टीकापुर घटनाको राजनीतिकरुपमा समाधान खोज्न थारु नेताको माग


tikapur

धनगढी, असोज ९ गते । सङ्घीय गठबन्धन र थरुहट थारुवान संयुक्त सङ्घर्ष समिति कैलालीले टीकापुर घटना राजनीतिक भएकोले त्यसको राजनीतिकरुपमै समाधान खोज्न माग गरेकोे छ । अधिकार माग्दा राज्यसंगको टकरावमा टीकापुर घटना भएको गठबन्धन र थरुहट थारुवान संयुक्त संघर्ष समितिको भनाई छ ।

घटनाको राजनीतिकरुपमा समाधान नखोजे त्यसले गम्भीर परिस्थितिको सृजना गर्ने आइतवार धनगढीमा पत्रकार सम्मेलन गरी बताइएको छ । टीकापुर घटना लगायतको मुद्दा १० दिनभित्रै फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी पनि समितिले दिएको छ ।

थरुहट तराई पार्टीका अध्यक्ष भानुराम चौधरीले राजनीतिकरुपमा अधिकार माग्ने क्रममा भएको घटनालाई अतिरञ्जित गरेर आपराधिक बनाउने तत्व सक्रिय भएको बताउनुभयो । उहाँले टीकापुर घटनालगायत आन्दोलनकाक्रममा लगाइएको सबै मुद्दा फिर्ता लिने भनेर प्रचण्ड नेतृत्वको सरकार गठनकैक्रममा तीनबुंदे सहमति भएको उल्लेख गर्दै हाल सरकारले विभिन्न बहानाबाजी गरिरहेको भन्दै खेद प्रकट गर्नुभयो ।

अध्यक्ष चौधरीले राजनीतिक सत्ताले गरेको निर्णयलाई राजनीतिक संयन्त्रले दबाउन खोजिरहेको भन्दै सरकारलाई खुट्टा नकमाउन आग्रह गर्नुभयो । ‘राजनीतिक संयन्त्रकोरुपमा रहेको प्रहरी सङ्गठनका अधिकारीले बोल्दैमा राजनीतिक सत्ताले गरेको सहमति कार्यान्वयन गर्न सरकार पछि हट्नु हुन्न’, उहाँले भन्नुभयो–‘टीकापुर घटनालगायत आन्दोलनका क्रममा लगाइएको झूठामुद्दा तत्काल फिर्ता लिइनु पर्छ ।’

laxman-tharu

आन्दोलनकारी र सत्तापक्षबीच तिक्तता उत्पन्न गरेर संविधान कार्यान्वयन हुन नदिनका लागि टीकापुर घटनालाई उचाल्ने खेल भइरहेको गठबन्धन र थरुहट थारुवान संयुक्त संघर्ष समितिको ठहर छ । गठबन्धनले आन्दोलन पनि संविधानकै लागि भएको उल्लेख गर्दै समस्या समाधान गर्नुका सट्टा बल्झाउने चेष्टा भए फेरि आन्दोलनमा उत्रिने बताएको छ ।

यस्तै, संविधान संशोधन विधेयकमा कैलाली, कञ्चनपुर, झापा, सुनसरी र मोरङ्गलाई स्वघोषितरुपमा विवादित जिल्ला भनेर थप विवाद लम्ब्याउने र संविधान असफल गराउने प्रयत्न भएको भन्दै गठबन्धनले खेद प्रकट गरेको छ ।

गठबन्धनका प्रवक्ता माधव चौधरीले आन्दोलनकाक्रममा भएको घटनाका दोषी भनिएकाहरुलाई आममाफी गर्नु हुदैंन भनेर सुनियोजितरुपमा संविधानलाई धरापमा पार्ने कार्य भइरहेको बताउनुभयो ।

उहाँले टीकापुर घटनाको मुद्दा तत्काल फिर्ता नलिए आन्दोलनकारीले जस्तोसुकै कदम चाल्न सक्ने भन्दै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार राज्यपक्ष हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया