थारु कल्याणकारिणी सभाको राष्ट्रिय प्रशिक्षण भेला सप्तरीमा शुरु


tks2

तस्विर सौजन्यः राजकुमार लेखी

काठमाडौं, कात्तिक १७ गते । सप्तरीको जण्डोल महुलीमा विहिबारदेखि शुरु हुन गइरहेको थारु कल्याणकारिणीसभाको राष्ट्रिय प्रशिक्षणको तयारी पूरा भएको आयोजकले बताएको छ । प्रशिक्षणमा थारु बहुल जिल्लाबाट गरी करिब पाँचसय प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।

कात्तिक १८ देखि २० गतेसम्म हुने प्रशिक्षणमा हरेक जिल्लाबाट न्यूनतम ५ जनाको प्रतिनिधित्व तोकिएको भएपनि थप आउन चाहने प्रतिनिधिको संख्या नतोकिएको प्रशिक्षण विभागका सदस्य रमाकान्त चौधरीले बताउनुभयो । चित्तवनबाट ८ जना आउने र अन्य जिल्लाबाट पनि आउनेको संख्या बढ्ने आयोजकको भनाई छ ।

tks1

थाकसको गाउँ इकाइ कमिटीदेखि जिल्ला र केन्द्रसम्मका प्रतिनिधिहरुको सहभागिता कार्यक्रममा रहने प्रशिक्षण विभागका अर्का सदस्य रामलाल चौधरीले बताउनुभयो । तीन दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा डा. कृष्ण भट्टचन, अधिवक्ता शंकर लिम्बु, अधिकारकर्मी ज्योति दनुवार, फकला थारु, पत्रकार खिम घलेलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

प्रशिक्षणमा नयाँ संविधानमा थारुको मुद्दा, संशोधन गर्नुपर्ने विषय, आदिबासी जनजातिको साझा सवाल तथा अन्य अधिकारका विषयमा प्रशिक्षण दिइने आयोजकले जानकारी गराएको छ । कार्यक्रममा आउनेको खाने र बस्ने व्यवस्था आयोजकले मिलाए पनि आतेजाते भने स्वयम्ले व्यहोर्नुपर्ने आयोजकले स्पष्ट गरेको छ ।

तपाईको प्रतिक्रिया