सरकारी ब्ल्यांक चेकमा हस्ताक्षर गर्दैनौंः संघीय गठबन्धन


sanghiya-gathbandhan

काठमाडौं, मंसिर १३ गते । मधेसी मोर्चासहितको संघीय गठवन्धनले सरकारले भनेजस्तो दर्ता हुनु अघि नै संविधान संशोधन प्रस्तावको समर्थन गर्न नसकिने बताएको छ । केही दिन पर्खने, संशोधन दर्ता नभए आन्दोलनमा जाने चेतावनी गठबन्धनको छ ।

संघीय समाजवादी फोरम नेपालको कार्यालयमा सोमबार बसेको गठवन्धनको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको छ । तर, मधेसी मोर्चाका तीन अध्यक्ष तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावनाका राजेन्द्र महतो र रामसपाका अध्यक्ष शरतसिंह भण्डारी अनुपस्थित रहेको भन्दै कुनै ठोस निर्णय नगरेको बैठकका सहभागी नेताले बताए ।

बैठकमा गठवन्धनका नेताहरुले सरकारप्रति विश्वास घट्दै गएको र, आन्दोलनको विकल्प नभएको बताएका छन् । सरकारले संविधान संशोधन प्रस्तावमा सहमतिको आग्रह गरे पनि खाली चेकमा हस्ताक्षर नगर्ने निर्णय गठबन्धन दलका नेताहरुको छ ।

गठवन्धनका संयोजक एवं फोरम अध्यक्ष उपेन्द्र यादवले सरकार र सत्तारुढ दलहरु आफूलाई दोष दिएर पन्छन खोजेको आरोप लगाए । सरकारले के संशोधन प्रस्ताव ल्याउँछ भन्ने थाहा नै नभएको भन्दै उनले भने, ‘के आधारमा समर्थन गर्ने ?’

आफूहरुको माग थाहा भएको भन्दै सरकारले छिटो संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने उनले बताए ।

सरकारले के संशोधन प्रस्ताव ल्याउँछ भन्ने थाहा नै नभएको भन्दै उनले भने, ‘के आधारमा समर्थन  गर्ने ?’

सदभावना पार्टीर्का महासचिव मनिष सुमनले संविधान संशोधन गर्न प्रमुख दलहरुलाई पीडा भएको टिप्पणी गरे । उनले भने, ‘बाहाना मात्र बनाइरहेका छन्, हामीले विधेयक नै पढ्न पाएका छैनौं, समर्थन गर्नुपर्‍यो भन्न थालेकाछन् । ब्ल्यांक चेकमा हस्ताक्षर हुँदैन ।’

उनका अनुसार आन्दोलनमा जाने निर्णय गर्नु पर्ने मधेसी मोर्चा र गठवन्धनले सरकारलाई केही दिन हेर्नेछ । र, संशोधन दर्ता नभए आन्दोलनको घोषणा हुने  छ ।

बैठकमा धेरै नेताहरुले आन्दोलनमा जोड दिएको रामसपाका महासचिव केशव झाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया