असन्तुष्ट पक्षको माग सम्बोधनविना निर्वाचन सम्भव छैनः नेता पौडेल


sam_7266

लक्की चौधरी
धनगढी, कात्तिक १० गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी, जनजाति, थारु लगायतका समुदायलाई सहमतिमा नल्याएसम्म निर्वाचन गर्न सम्भव नरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस कैलालीद्वारा बुधबार यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले त्यस्तो बताउँदै नयाँ संविधान संशोधन मार्फत् ती समुदायको माग सम्बोधनमा सबै दललाई लचिलो हुन आग्रह गर्नुभयो ।

“नयाँ संविधान कार्यान्वयन गर्नुको विकल्प छैन, त्यसकालागि निर्वाचन अनिवार्य छ” भन्दै उहाँले निर्वाचनका लागि असन्तुष्ट दलसँग सहमतिको अपरिहार्यता औल्याउनुभयो । “संशोधनमा कांग्रेस, एमाले सबैदल लचिलो हुनुपर्छ, हठ र जिद्दीले मुलुकलाई समाधान दिन्न” भन्दै नेता पौडेलले मधेसवादी दललाई पनि विवादका लागि विवाद नगर्न आग्रह गर्नुभयो ।

“नयाँ संविधान कार्यान्वयन गर्नुको विकल्प छैन, त्यसकालागि निर्वाचन अनिवार्य छ” भन्दै उहाँले निर्वाचनका लागि असन्तुष्ट दलसँग सहमतिको अपरिहार्यता औल्याउनुभयो ।

मुलुकमा देखिएको पछिल्लो राजनीतिक समस्या समाधानमा प्रमुख दलको हैसियतले कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भन्दै नेता पौडेलले दोस्रो ठूलो दल एमाले र मधेसवादी दललाई मिलाउने जिम्मेवारी पनि कांग्रेसकै रहेको तर्क गर्नुभयो । पार्टी सभापति शेरबहादुर देउवालाई उहाँले नेतृत्वदावी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

संघीयता र समावेशीता नागरिकको माग र चाहना रहेको भन्दै नेता पौडेलले राज्यबाट पछाडि परेका सबै वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन पनि समावेशी व्यवस्था ल्याउनु परेको चर्चा गर्नुभयो । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयमा कांग्रेसले न्यायाधीशको भूमिका निर्वाह गर्ने दावी गर्नुभयो ।

“कम्युनिष्ट पार्टीले जहिले विवाद मात्रै निम्त्यिाउँछन्, कांग्रेसले समाधान दिन्छ” भन्दै नेता पौडेलले कार्कीको विषयमा कांग्रेसले सुझबुझकासाथ मुलुकको हितमा निर्णय गर्ने दावी गर्नुभयो । “कांग्रेसले न विराउने न डराउने” भन्दै नेता पौडेलले त्यस विषयमा हतार गर्नु पनि आवश्यक नरहेको तर्क गर्नुभयो ।

पार्टीभित्र गुटबन्दी र समूहगत समस्या बढेको स्वीकार्दै नेता पौडेलले भन्नुभयो, “देउवाजी तीन पटक मुलुकको प्रधानमन्त्री भइसक्नुभयो, दलको सभापति हुनुहुन्छ, फेरि गुटको नेतृत्व किन गर्न आवश्यक छ ?” जिज्ञासा गर्दै उहाँले नेताको जयजयकार गर्नुभन्दा जनताको जयजयकार गरेमात्र पार्टी बलियो हुने बताउनुभयो । सो अवसरमा उहाँले कार्यकर्तालाई जनताको माझमा गएर निर्वाचनको वातावरण बनाउन निर्देश गर्नुभयो ।

“देउवाजी तीन पटक मुलुकको प्रधानमन्त्री भइसक्नुभयो, दलको सभापति हुनुहुन्छ, फेरि गुटको नेतृत्व किन गर्न आवश्यक छ ?”

“हाम्रो मुख्य प्रतिस्पर्धा पार्टीभित्रको होइन, पार्टी बाहिरका दलहरुसँग हो” भन्दै नेता पौडेलले भन्नुभयो, “गुटलाई बलिया बनाएर कांग्रेस कसरी सफल हुन्छ ?” पार्टीभित्र देखिएको अन्तरघाट अन्त्य गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा नेता पौडेलले सुदूरपश्चिम कृषि, पर्यटन र उर्जाको क्षेत्रमा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले त्यसको समुचित विकासले सुदूरपश्चिमलाई सुन्दरपश्चिम बनाउन सकिने बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले संविधानको कार्यान्वयनविना मुलुकको समृद्धि असम्भव रहेको बताउनुभयो । यसअघिको केपी ओली नेतृत्वको सरकारले तराई मधेस र पहाडबीच सद्भाव विगार्ने प्रयास गरेकाले कांग्रेसले सो सरकारलाई विस्थापन गर्न बाध्यभएको उहाँले तर्क गर्नुभयो ।

कांग्रेस कैलालीका सभापति नरनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रममा सांसद बुद्धिसागर चौधरी, नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, स्थानीय नेता आनन्दराज जोशी, हरिश खड्का, प्रकाश बम लगायतले कांग्रेसको आन्तरिक समस्या समाधानमा नेता पौडेलेको ध्यानाकर्षण गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया