भारतको इसारामा सरकारले संशोधन प्रस्ताव ल्यायोः विजुक्छे


narayanman

भक्तपुर, मङ्सिर १५ गते । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भारतको इसारामा संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाउनुभएको छ ।  उहाँले संशोधन प्रस्तावको विरोध गर्दै प्रस्तावको विपक्षमा उभिन सबै राजनीतिक दललाई आह्वान समेत गर्नुभएको छ ।

नेमकिपाका अध्यक्ष बिजुक्छेको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालयको बैठकले समेत संशोधन प्रस्तावमा उल्लेखित भाषा, प्रदेशको सीमाङ्कनमा हेरफेर, नागरिकता र जनसङ्ख्याको आधारमा राष्ट्रियसभामा प्रतिनिधित्वजस्ता कुनै पनि विषय नेपाल र नेपाली जनताको हितमा नभएको ठहर गरेको विजुक्छेले बताउनुभयो ।
सो पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको निर्देशनमा सरकारबाट संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।

संविधान कार्यानवयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बेला भारतीय शासकवर्गको निर्देशनमा संविधान संशोधन प्रस्ताव दर्तागर्नु देशमा निर्वाचन हुन नदिने षड्यन्त्र भएको ठहर बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनतामा गम्भीर असर पर्नेगरी सरकारले दर्तागरेको संविधान संशोधन प्रस्तावको बैटकले भत्र्सनासमेत गरेको विज्ञप्तिमा भनिएको छ ।

nemakipa

नेकपा(क्रान्तिकारी माओवादी) को आपत्ति

यसैबीच सरकारद्वारा मङ्गलबार संसद् सचिवालयमा दर्ता गरिएको नेपालको संविधान संशोधन विधेयकमा राखिएको सीमाङ्कनलगायत विषयप्रति नेकपा (क्रान्तिकारी माओवादी) ले आपत्ति प्रकट गरेको छ ।

पार्टी अध्यक्ष मोहन वैद्यले आज विज्ञप्ति जारीगर्दै सीमाङ्कनलगायत विषयको समाधान तानाशाही तरिकाले नभई अग्रगामी तथा परिवर्तनशील राजनीतिक शक्ति र सम्बन्धित जिल्ला तथा प्रदेशका नागरिकको राय सुझाव र सहमति अनुसार गर्नुपर्ने बताउनुभएको छ ।

सीमाङ्कनलगायत विषयको विरोधमा नागरिकले राखेका उचित माग तथा उनीहरुद्वारा आयोजित प्रदर्शन र हडतालका कार्यक्रमप्रति आफ्नो पार्टीको समर्थन रहेको अध्यक्ष वैद्यद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । संविधान नागरिकको इच्छा र भावना विपरीत भएकाले त्यसको विकल्पमा सङ्घीय जनगणतान्त्रिक संविधान बनाउनुपर्ने सो पार्टीले माग गरेको छ ।

तपाईको प्रतिक्रिया