‘भौंरा’ले पहिलो च्यारेटी शो बाट लाखौं उठायो, अब कैलाली र दाङमा


vaura1

काठमाडौं, असोज १९ गते । थारु भाषाको पछिल्लो नयाँ फिल्म भौंराले आफ्नो प्रथम च्यारेटी शो बाट करिब सवालाख रुपियाँ उठाएको छ । असोज १४ गते काठमाडौंको विश्वज्योतिमा प्रदर्शन गरिएको पहिलो शोबाट सो रकम असुल भएको भौंराका निर्माता नन्दु चौधरीले बताउनुभयो ।

शुभ विजयादशमीको अवसर पारेर कैलाली, दाङ र देउखुरीमा च्यारेटी शो प्रदर्शनकालागि निर्माता टोली बुधबार नै पश्चिम नेपालको यात्रामा निक्लिसकेको छ । निर्माता चौधरीकाअनुसार असोज २१ गते कैलालीको लम्कीमा दुई शो प्रदर्शन गर्ने कार्यतालिका बनाइएको छ । त्यस्तै, २२ गते दाङ्को घोराहीमा पनि दुई शो प्रदर्शन हुने चौधरीले बताउनुभयो ।

दर्शकको मागअनुसार भौंरालाई अन्य ठाउँमा पनि प्रदर्शन गरिने निर्माता चौधरीले बताउनुभयो । उहाँकाअनुसार असोज २३ गते देउखुरीको लमहीमा एक शो भौंरा प्रदर्शन गरिने छ । करिब २५ लाख रुपियाँमा निर्माणमा तयार भएको पछिल्लो थारुभाषाको फिल्म भौंराले आशालाग्दो व्यापार गर्ने विश्वास निर्माताको छ ।

vaura2

निर्माता चौधरीले पश्चिमा थारु भाषाको फिल्म करिब एक दशकपछि निर्माण भएकाले पनि दर्शकको माग बढी रहेको बताउनुभयो । ठूलो लगानीमा बनेको थारु चलचित्र भएकाले करिब ४० देखि ४५ लाख रुपियाँको व्यापार भौंराले गर्ने निर्माता चौधरीले विश्वास व्यक्त गर्नुभयो ।

चम्पन सांस्कृतिक समूहको पहिलो प्रस्तुतिकोरुपमा आएको भौंरालाई थारु बहुल जिल्लामा प्रदर्शनमा ल्याइने निर्माताको भनाई छ । भौंरा ठेट थारुभाषा हो । यसको अर्थ भमरा भन्ने हुन्छ । माया प्रेममा आधारित भौंराले थारु दर्शकको मन जितिरहेको चौधरीले बताउनुभयो ।

vaura

तपाईको प्रतिक्रिया