आँखामा पट्टि बाँधेर संविधानको सत्यकुरा देखिदैनः अध्यक्ष ओली


pm-oli

काठमाडौं, असोज १४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधान आफैमा उत्कृष्ट भएपनि विरोधकर्ताहरुले आँखामा जवर्जस्ती पट्टि बाँधेर विरोधमा उत्रेको बताउनुभएको छ ।

एमाले सम्पर्क समन्य कमिटीको आयोजनामा विहिबार यहाँ आयोजित दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले त्यस्तो बताउनुभयो । महाभारतकी एकपात्र गन्धारीले श्रीमान् आँखा नदेख्ने भएपछि आफू पनि संसारलाई नहेर्ने भन्दै आँखामा पट्टि बाँधेको चर्चागर्दै उहाँले संविधानका विरोध गर्नेहरु पनि गन्धारीकोजस्तो अभिनय गरिरहेको आरोप लगाउनुभयो ।

मधेसवादी दलतिर लक्षित गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “संविधानमा भएको सत्य र राम्रो कुरा देखिन्छ कि भनेर विरोध गर्ने दल तथा व्यक्तिहरुले जवर्जस्ती आँखामा पट्टि बाँध्नेकाम गरेका छन् ।” भाडामा काम गर्नेहरु संविधानको विरोध गरेको आरोप लगाउँदै उहाँले संविधानले कसैलाई काखापाखा नगरेको दावी गर्नुभयो ।

मधेसवादी दलतिर लक्षित गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “संविधानमा भएको सत्य र राम्रो कुरा देखिन्छ कि भनेर विरोध गर्ने दल तथा व्यक्तिहरुले जवर्जस्ती आँखामा पट्टि बाँध्नेकाम गरेका छन् ।”

नेपाल देश आफैमा स्वाधिन भएपनि केही नेताको मन र मस्तिस्क अझै स्वाधिन हुन नसकेको बताउनुभयो । भारतको नाम नलिएर उहाँले नेपालका केही नेताको दिमागलाई उपनीवेशजस्तो दुरुपयोग गरेको उहाँले टिप्पणी गर्नुभयो । सार्कबैठक अस्तित्वविहिन बन्न गैरहेको अवस्थामा नेपालले सभापतित्वको हैसियतले केही कुरा नबोल्नु लाजमर्दो भएको उहाँले चर्चा गर्नुभयो ।

एमालेले आफ्नो नेतृत्वकालमा गौरवगर्नेखालको काम गरेको बताउँदै उहाँले अब एमालेलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताउनुभयो । नेपालका बुढाबुढीको आशीर्वादरुपी हात एमालेको टाउकामाथि छ, कसैको हिम्मत छ भने ती हातहरु अन्त सारेर देखाओस् उहाँले चेतावनी दिनुभयो । एमाले विरुद्धमा कुनै एक वा दुईजना ज्येष्ठ नागरिकलाई टेलिभिजनमा लाइभ प्रशारण गरेर देखाउन समेत उहाँले चेतावनी दिनुभयो ।

“हामीले गौरव गर्नेकाम गरेका छौं, कोही सक्छ भने एमालेको विरुद्धमा टेलिभिजनमा बुढाबुढीलाई लाइप प्रशारण गरेर देखावस् म तीन दिनका समय दिन्छु” अध्यक्ष ओलीले भन्नुभयो । नेपाल देश गरिब भएपनि नेपाली मन गरिब नभएको बताउँदै उहाँले भन्नुभयो, “अमेरिका र बेलामा कक्षा १२ सम्म निःशुल्क शिक्षा छ, तर हामीले यहाँ उच्चतहको शिक्षा समेत निःशुल्क गरेका छौं । ” गरिब भएपनि नेपालले कुनै नेपालीलाई भात खान नपाएर पोको नराख्ने उहाँले चर्चा गर्नुभयो ।

महासचिव ईश्वर पोखरेलले नेकपा (एमाले) अब विगतको कामको समिक्षा गर्दै थप उपलब्धीका लागि दृढताकासाथ अगाडि बढ्ने बताउनुभयो । पार्टीको आन्तरिक गुटगत समस्याले पार्टीको जीवनलाई समस्या यसअघि पारेपनि सातौं केन्द्रीय बैठकले गुटगत र समुहगत विचारलाई त्यागेको दावी उहाँले गर्नुभयो । कसैले गुटगत व्यवहार र कार्यशैली गरेको छ भने त्यसको विरुद्धमा पार्टीमा उजुरी गर्नसमेत उहाँले कार्यकर्तालाई आव्हान गर्नुभयो ।

अब पार्टीको संरचना संघीयताअनुरुप बन्ने र सबैलाई समान व्यवहार गरी कार्यक्षमताका आधारमा जिम्मेवारी दिइने महासचिव पोखरेलले बताउनुभयो । यसअघिको एमाले नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गरिसकेकाले अबको बाटो एमालेका लागि सहज रहेको उहाँले तर्क गर्नुभयो ।

कार्यक्रममा पार्टीका स्थायी कमिटीका सदस्यहरु, समन्वय कमिटीका सदस्य, पार्टीका नेता तथा कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो । सो अवसरमा पार्टीले असोज २९ गते दशैंको अवसरमा चियापान कार्यक्रम राखेको जानकारी गराएको थियो ।

तपाईको प्रतिक्रिया