नयाँ शक्तिलाई त्यागे मुमारामले, पार्टीमा व्यक्तिवाद हाबीभएको आरोप

राजीनामाको पूर्ण विज्ञप्तीसहित


muma

काठमाडौं, असोज २१ गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य तथा सो दलका राजनीतिक संवाद समितिका संयोजक मुमाराम खनालले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

विज्ञप्ती प्रकाशित गरी उहाँले नयाँ शक्ति छोडेको घोषणा गर्नुभएको हो । पार्टीमा व्यक्तिवाद हाबीभएको, विधिलाई मान्यता नदिएको उहाँको आरोप छ । नयाँ शक्तिलाई नयाँ राजनीतिक संस्कारयुक्त पार्टी बनाउने भनिए पनि राजनीतिकदल घोषणा गरेपछि माओवादीको एउटा समूहमा रुपान्तरण भएको उहाँले आरोप लगाउनुभएको छ ।

साथै, नयाँ शक्ति केन्द्रीय परिषदमा मनोमानीरुपमा सदस्य थप्दै सात सय पुर्‍याएको भन्दै उहाँले आलोचना गर्नुभएको छ ।

हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ

प्रेस विज्ञप्ति

१. नेपालमा वैकल्पिक राजनैतिक दल होइन, वैकल्पिक राजनीतिक संस्कार, नियत र विधिको पालना गर्ने राजनीतिक शक्तिको आवश्यकता रहेको तथ्यप्रति वर्तमान राजनीतिक अवस्थालाई अवलोकन गर्ने हरेक नेपाली नागरिक अवगत छ । र, यसै संदर्भमा म पनि विगत एक दशकदेखि वैकल्पिक नयाँ राजनैतिक शक्तिको आवश्यकता र औचित्यको बारेमा लेख्दै र वोल्दै आएको पात्र हुँ । त्यसै पृष्ठभूमिमा पूर्व माओवादी नेता बाबुराम भट्टराईको माओवादी समुह र विभिन्न फरक पृष्ठभूमिका व्यक्तित्वहरु सहितको लामो छलफल र वहसपछि म पनि नयाँ शक्ति नेपाल नामक दल निर्माण गरी उक्त दलको केन्द्रिय भूमिकामा सक्रिय रहँदै आएको थिए ।

२. गत बर्षको माघ १० गते नेपालमा नयाँ शक्तिको आवश्यकता र औचित्यको लागी राष्ट्रव्यापी बहस गर्ने अभिप्रायको साथ ३५ सदस्यीय अन्तरिम केन्द्रिय परिषदको निर्माण गरियो । जसमा पूर्व माओवादी समुहबाट संयोजक र अन्य एकजना गरी २ जना मात्र समावेश गरियो । किनकि हाम्रो दृढमत थियो– पूर्व माओवादी समुहले नयाँ राजनीतिक शक्तिको खाँचो पुरा गर्न सक्तैन । त्यसको भोलिपल्ट माओवादीबाट अलग भएकोे संयोजकको पुरै टिम समावेश गरियो र अघिल्लो दिन घोषणा भएको परिषदलाई एउटा देखाउने नाटकमा रुपान्तरण गरियो । त्यसपछि लगातार कुनै विधि र प्रक्रियालाई अवलम्वन नगरी संयोजक र संगठन विभागको एकजना व्यक्तिको निर्णयमा परिषद संख्या थप्दै ७०० चन्दा बढी पुर्याईयो ।

हामीले १७९ वटा दलहरुको बीचमा एउटा थपेर १८०औं दल बनाउन खोजेका होइनौं । तर नयाँ शक्ति पार्टीको विकासक्रमले एउटा नयाँ दल थपिएर १८०औं बन्नुवाहेक अर्को संभावना देखिएन ।

३. नयाँ शक्तिको वहसलाई हतार हतार पार्टीकोरुपमा घोषणा गरेपछि नयाँ शक्ति पार्टी सम्पूर्णरुपमा पूर्व माओवादी समुहकोरुपमा रुपान्तर भयो । नयाँ र फरक पृष्ठभूमिका मात्र होइन, पूर्व माओवादीभित्र पनि २०४७ सालमा बाबुराम भट्टराईसँग विद्रोह गरेर आएका केही सिमित व्यक्तिको मात्र कोर समुह बन्यो । उक्त कोर समुहले विधि, प्रक्रिया, नियम र अनुशासन मिच्दै हिजोदेखि गरी आएका अपारदर्शी कर्मलाई निरन्तरता दिइरह्यो । जसलेगर्दा सम्पूर्ण पार्टीको उर्जा पूर्व माओवादीहरुको आफ्नै विगतको कचिंगलमा मात्र खपत हुन थाल्यो । त्यसप्रकारको माओवादी कचिंगलमा समावेश भइरहन मेरो व्यक्तिगत र राजनीतिक रुची रहेन ।

४. कुनै अस्तित्व मात्र धान्ने दल निर्माण गर्ने र त्यसमा आफुलाई समावेश गर्ने मेरो कुनै अभिप्राय थिएन र छैन । वस्तुगत राजनीतिक जगतमा देखिएको राजनैतिक विकल्पको संभावनालाई नेतृत्व गर्न सकियो भने त्यसले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निकै हदसम्म सकारात्मक योगदान पुर्याउँछ भन्ने मेरो मान्यता रही आएको थियो र छ । तर नयाँ शक्तिको राजनीतिक संगठन, चरित्र र संस्कृतिले विकल्प होइन, पूर्व माओवादीकै निरन्तरताबाहेक अरु केही बोकेन । जसलेगर्दा सिमित मात्रामा प्रवेश गरेका गैरमाओवादी सदस्यहरु पनि नयाँ शक्तिमा टिक्न सक्ने कुनै वातावरण रहेन ।

मेरो विश्वास थियो, राजनीतिक व्यक्तिको नेतृत्व विना नयाँ वैकल्पिक शक्तिको निर्माण संभव हुन्न । तर आज म उक्त भ्रमबाट मुक्त भएको छु । नबदलिएको नेताको नियत र चरित्रले कुनै नयाँ विकल्प दिन सक्तैन । यसै निष्कर्षको साथ आजदेखि नयाँ शक्ति पार्टीको सदश्यता सहित सम्पूर्ण जिम्मेवारीबाट अलग रही स्वतन्त्र नागरिक भएको घोषणा गर्दछु ।

५. पार्टी विधिमा होइन, व्यक्तिवादमा आधारित रह्यो । आर्थिक कार्यविधिलाई लत्याएर आर्थिक अराजकताको अभ्यास नै स्वीकार्य बन्यो । विकल्पको संभावनालाई खुम्च्याएर एउटा पूर्व गुटमा सिमित गरियो । र, नयाँ शक्ति पार्टी पनि नेपालका अन्य १७९ वटा पार्टीहरुकै निरन्तरता वाहेक अर्को विकल्प बन्ने संभावनाको अन्त्य भयो । निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता हुनुभन्दा अगाडि भएका दर्जनौं सभा, सेमिनार र अन्तक्र्रियाहरुमा सगर्व हामीले एउटा कुरा सबैभन्दा बढी दोहोर्यायौं– हामीले १७९ वटा दलहरुको बीचमा एउटा थपेर १८०औं दल बनाउन खोजेका होइनौं । तर नयाँ शक्ति पार्टीको विकासक्रमले एउटा नयाँ दल थपिएर १८०औं बन्नुवाहेक अर्को संभावना देखिएन ।

अतः मेरो विश्वास थियो, राजनीतिक व्यक्तिको नेतृत्व विना नयाँ वैकल्पिक शक्तिको निर्माण संभव हुन्न । तर आज म उक्त भ्रमबाट मुक्त भएको छु । नबदलिएको नेताको नियत र चरित्रले कुनै नयाँ विकल्प दिन सक्तैन । यसै निष्कर्षको साथ आजदेखि नयाँ शक्ति पार्टीको सदश्यता सहित सम्पूर्ण जिम्मेवारीबाट अलग रही स्वतन्त्र नागरिक भएको घोषणा गर्दछु ।

हार्दिक धन्यवाद सहित, मितिः २०७३ असोज २१

मुमाराम खनाल
पूर्व केन्द्रिय कार्यकारी सदस्य,
तथा संयोजक राजनीतिक संवाद समिति,
नयाँ शक्ति पार्टी नेपाल ।

तपाईको प्रतिक्रिया