माओवादीका पूर्व लडाकु पेरिसडाँडा घेराउ गर्न काठमाडौंमा


maoist

काठमाडौं, कात्तिक २२ गते । पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडालाई ‘अयोग्य भनेर हटाइएका’ बर्हिगमित लडाकुहरुले घेराबन्दी सुरु गरेका छन्।

राष्ट्रिय अन्तर्राष्र्टिय कानुनअनुसार आफुहरुलाई अझै पनि न्याय नदिइएको भन्दै बर्हिगमित लडाकुहरुले पेरिसडाँडालाई घेराबन्दी गरेका हुन्।

यसरी पेरिसडाँडा घेराबन्दी गरिएको यो दोस्रो पटक हो। पेरिसडाँडा घेराउ कार्यक्रमका लागि देशभरीवाट पूर्व लडाकुहरु काठमाडौं आएका छन्। बर्हिगमित जनमुक्ति सेना, नेपालका अध्यक्ष लेनिन बिष्टकाअनुसार आफनो माग पूरा नभएसम्म घेराबन्दी कार्यक्रम जारी रहने बताउनु   भयो ।

‘आफनै पार्टीका अध्यक्ष प्रधानमन्त्री भएको अवसरमा यो घेराबन्दी सुरु गरेर न्याय माग्न काठमाडौं आएका हौं,’ बिष्टले भने, ‘जबसम्म राष्ट्रिय र अन्तर्राष्ट्र्रिय कानुनअनुसार न्याय पाउँदैनौं, तबसम्म मुख्यालय घेराउ जारी राख्ने छौं।’ उनका अनुसार सोमबारबाट सुरु भएको घेराउ कार्यक्रम अनिश्चितकालसम्म जानेछ।

उमेर नपुगेको, अपांग भएको भन्दै पहिलो चरणमा लडाकु शिविरबाट बिना क्षतिपूर्ति निकालिएका माओवादी लडाकुहरुको उक्त समूहले तीनवर्ष अघि यसैगरी घेराउ गरेको थियो। माओवादी नेताहरुलाईसमेत कार्यालयमा पस्न नदिएपछि माओवादीको केन्द्रीय समिति बैठक दरवारमार्गस्थित रोयलसिंगे होटलमा बस्नु परेको थियो।

उक्त आन्दोलनपछि ‘अयोग्य’ भन्ने पदावली निकालिर ‘बहिगर्मित जनमुक्ती सेना, नेपाल’ भन्दै परिचयपत्र बितरण गरिएको थियो। सोही समूहले आफूलाई राज्यले क्षतिपूर्ति नदिएको तथा बालसैन्यको रुपमा प्रयोग गरेर अन्तर्राष्ट्रिय कानुनको उलङ्घन गरेको भन्दै आक्रोश पोखेका छन्। बिभिन्न जिल्लावाट बस नै रिजर्भ गरेर न्यायकालागि काठमाडौं आउने बर्हिगमित लडाकुमध्ये करिब १ हजार लडाकु पेरिसडाँडा घेराऊमा सक्रिय छन्।

तपाईको प्रतिक्रिया