नागरिक समाजवादी पार्टीले पुस ६ गते थरुहटमा चक्काजाम गर्ने


sam_3354

काठमाडौं, मंसिर १८ गते । राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले सरकारी संशोधन प्रस्तावको विरोध गर्दै आगामी पुस ६ गते थरुहट तराईमा चक्काजाम गर्ने घोषणा गरेको छ ।

मोरङको विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै सो दलले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै चक्काजामको घोषणा गरेको हो । सो पार्टीका अध्यक्ष लेखीले विहान ५ बजेदेखि साँझ ५ बजेसम्म चक्काजाम गर्ने बताउनुभयो ।

पछिल्लो संविधान संशोधन प्रस्ताव थारु, मधेसी, मुश्लिम, जनजाति, पछाडि परेका वर्गको पक्षमा नआएकाले विरोध स्वरुप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नुपरेको अध्यक्ष लेखीले बताउनुभयो । सो दलले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रममा मंसिर २० देखि २६ सम्म जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, पुस ५ गते गाउँ टोल र शहरमा मसाल जुलुश प्रदर्शन गर्ने र ६ गते चक्काजाम गर्ने बताएको छ ।

सो दलले जारी गरेको विज्ञप्तीमा तराईमा दुई प्रदेश बनाउनुपर्ने माग गरेको छ । पश्चिमको कैलाली र कञ्चनपुरसहितको प्रदेश र पूर्वमा झापा, मोरङ, सुनसरी सहितको प्रदेशको पक्षमा आफूहरु उभिएको लेखीले बताउनुभयो । त्यसको अलावा राज्यको सबै संयन्त्रमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, टीकापुर घटनाको आरोपमा पक्राउपरेका राजबन्दीको रिहाई हुनुपर्ने लगायतको माग सो दलले गरेको छ ।

andolan-statement

तपाईको प्रतिक्रिया