मञ्चले गरायो सुदूरपश्चिमको स्वास्थ्य समस्याबारे मन्त्रीको ध्यानाकर्षण


sam_6684

काठमाडौं, असोज ९ गते । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले सुदूरपश्चिमको समग्र स्वास्थ्य समस्या र त्यसको समाधानका विषयमा स्वास्थ्यमन्त्री गगनकुमार थापाको ध्यानाकर्षण गराएको छ ।

मञ्चका अध्यक्ष विष्णुप्रसाद खत्रीको नेतृत्वमा आइतबार मन्त्रालयमा गएको एक प्रतिनिधि टोलीले सुदूरपश्चिममा स्वास्थ्यअवस्था अन्यभन्दा विकराल रहेको भन्दै मन्त्री थापाको ध्यानाकर्षण गराएको हो । मञ्चले सुदूरपश्चिमको नौ जिल्लामध्ये अछाम, कञ्चनपुर, कैलाली, वैतडी र डडेल्धुरामा स्वास्थ्य सेवाको अवस्था कमजोर र बाँकी चार जिल्ला डोटी, दार्चुला, बझाङ र बाजुरामा अति कमजोर भएको बताएको छ ।

सुदूरपश्चिमका अस्पतालमा एक्सरे, ल्याव, चिकित्सक, नर्स, एम्बुलेन्स, औषधि तथा बजेट, शल्य चिकित्सक उपकरण, रक्तसञ्चार सेवा, स्वास्थ्यचौकीको अवस्था कमजोर रहेको र सुदूरपश्चिका दुईजिल्ला कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारु समुदायलाई मात्र लाग्ने सिकलसेल एनिमिया रोगको परीक्षण गर्ने मेशिनको समेत व्यवस्था नभएकाले जनताले दुःख पाएको मञ्चले भनेको छ ।

sam_6702

मञ्चले सुदूरपश्चिममा तत्काल मेडिकल कलेजको स्थापनागर्न मन्त्रीसँग माग गरेको छ । मुलुकभर १७ वटा मेडिकल कलेज भएपनि सुदूरपश्चिममा हालसम्म एउटा पनि मेडिकल कलेज स्थापना नहुनुले सुदूरपश्चिमलाई राज्यले विभेद गरेको अनुभूति भएको मञ्चले मन्त्री थापाको ध्यानाकर्षण गराएको छ ।

सुदूरपश्चिमको दुर्गम जिल्लामा चिकित्सकको दरवन्दी हुँदापनि डाक्टर उपलब्ध नभएको, दरवन्दी पनि निकै न्यून रहेको, स्वास्थ्यचौकीको भौतिक पूर्वाधार नरहेको, निजी स्वास्थ्य क्षेत्रलाई प्रोत्साहन नभएको मञ्चका अध्यक्ष खत्रीले बताउनुभयो । सेती अञ्चल अस्पतालमा दक्ष चिकित्सकको कमी, रेडियोलोजिष्ट, डर्मेटोलोजिष्ट, इ.एन.टी. का विशेषज्ञको व्यवस्था गर्न मञ्चका सदस्य डा. डि.वि. चटौतले मन्त्रीसँग आग्रह गर्नुभयो ।

सुदूरपश्चिममा सरकारी अस्पतालबाट प्रदान गरिने नियमित औषधिको व्यवस्थापनको बजेट अति नै न्यूनरहेकाले सेवा सुलभ बनाउन थप आवश्यक बजेटको निकासा गरिनुपर्ने, डायलोसिस सुविधाको व्यवस्था हुनुपर्ने, सिकलसेल एनिमियाको निदान गर्नतिर सरकारले पहल गर्नुपर्ने माग मन्त्रीसँग गरिएको मञ्चका महासचिव डा. ठाकुरमोहन श्रेष्ठले बताउनुभयो ।

सो अवसरमा मन्त्री थापाले सुदूरपश्चिमको स्वास्थ्यअवस्था सुधारका लागि आफू पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । सुदूरपश्चिमको बझाङबाहेक सबै जिल्लामा आफू पुगेको र त्यहाँको अवस्थाबारे जानकारी लिन असोज १८ गते आफू सुदूरपश्चिमा जाने योजना बनाएको बताउनुभयो । मुलुकको सबै जिल्ला र अस्पतालमा आवश्यक डाक्टर पु¥याउने लक्ष्य सरकारको भएकाले सोहीअनुसार स्वास्थ्यसेवा सुलभ बनाउनमा आफू केन्द्रीत हुने उहाँले बताउनुभयो ।

sam_6700

सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने सरकारी नीति रहेको र अधिकांश प्रदेशमा स्थापना भएपनि सुदूरपश्चिमा हुन नसकेको स्वीकार्दै उहाँले आगामी दिनमा सुदूरपश्चिमको कैलालीको गेटामा मेडिकल कलेज स्थापना हुने मन्त्री थापाले बताउनुभयो । मन्त्रालयको जिम्मेवारीमा आफू आएको एक महिनामात्र भएको र अवको एक महिनामा देखिने काम गरेर देखाउने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

प्रतिनिधि टोलीमा मञ्चका संस्थापक अध्यक्ष मोतीलाल बोहरासहित मञ्चका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । मञ्चले यसअघि भौतिक योजनामन्त्री रमेश लेखकलाई भेटी सुदूरपश्चिममा बाटोको स्तरोन्नति नभएकाकारण दुर्घटनामा धेरैलै ज्यान गुमाइरहेको भन्दै ध्यानाकर्षण गराएको थियो ।

तपाईको प्रतिक्रिया