एमालेले थाल्यो मधेस तराईमा चार महिने जनपरिचालन अभियान


uml

लक्की चौधरी
काठमाडौं, कात्तिक २१ गते । पार्टीलाई विभिन्न दलका नेताबाट लगाइएको मधेस–तराई विरोधी आरोपको चिरफार र नयाँ संविधानबारे जानकारी गराउने उद्देश्यसहित नेकपा (एमाले) ले चारमहिने तराई मधेस जनजागरण अभियान शुरु गरेको छ ।

यसअघि केन्द्रीय कमिटीको बैठकबाट एमालेले कात्तिकबाट शुरु गरेर माघ मसान्तसम्म चारमहिने अभियान शुरुगर्ने निर्णय गरेको थियो । कात्तिक १८ गते छठको अवसरमा जनकपुरमा चियापान गरेर एमालेले अभियानको शुरुवात गरेको हो । अभियानका क्रममा नागरिकतहबाट एमालेप्रति कुनै गुनासो नभएको तर दलका केही नेताहरुले एमालेलाई मधेस विरोधी आरोप लगाएको भनाई एमालेका शीर्ष नेताहरुको छ ।

संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान २०७३ नाम दिइएको अभियानको “राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानः संविधानको कार्यान्वयन एमालेको अभियान” मुख्य नारा पार्टीले तय गरेको छ । अभियानको मुख्य उद्देश्य भनेकै एमालेमाथि लागेको गलत आरोपको चिरफार, नयाँ संविधानबारे जानकारी, एमाले नेतृत्वको सरकारले गरेको कामकाजको प्रचारप्रसार गर्नेरहेको एमालेले बताएको छ ।

अभियानअनुसार एमालेले कात्तिक मसान्तभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्ने तयारी गरेको छ । यसअघि सप्तरीमा प्रशिक्षण भेला सम्पन्न गरेको एमालेले कात्तिक २६ र २७ गते सिराहामा प्रशिक्षण कार्यक्रम गर्ने बताएको छ । मधेसमा एमालेलाई लगाइएको आरोपजस्तो कार्यकर्ता र आम नागरिकमा गुनासो नभएको एमालेले बताएको छ ।

वरिष्ठ नेता झलनाथ खनालले एमालेलाई तराई–मधेसी विरोध पार्टीको आरोप केवल केही दलका नेताहरुको मिथ्या आरोप मात्र रहेको बताउनुभयो । “मधेसको जनपरिचालन अभियानमा म सहभागी हुँदा नागरिकतहबाट त्यस्तो कुनै आरोप देखिनँ, एमालेप्रति मधेसी नागरिकको उत्साह पहिलेभन्दा राम्रो पाएँ” उहाँले भन्नुभयो । अरुले लगाएको आरोपलाई चिरफार गर्नेगरी मधेस तराईमा पार्टीले अभियान शुरुगरेको उहाँले बताउनुभयो ।

“तराई मधेसमा विकास, महिलाको अधिकार, समान न्यायको खोजीमा मधेसका नागरिकको चाहना पायौं, नयाँ संविधान कार्यान्वयनका विषय र संविधानमा भएको मुलभूत विषयबारे जानकारी गराउँदा मधेसी नागरिकहरु निकै उत्साहित भएका छन्” पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता खनालले गोरखापत्रलाई बताउनुभयो । मधेसमा अझै एमाले एक नम्बरको पार्टी रहेको दावी गर्दै उहाँले जनकपुर, सप्तरी लगायतको कार्यक्रमबाट आफू निकै उत्साहित भएको बताउनुभयो ।

यसअघि मैले सिंगो तराईलाई धोती आकारको प्रदेश बनाउन उपयुक्त हुँदैन भनेको थिएँ तर मधेसी केही नेताले बंग्याएर मधेसीलाई धोती भन्यो भनेर आरोप लगाएकोबारे समेत आफूले मधेसमा गएर प्रष्ट पारेको उहाँले बताउनुभयो । नेता खनालले मधेसी जनताको पनि एक मधेस एक प्रदेशको चाहना नरहेको दावी गर्नुभयो ।

एमाले पोलिटव्यूरो सदस्य तथा मधेसी नेता रामप्रित पासवानले एमालेको प्रभाव मधेसमा हिजोभन्दा आज बढीरहेको बताउनुभयो । “केही दलका नेताहरुले आफ्नो राजनीतिक स्वार्थकालागि एमालेलाई मधेस विरोधी देखाएका हुन्, सारमा जनताको माझमा एमाले नै सबैभन्दा बलियो छ” उहाँले भन्नुभयो ।

एमाले पोलिटव्यूरो सदस्य तथा मधेसी नेता रामप्रित पासवानले एमालेको प्रभाव मधेसमा हिजोभन्दा आज बढीरहेको बताउनुभयो । “केही दलका नेताहरुले आफ्नो राजनीतिक स्वार्थकालागि एमालेलाई मधेस विरोधी देखाएका हुन्, सारमा जनताको माझमा एमाले नै सबैभन्दा बलियो छ” उहाँले भन्नुभयो । जनकपुर र सप्तरीमा भएको एमालेको कार्यक्रमले एमालेलाई उत्साहित बनाएको दावीगर्दै उहाँले नागरिकतहमा एमालेको कामबारे जानकारी गराउँदा जनता थप उत्साहित भएको तर्क गर्नुभयो ।

यसैगरी एमालेले संविधानका मूलभूत विशेषता र पार्टी नेतृत्वको सरकारले गरेको कामकाजबारे जानकारी दिने हिसावले सातवटै प्रदेशको मुख्य सहरमा वृहत जनसभा आयोजना गर्ने भएको छ । पार्टी केन्द्रीय कमिटीको निर्णयअनुसार प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नं. २ को जनकपुर, प्रदेश नं ३ को काठमाडौं, प्रदेश नं ४ को पोखरा, प्रदेश नं. ५ को वुटवल र नेपालगञ्ज, प्रदेश नं. ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढीमा जनसभा गर्ने तयारी भएको नेता पासवानले बताउनुभयो ।

कात्तिक मसान्तबाट बृहत जनपरिचालन अभियान शुरुभएकाले सोही अवधिभित्र सातवटै प्रदेशमा जनसभाको आयोजना पनि सम्पन्न गर्ने तयारी पार्टीले गरेको उहाँले बताउनुभयो । यद्यपि जनसभाका लागि मिति तय हुन बाँकीरहेको पासवानको भनाई छ ।

तपाईको प्रतिक्रिया