धनगढी, असोज २३ गते । पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले सखिया नाचको रौनक छ । प्रायः हरेक थारु गाउँमा दशियामा सखिया नाच नाचिन्छ । सखिया नाच नभएको गाउँ सुनसान र दशैं नआएकोजस्तो महशुस हुनेगरेको थारु अगुवाहरुको बुझाई छ ।
दशैंको टीका होस् कि शुभकामना आदानप्रदान गर्ने कार्यक्रम होस् सबै ठाउँमा थारु युवतिहरुको छमछमि नाचले गाउँघरको परिवेश नै बेग्लै हुनेगर्छ । ढिक्री पूज्ने ढिक्रहवा र टीकाको दिन थारु युवतीले रातभरी सखिया नाच नाच्ने गर्छन् ।
प्रायः पुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन थारु गाउँमा हुन्छ । रंगीविरंगी थारु पहिरन लगाएर छमछमी नाच्ने सखिया नाचको महत्वले दशैंको गरिमालाई समेत बढाउने गर्छ । मादलको तालमा नाचिने नचनियाहरु कम्मर मस्काइ मस्काई नाच्ने गर्छन् ।
थारु समुदायको सखिया नाचको आकर्षणले आन्तरिक तथा बाह्य पर्यटक समेत थारु गाउँबस्तीमा पुग्ने गर्छन् । थारु सांस्कृतिक कार्यक्रमले पर्यटकहरुलाई गाउँवस्तीसम्म तान्ने गर्छ । यसले थारु गाउँकोमात्र हैन त्यहाँको जनजीवन नै गौरवान्वित हुनेगर्छ ।
दशैंमा थारु समुदायले सामुहिकरुपमा टीका ग्रहण गर्ने गर्छन् । सखिया नाच नाच्दै अभिभावकसँग सामुहिक टीका ग्रहण गरेर एकापसमा रमाएर थारु समुदायले दशैं मनाउने गर्छन् । दशैंले एक अर्काको सम्बन्धलाई जोड्ने र मायालाई अटुटरुपमा कायम राख्ने विश्वास गरिन्छ ।
दशैं विशेषगरी विजयको चाड भएकाले यस पर्वले सबैको सुख शान्ति र मनोकामना पूरा गर्ने मनोकामना गरिन्छ । माता भगवतीले सबैको इच्छा पूरागरी विजय कायम गर्ने र पारिवारिक सुख शान्ति र समृद्धिको कामना गर्ने गरिन्छ ।
थारु गाउँबस्तीमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन शुरु भएपनि त्यसलाई नाचकोरुपमा नचनियाहरुसँगै गाउने काम भने दशैंमा हुनेगर्छ । गीतको भाका लामो भएकाले कुनै कुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन छ । प्रायः साँझको खाना खाएपछि भलमन्साको घरमा जम्मा भएर सामुहिकरुपमा सखिया नाच्ने प्रचलन छ ।
थारु समुदाय कृषि काममा व्यस्त रहने समुदाय भएकाले दिनभरी घरको काम गर्ने र साँझको फूर्सदिलो समयमा सखिया नाच नाच्ने गर्छन् । पूर्वका थारुले सखिया नाच नाच्ने गर्दैनन् । उनीहरु दशैं पनि खासै मनाउँदैनन् । तर पश्चिम नेपालका थारुले दशैंलाई धुमधामका साथ मनाउँछन् ।