टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिए मुलुकमा दण्डहिनताः एमाले


uml

लक्की चौधरी
काठमाडौं, असोज ११ गते । नेकपा (एमाले) ले संविधान कार्यान्वयनका लागि चार महिने देशव्यापी जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीले दिएको जानकारीअनुसार आगामी कात्तिकदेखि माघ मसान्तसम्म अभियान सञ्चालन सो दलले गर्नेछ ।

पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेताहरुले सो जानकारी दिंदै पार्टीलाई अवको निर्वाचनमा श्रेष्ठता हासिल गराउने प्रतिवद्धता जनाएका छन् । असोज ५ देखि ११ गतेसम्म ६ दिन सञ्चालन भएको केन्द्रीय कमिटी बैठकको निर्णय र जनपरिचालन अभियानबारे जानकारी गराउन एमालेले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानः संविधानको कार्यान्वयन एमालेको अभियान’ भन्ने मूल नाराकासाथ शुरुहुने अभियानकाक्रममा संविधानका विशेषता, संविधान निर्माणमा एमालेले खेलेको भूमिकाबारे जनतालाई प्रष्ट पार्ने, यसअघिको एमाले नेतृत्वको सरकारले गरेको काम र उपलब्धीबारे जनतालाई सुसूचित गराउने उद्देश्य पार्टीको रहेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनु   भयो ।

“टीकापुर घटना र अन्य गम्भीर प्रकृतिका आपराधिक घटनामा संलग्नहरुलाई उन्मुक्ति दिने कुनै काम नहोस्, विधिको शासनको पूर्ण परिपालना होस्” एमालेले भनेको छ ।

त्यस्तै, निर्वाचन तयारीमा भएको ढिलासुस्तीको विरोधगर्दै सबै तहको निर्वाचनका लागि जनदवाव सिर्जना गर्न, कांग्रेसको सत्तालिप्सा राजनीतिक अस्थिरता निम्त्याउने नीति, माओवादी केन्द्रको अवसरवाद र मधेसकेन्द्रीत दलको संकीर्णता तथा राष्ट्रिय एकतालाई कमजोर पार्ने गतिविधिका बारेमा आम नागरिकलाई स्पष्ट पार्न जनअभियानको आवश्यकता भएको एमालेले बताएको छ ।

अभियान अवधिमा कात्तिक १५ भित्र प्रदेश संगठन कमिटी, जिल्ला कमिटी तथा मोर्चा आवद्ध जनसंगठनहरुको बैठक गरी कार्ययोजना निर्माण गर्ने र केन्द्रीय सचिवालयमा पठाउने, कात्तिक मसान्तभित्र सातवटै प्रदेशमा पार्टीको अगुवा कार्यकर्ताको प्रशिक्षण भेलागर्ने एमालेले बताएको छ । त्यस्तै, बौद्धिक समुदाय, नागरिक अगुवासँग नियमित विचारसंवाद र गोष्ठी आयोजना गर्ने, दशैं तिहार, छठ र नेपाल सम्बत् नयाँवर्षको सन्दर्भमा चियापान तथा शुभकामना कार्यक्रम गर्ने अभियानको कार्यक्रम रहेको छ ।

सोहीअनुसार चारमहिने अभियानकै क्रममा सातवटै प्रदेशको प्रमुख ठाउँमा जनसभाको आयोजना गर्ने निर्णय एमालेले गरेको छ । पार्टी प्रचार विभाग प्रमुख भट्टराईकाअनुसार प्रदेश नं. १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं. ३ को काठमाडौं, प्रदेश नं ४ को पोखरा, प्रदेश नं. ५ को बुटवल र नेपालगञ्ज, प्रदेश नं. ६ को सुर्खेत र प्रदेश नं. ७ को धनगढीमा जनसभा आयोजना हुनेछन् ।

बैठकबाट सोह्रबुँदे प्रस्ताव पारित
एमालेको असोज ५ गतेदेखि ११ गतेसम्म भएको केन्द्रीय कमिटीको बैठकले १६ बुँदे प्रस्ताव पारित गरेको छ । पारित प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै भएको भारत भ्रमणकाक्रममा जारी गरिएको २५ बुँदे विज्ञप्तीका कतिपय प्रावधानले नेपालको आन्तरिक मामिलामा आँच पु¥याउनेखालको रहेको, दुईपक्षीय सहयोगमा सञ्चालित परियोजनाहरुको अनुगमन गर्न नेपाल सरकार र भारतीय राजदूताबासको संयुक्त संयन्त्र बनाउने निर्णय अनुपयुक्त रहेको एमालेको ठहर छ ।

त्यस्तै, यसअघिको सरकारले संविधान कार्यान्वयन कार्ययोजनालाई लत्याएको तर अर्को कार्ययोजना निर्माण गर्न नसकेको, निर्धारित समयभित्र निर्वाचन हुन नसके मुलुकमा गम्भीर संवैधानिक राजनीतिक शुन्यता प्रकट हुनसक्ने खतरा एमालेले औल्याएको छ । तीनै तहको निर्वाचनकालागि कार्यतालिका निर्माण गर्न र आवश्यक कानून तत्काल तर्जुमा गर्न एमालेले सरकारसँग माग गरेको छ ।

पारित अन्य प्रस्तावमा संविधान गतिशील दस्तावेज भए तापनि विना औचित्य र जनताको हित प्रतिकुल हुनेगरी संविधान संशोधन हुन नसक्ने एमालेले प्रष्ट पारेको छ । पूर्ववती सरकारले बनाएको नीतिहरु परिवर्तन गर्ने, निर्णयहरु उल्ट्याउने र नियुक्तीहरु वदर गर्ने, पूर्वाग्रहको आधारमा कर्मचारीको सरुवा गर्ने कामको विरोध गर्दै एमालेले मुलुकलाई असमझदारी, असहमति र ध्रुवीकरणतर्फ नलैजान सरकारलाई सचेत गराएको छ ।

टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति नदेऊः
एमालेको केन्द्रीय बैठकले गत भाद्र ७ गते कैलालीको टीकापुरमा भएको घटना अपराधीक प्रकृतिको रहेकाले घटनामा संलग्नलाई उन्मुक्ति नदिन सरकारको ध्यानाकर्षण गराएको छ । दोसीलाई राजनीतिक मुद्दा बनाएर उन्मुक्ति दिए दण्डहिनताले प्रश्रय पाउने ठहर एमालेको छ ।

“टीकापुर घटना र अन्य गम्भीर प्रकृतिका आपराधिक घटनामा संलग्नहरुलाई उन्मुक्ति दिने कुनै काम नहोस्, विधिको शासनको पूर्ण परिपालना होस्” एमालेले भनेको छ । टीकापुर घटनामा संलग्न दोसीलाई उन्मुक्तिदिए सुरक्षा निकायको मनोबल कमजोर हुने बुझाई एमालेको छ ।

घटनाप्रति दुःख व्यक्त
बैठकले सरकारका पूर्व मुख्यसचिव माधव घिमिरेसवार गाडी दुर्घटनाको गहिरो दुःख व्यक्तगर्दै बेपत्ता व्यक्तिहरुको तत्काल प्रभावकारी खोजीगर्न सरकारसँग आग्रह गरेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । त्यस्तै, धादिङबेसीबाट लपाङफेदी जाँदैगरेको ना. ३ ख ३३१८ नम्बरको यात्रुबाहक बस मंगलबार दिउँसो मार्पाक ६ लपाङफेदीमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको घटनाप्रति एमालेले गहिरो दुःख व्यक्तगर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधान कार्यान्वयन हुन नदिने विभिन्न तत्वहरुको अनेक दुस्प्रयास जारी रहेको भन्दै त्यसको डटेर पार्टीले सामना गर्ने बताउनुभयो । सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउने तयारी गरेको तर त्यसको औचित्य पुष्टि नहुँदासम्म संशोधनमा एमालेको सहयोग नरहने उहाँले प्रष्ट पार्नुभयो ।

“संविधान संशोधनको काम लहडमा हुने चिज होइन, बच्चाले रोएपछि चकलेट दिएजस्तो पनि होइन” भन्दै उहाँले सरकारले संविधानको रक्षा गर्नुपर्ने बताउनुभयो । सरकार कसैको बहकाउमा बहकिएको उहाँले आरोप लगाउनुभयो । सरकार र अन्य राजनीतिक दलहरु अरुको कुरामा बहकिए पनि एमाले नबहकिने उहाँले प्रष्ट पार्नुभयो । “संशोधनको काम देश र जनताको आवश्यकताअनुसार हुन्छ, दुईचार जनालाई चित्त बुझाउनकालागि हुँदैन” अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया