आन्तरिक र बाह्य पर्यटकको स्वागतमा व्यस्तहुँदै गाभर भ्याली होमस्टे


1

सुरेन्द्र काफले
नेपालगन्ज, असोज १५ गते । बाँकेको चिसापानीस्थित गाभर भ्याली होमस्टे केही वर्षयता पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदैछ । चारपाँच वर्षअघिसम्म ओझेलमा रहेको गाभर भ्यालीमा पछिल्लो समय आन्तरिक पर्यटकको भीडभाड हुन थालेको छ ।

गाभरमा थारू, मुगाली र हुम्ली गरी तीनथरी संस्कृति पाइन्छ । तीन भिन्न संस्कृतिको एकै ठाउँमा अध्ययन गर्न पाउनु, खानपानको फरकफरक स्वाद लिन पाउनु गाभर भ्यालीको विशेषता रहेको होमस्टे सञ्चालक कृष्ण चौधरी बताउँछन् । छोटो समयमा पर्यटकीय पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ ।

गाभर भ्याली हिमाली भेगका मुगेली र तराईका थारू समुदायका भिन्न स्वाद, भिन्न सांस्कृतिक विविधता र हस्तकलाको केन्द्र रहेको चौधरी बताउँछन् । चौधरीकाअनुसार हिमाली फापरको रोटी, कोदोको ढिँडो, सिस्नोको फाँडो र सिमीको दाल लोकप्रिय छन् ।

त्यस्तै थारू परिकार सिद्रा, ढिक्री, घोँगी र लोकल कुखुराको माग अत्यधिक छ । चौधरी भन्छन्, ‘पाहुनाको रुचि जे हुन्छ, त्यहीअनुसार गाउँमा कहिले थारू नाच हुन्छ त कहिले देउडा ।

शनिबार तथा अन्य सार्वजनिक बिदाका दिन होमस्टे खचाखच भरिन्छन् । पारिवारिक जमघटदेखि सानाठूला बैठक र सभा पनि होमस्टेमा भइरहन्छन् ।

थारू परिकार सिद्रा, ढिक्री, घोँगी र लोकल कुखुराको माग अत्यधिक छ । चौधरी भन्छन्, ‘पाहुनाको रुचि जे हुन्छ, त्यहीअनुसार गाउँमा कहिले थारू नाच हुन्छ त कहिले देउडा ।

पर्यटकीय गन्तव्य बनाउन गाभर भ्यालीका बासिन्दा बन्यजन्तु संरक्षणमा पनि उत्तिकै सक्रिय छन् । यो ठाउँ बन्यजन्तु अवलोकनको केन्द्र पनि बन्दैछ । यहाँका थारूघरमा थारू मौलिकता झल्किने होमस्टे सञ्चालनमा छन् ।

तीन भिन्न संस्कृतिको एकै ठाउँमा अध्ययन गर्न पाउनु, खानपानको फरकफरक स्वाद लिन पाउनु, छोटो दूरीमै थुपै्र बन्यजन्तु अवलोकन गर्न पाउनु गाभर भ्यालीको अर्को विशेषता हो ।

गाभर भ्यालीले अहिले नामको पछाडी सामुदायिक होमस्टे जोडेको छ । गाभर भ्यालीको वातावरण फेरिएको छ । चौधरीले बाह्य मानिसको आवतजावत दिन प्रतिदिन बाक्लिँदै गएको बताए । एकान्त ठाउँ, स्वच्छ र रमणीय वातावरणले जो कोहीलाई लोभ्याउँछ । चुरे पहाडसँग जोडिएको गाभर भ्याली चिटिक्क अनि सधैं हराभरा देखिन्छ ।

मुगुको रारा राष्ट्रिय निकुञ्ज विस्तार गर्दा २०३५ मा रारालिही क्षेत्रका बासिन्दालाई गाभर भ्यालीछेउ पुनस्र्थापना गराइएको थियो । २०४० पछि थारू समुदाय पनि आए । सुरुमा दुई समुदायको भाषा, संस्कृति र रहनसहन केही मिल्दैनथ्यो । रहँदा–बस्दा एकले अर्कालाई बुझे । सबैभन्दा धेरै दुःख–कष्ट र समस्याले उनीहरूलाई नजिक्यायो । त्यस्तै, मुगेली घरमा उच्च हिमाली मौलिकता झल्किन्छ ।

पाँचवटा घरबाट सुरुभएको होमस्टे बढ्दै गएको छ । गाउँमा मुगेली र थारू संग्रहालय बनाउने योजना छ । यो मनोरम उपत्यकाको पर्यटकीय अवलोकनका लागि ५० फिट अग्लो भ्यु टावर बन्दैछ । होमस्टे सञ्चालकसँग बाँके र बर्दिया निकुञ्जमा जंगल सफारी गराउने प्याकेज पनि उपलब्ध छ ।

होमस्टेमा थारू नाच, देउडा नाच, पञ्चेबाजा, पूजाआजामा देखाइने पैठ, छैठ, धालतलवार नाच, रुकुमेली कुरकुटी टप्पा, मयूर झर्रा नाच पनि हेर्न पाइन्छ । थारू हस्तकलाका सामग्री ढकिया, गुन्द्री, सुपा, डाली, भकारी, छिटुवा, छतरी, हेल्का, डेलिया, काठका मूर्तिहरू, माटाका भाँडाहरू चलनचल्तीमा छन् ।

मुगाली समुदायले डोको, नाम्लो, चकटी, मान्द्रो, ठेकी, मदानी, काठका मूर्ति, काठको कोसी, भकारी, डोल्ची, बेतबाँसका कुर्सी बनाउँछन् । पाँच वर्षभित्र कम्तीमा एकसय युवालाई होमस्टेमा स्वरोजगार बनाउने लक्ष्य लिइएको छ ।

sakhiya3

पाटे बाघ संरक्षणको उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पनि गाभर भ्याली बन्यजन्तु अवलोकनका लागि राम्रो गन्तव्य भएको स्थानीय बताउँछन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीकाअनुसार छोटो दूरीमा दुर्लभ पाटे बाघ, हात्ती, चौका, चरीबाघ, हुँडार, सिलु बिरालो, सालक, सुन गोहोरो, अजिंगर सहजै हेर्न सकिन्छ ।

यसकासाथै चित्तल र नीलगाईको झुन्डले पाहुनाको ध्यान खिच्छन् । गाभर भ्यालीवरिपरि रहेका मधुवन, वृन्दावन, रानी जनौं । श्रत सामुदायिक वनमा चरा अवलोकन गर्न सकिन्छ । यस क्षेत्रमा तीनसयभन्दा बढी प्रजातिका चरा पाइन्छन् ।

पाहुनालाई गाभर भ्याली हुँदै चुरे पहाड पदयात्राको माग भइरहेको छ । चुरे पहाड पदयात्रा गर्दा बन्यजन्तु अवलोकन, पहाडमाथिबाट देखिने दृश्य तथा बबईमा ¥याफ्टिङ गर्न सकिने चौधरी बताउँछन् । तराईको सखिया नाचदेखि कर्णालीको देउडा एउटै बसाइमा नाच्न पाइन्छ । समुदायस्तरको यस्तो एकता र सदभाव अन्यत्र बिरलै पाइएला । नेपालगन्जभन्दा चिसो मौसम र थारू परिकारमा रम्न आन्तरिक पर्यटक यहाँ आउने गर्छन् ।

चारैतिर घना जंगलले घेरिएको र बीचमा खेतीयोग्य जमिन रहेको गाभर भ्याली अनुसन्धानका लागि समेत उपयुक्त छ । गाभर भ्यालीलाई थारू र मुगेली संस्कृतिको अध्ययन गर्ने थलो बनाउन सकिन्छ । वन विज्ञान तथा संस्कृति अध्ययनरत विद्यार्थीका लागि गाभरभ्याली उपयुक्त देखिन्छ । सबैभन्दा ठूलो चरा अस्ट्रिचको व्यावसायिक पालन पनि गाभर भ्यालीमा सुरु भएको चौधरीले बताए ।

पर्यटकीय पूर्वाधार निर्माणकालागि गाभर भ्यालीसँग जोडिएको २० बिघा जमिनमा लायन्स क्लब अफ इन्टरनेसनलले जैविक पार्क निर्माणका लागि सहकार्य गरिरहेको लायन्स क्लब इन्टरनेसनल ३२५ बी २ का सेकेन्ड भाइस गभर्नर मधुसुधन रिजालले बताए ।

पर्यटन कार्यालयको सहयोगमा थारू संग्रहालयका लागि भवन निर्माण भइसकेको छ । गाभर क्षेत्रमा पर्ने च्यामा गाउँमा थारू जातीय संग्रहालय निर्माण गरिएको छ । चिसापानी क्षेत्र पर्यटन प्रर्वद्धन विकास समितिको आठ लाख रुपैयाँ सहयोगमा संग्राहालय बनेको हो ।

गाभर भ्यालीमा आन्तरिक पर्यटकका साथै भारत, स्विट्जरल्यान्ड, क्यानडा, बंगलादेश, अमेरिका, थाइल्यान्ड, बहराइनलगायतका मुलुकबाट पनि पर्यटक आउने गरेको चौधरीले बताए । बाँके क्षेत्र नं। ४ मा पर्ने गाभर भ्यालीले छोटो समय नै परिचय बनाइसकेको सांसद दलबहादुर सुनार बताउँछन् । उनले गाभर भ्यालीमा पर्यापर्यटन विकास गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

(अन्नपूर्णबाट)

तपाईको प्रतिक्रिया