एमालेको अभियान अब तराई र मधेस केन्द्रीत हुन्छः अध्यक्ष ओली


sam_6716

लक्की चौधरी
काठमाडौं, असोज १० गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको एमालेको अभियान तराईकेन्द्रीत हुने बताउनुभएको छ । एमालेलाई तराई मधेस विरोधी पार्टीको आरोप लगाएर केही तत्वहरुले षडयन्त्र गरिरहेको भन्दै उहाँले त्यसलाई चिर्न सिङ्गो पार्टी परिचालन हुने बताउनुभयो ।

एमालेलाई तराई मधेस र जनजाति विरोधी पार्टीको अरोप लागिरहेका बेला एमाले प्रदेश नं. ३ संगठन कमिटीको प्रथम बैठकको सोमबार यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीको त्यस्तो भनाई आएको हो । एमाले तराई, मधेस, आदिबासी जनजाति विरोधी पार्टी होइन, ती वर्गको हकहितका लागि सबैभन्दा बढी काम गरेको छ उहाँले दावी गर्नुभयो । “तराई मधेसमा एमालेजति कुनै पार्टीले काम गरेको छ भने देखाओस् म चुनौति दिन्छु” उहाँले भन्नुभयो ।

“मधेसी समुदायको आन्दोलन चलिरहेका बेला मैले माखेसाङ्लो भनेको ‘नफुक्ने गाँठो’को कुरा गर्दा केहीले किरा माखा सम्झेर मेरो अभिव्यक्तिको आलोचना गरे” भन्दै अध्यक्ष ओलीले तराई र मधेसप्रति एमालेजतिको सहयोगी कुनै दल नभएको चर्चा गर्नुभयो । “एमालेको अबको मिसन दृढताकासाथ तराई र मधेसकेन्द्रीत हुन्छ” उहाँले भन्नुभयो । तराई मधेसकालागि पार्र्टीले र आफू नेतृत्वको सरकारले गरेको कामको चर्चा गर्न उहाँले तराई मधेसका नेता कार्यकर्ताहरुलाई निर्देश गर्नुभयो ।

“अरुले बेतुकको तर्कगर्दा एमाले तराई र मधेसी विरोधी पार्टी हुँदैन, तपाईहरु एमालेले गरेको कामको दृढतापूर्वक चर्चा गर्नुस्, अरुले के गरेको छ त्यो पनि प्रष्ट पार्नुस्” उहाँले कार्यकर्ताहरुलाई निर्देश गर्नुभयो । एमालेजतिको संगठन र कार्यकर्ता कुनै दलमा नभएको दावीगर्दै उहाँले भन्नुभयो, “हाम्रो आफ्नै भित्रको तिक्तताले समस्या पार्दैआएको छ, हामी एक भयौं भने बहुमत त हाम्रोलागि सामान्य कुरा हो ।”

sam_6720

पार्टीलाई एक ढिक्का बनाउन वैचारिकरुपले सबै संगठित हुनुपर्ने भन्दै गुटगत कार्यक्रम र व्यवहार अब अन्त्य हुने उहाँले चर्चा गर्नुभयो । सो अवसरमा उहाँले नेपाली कांग्रेसलाई शिकार खाएर अघाएको बाघको संज्ञा दिनुभयो । “भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डले त्रुटीपूर्ण २५ बुँदे संयुक्त विज्ञप्ती जारीगर्दा समेत कांग्रेस चुप लागेर बस्यो, यस्तो गम्भीर विषयमा समेत पार्टीले कुनै दृष्टिकोण बनाएन” उहाँले प्रश्न गर्नुभयो, “कांग्रेस देशको प्रमुख पार्टी हो, उसको केही दृष्टिकोण छैन ?”

माओवादी केन्द्रलाई उहाँले लहड र उग्र राष्ट्रवादको संज्ञा दिनुभयो । देशलाई रुपान्तरण गरी समृद्धिमा लग्ने अभिभारा एमालेकै काँधमा रहेको भन्दै उहाँले कार्यकर्तालाई इमान्दारितापूर्वक संविधान कार्यान्वयनमा लाग्न निर्देश गर्नुभयो । “नेपालमा अनेकथरी तत्वहरु छन्, जसले संविधान कार्यान्वयन हुन नदिन अनेक बहानाबाजी गरिरहेका छन्” उहाँले भन्नुभयो । राष्ट्रिय स्वाभिमान र विकास नै अहिलेको प्रमुख एजेण्डा भएको र त्यसकालागि संविधान कार्यान्वयन अनिवार्य रहेको चर्चा गर्नुभयो ।

“भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डले त्रुटीपूर्ण २५ बुँदे संयुक्त विज्ञप्ती जारीगर्दा समेत कांग्रेस चुप लागेर बस्यो, यस्तो गम्भीर विषयमा समेत पार्टीले कुनै दृष्टिकोण बनाएन” उहाँले प्रश्न गर्नुभयो, “कांग्रेस देशको प्रमुख पार्टी हो, उसको केही दृष्टिकोण छैन ?”

वरिष्ठ नेता झलनाथ खनालले नयाँ संविधान कार्यान्वयन नै मुलुकको निकासको बाटो भएको भन्दै त्यसको कार्यान्वयन अनिवार्य रहेको बताउनुभयो । संविधान कार्यान्वयनको चरणमा त्यसमा भएका कमीकमजोरी सच्याउन पनि सबैपक्ष लचिलो हुनुपर्ने उहाँले तर्क गर्नुभयो । संविधान संशोधनीय दस्तावेज भएकाले त्यसलाई समयानुकुल परिमार्जनको खाँचो पर्ने बताउनुभयो ।

पार्टीभित्रको गुटगत र समूहगत भावना र व्यवहारले पार्टीलाई कमजोर बनाइरहेको भन्दै उहाँले पार्टीबाट गुटगत भावनाको समुलअन्त्य गर्न कार्यकर्ताहरुसँग आग्रह गर्नुभयो । गुटगत राजनीति नेतृत्वमै हावीभएको भन्दै उहाँले नेताहरुलाई नै त्यस्तो भावना त्याग्न आग्रह गर्नु   भयो । सो अवसरमा उहाँले आफूले कहिल्यै गुट नचलाएको र भोलिपनि नचलाउने प्रष्टिकरण दिनुभयो ।

सो अवसरमा उहाँले कांग्रेसलाई पूँजीवादी दलालको संज्ञा दिनुभयो भने माओवादी केन्द्रलाई विश्वसनीयता, लोकतन्त्र र राष्ट्रियता नभएको पार्टीको संज्ञा दिनुभयो । नयाँ संविधान प्रमुखदल मिलेरै बनाएकाले कार्यान्वयन पनि मिलेरै गर्न आवश्यक रहेको उहाँले तर्क गर्नुभयो ।

प्रदेश नं. ३ की संयोजक तथा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा कायमैरहेको संकिर्णतावाद, गुटवादलाई अन्त्य गर्न सबै नेता तथा कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो । अब गुटगत हैन, विचार र संस्थागत निर्णयको आधारमा पार्टी चल्नुपर्छ उहाँले भन्नुभयो । एमाले एक ढिक्का भएर अगाडि बढे मुलुकको जस्तोसुकै चुनौतिको सामना गर्न सक्षम रहेको उहाँले चर्चा गर्नुभयो ।

प्रदेश नं. ३ का सहसंयोजक काशीनाथ अधिकारीले देशी र विदेशी तत्व मिलेर एमाले नेतृत्वको सरकारलाई ढालेको आरोप लगाउँदै एमालेको एकताको आवश्कयता औल्याउनुभयो । प्रदेश नं. ३ लाई मोडल प्रदेशकोरुपमा स्थापित गर्न सबैको साझा सहयोगको खाँचो उहाँले औल्याउनुभयो ।

प्रदेश नं. ३ की संयोजक शाक्यको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, योगेश भट्टराई लगायतका नेताहरुको सहभागिता थियो । तर बैठकमा नेता नेपालले धारणा राख्नुभएन ।

तपाईको प्रतिक्रिया