अन्तरिम संविधानको प्रावधानलाई आधार मानेर संशोधन गर्नुपर्छः रेग्मी


khilraj-regmi_pic-by-lucky-chaudhary

काठमाडौं, कात्तिक २० गते । मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले ०७४ माघ ७ भित्र मुलुकलाई सही निकास दिन नसके पुनः अर्को समस्या आउनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

शनिबार यहाँ एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै रेग्मीले त्यस्तो बताउनुभयो । “अहिले पनि मुलुक समस्याकै बीचमा छ, आगामी माघ ७ भित्र मुलुकलाई सही बाटोमा लग्न नसक्ने हो भने ठूलो राजनीतिक भूल हुन्छ र चुनौतिको पहाड हामीसामु खडा हुन्छ” पूर्व अध्यक्ष रेग्मीले भन्नुभयो ।

“अहिले पनि अन्तरिम संविधानको प्रावधानलाई आधार मानेर नयाँ संविधान संशोधन गर्न सकिन्छ, अन्तरिम संविधानमा अधिकांश सबैको सहमति थियो” उहाँले भन्नुभयो ।

अध्यक्ष रेग्मीले अन्तरिम संविधानमा भएको व्यवस्थालाई मुख्य आधार मानेर अगाडि बढ्न सकेको भए अहिले आएकोजस्तो राजनीतिक जटिलता नआउने विश्वास व्यक्त गर्नुभयो । “अहिले पनि अन्तरिम संविधानको प्रावधानलाई आधार मानेर नयाँ संविधान संशोधन गर्न सकिन्छ, अन्तरिम संविधानमा अधिकांश सबैको सहमति थियो” उहाँले भन्नुभयो ।

आफू मन्त्रीपरिषदको अध्यक्ष छँदा राजनीतिक दलका नेताहरुलाई अन्तरिम संविधानकै प्रावधानलाई आत्मसात गर्न सुझाव दिएको उहाँले स्मरण गर्नुभयो । तर दलका नेताहरुले त्यसलाई वेवास्ता गर्दा अहिलेको जटिलता आएको बुझाई उहाँको छ ।

प्रमुख दलका नेताहरुलाई सजगता अपनाउन आग्रह गर्दै अध्यक्ष रेग्मीले भन्नुभयो, “यो समय अलमलमा विताउने समय होइन, संविधान संशोधन गरेर त्यसको कार्यान्वयनमा लाग्ने बेला हो ।” असन्तुष्टहरुलाई सहमतिमा ल्याएर अगाडि बढ्नु नै मुलुकको लागि हितकर हुने उहाँले बताउनुभयो ।

अध्यक्ष रेग्मीले ९८ वर्षिय दशरथमान सिंहद्वारा लिखित त्यो समय त्यो परिवेशः मेरो जीवनको यात्राको संस्मरण नामक कृतिको लोकार्पण गर्नुभयो । बयोबुद्ध सिंहले पाल्पाको इतिहास र नेपालको वर्तमान अवस्थाबारे पुस्तक लेखेर युवापुस्तालाई प्रेरित गरेको उहाँले स्मरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया