीय सदस्य सुरेश मण्डलले मधेसी र थारु समुदायको आफ्नै फुट र गलत प्रबृत्तिले त्यसको फाइदा अन्य समुदायले लिएको बताउनुभयो । समावेशीताको माग सरकारसँग माग गर्ने तर आफ्नै पार्टीभित्र त्यसको सही कार्यान्वयन गर्न नसकेको उहाँले गुनासो गर्नुभयो ।

दलित महिला नेतृ सुनिता डोमले मधेस र तराईको अधिकारसँगै तराईका दलितको अधिकार सुनिश्चित् गर्न आवश्यक रहेको बताउनुभयो । मधेस र तराईको आन्दोलनमा तराईका दलित समुदाय समेत समाहित भएकाले अधिकारको हिस्सा आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जाहेद प्रवेज आलम, गणेश मण्डल, रमेश चौधरी लगायतले धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया