आदिबासी महासंघको अधिवेशन पुसमा, अध्यक्षमा धेरैको दावी


fefin

काठमाडौं, मंसिर ७ गते । नेपाल आदिबासी जनजाति महासंघको नवौं महाधिवेशन आगामी पुस २ देखि ४ गतेसम्म चित्तवनको सौराहामा सम्पन्न हुन गइरहेको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने आयोजकले बताएको छ ।

यसअघि मंसिर २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने सूचना बाहिर आएपनि त्यसलाई रद्द गर्दै पुसमा गर्ने निर्णय भएको महासंघका अध्यक्ष नगेन्द्र कुमालले जानकारी गराउनुभयो । मगर समुदायको मगर परिसद सम्पन्न गर्नुपर्ने समय र महासंघको महाधिवेशनको मिति जुध्न गएकाले पुसमा सारिएको अध्यक्ष कुमालले बताउनुभयो ।

मंसिर ३ गतेको जातीय संगठनको भेलाले पुसमा महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष कुमालले बताउनुभयो । चित्तवनको वीरेन्द्र क्याम्पसको प्राङ्गणमा उद्घाटनसत्र सक्काएर बन्दसत्र सौराहामा सम्पन्न गर्ने तयारी भएको महासंघले बताएको छ ।

अध्यक्षका लागि अहिलेसम्म चारजनाको नाम चर्चामा छ । जसमध्ये हालका महासचिव पेम्बा भोटे, सूर्य भूजेल, नित्यानन्द ताजपुरिया र नरेश ताम्राकारको नाम चर्चामा छ ।

महासंघको नेतृत्वमा एक कार्यकालभन्दा बढी समय नेतृत्व लिन नमिल्ने विधानमा व्यवस्था भएकाले यसपल्ट कुमालले नेतृत्व हस्तान्तरण गर्दै हुनुहुन्छ । अध्यक्षका लागि अहिलेसम्म चारजनाको नाम चर्चामा छ । जसमध्ये हालका महासचिव पेम्बा भोटे, सूर्य भूजेल, नित्यानन्द ताजपुरिया र नरेश ताम्राकारको नाम चर्चामा छ ।

पहिचानसहितको संघीयता र संविधानमा अस्पष्ट व्यवस्थालाई संशोधन गरी आदिबासी अधिकारलाई सम्बोधन गराउने गरी महाधिवेशनले सन्देश दिने आयोजकले बताएको छ । यसअघि विभिन्न मितिमा सरकारले आदिबासी जनजातिहरुसँग गरेको सहमति र सम्झौताको कार्यान्वयन गराउन दवाव दिनेगरी महासंघ लाग्ने महासचिव पेम्वा भोटेले बताउनुभयो ।

महाधिवेशनमा करिब २५ लाख रुपियाँ खर्चहुने अनुमान महासंघले गरेको छ । महासंघको आफ्नो आन्तरिक स्रोत र नेपाल सरकारले गर्ने सहयोगले महाधिवेशन सम्पन्न गर्ने तयारी भएको महासंघको भनाई छ । यसअघि सरकारले १० लाख रुपियाका दरले महाधिवेशनका लागि सहयोग गर्ने गरेको छ । यसपालीको सरकारी सहयोगको टुङ्गो लागिनसकेको महासचिव भोटेले भन्नुभयो ।

तपाईको प्रतिक्रिया