राम दहित
कैलाली, पुस १० गते । थारु होमस्टे गाउँ भादा सञ्चालन भएयता छ बर्षमा आन्तरिक र बाह्य गरी करिब ३७ हजार पर्यटकले अवलोकन गरिसकेको सञ्चालकले जानकारी गराएका छन् ।
२०६७ सालदेखि सञ्चालनमा आएको थारु होम–स्टे गाउँ भादामा आन्तरिक र बाह्य गरी त्यति संख्यामा पर्यटक आएर अवलोकन गरेको पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिनु भयो ।
उहाँले होमस्टे सञ्चालन भएको छ वर्षको अवधिमा आन्तरिक तथा बाह्य पर्यटकहरु नियमित आउने गरेको बताउदै विभिन्न देशबाट दुई सयजना विदेशी पर्यटक अवलोकन गरेको पनि जानकारी गराउनुभयो ।
छ बर्षको अवधिमा होमस्टेबाट एक करोड ४० लाख भन्दा बढी रुपियाँको कारोबार भएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । उहाँले थारु संस्कृति, थारु भेषभुषा, खानपिनको प्रोत्साहन तथा प्रर्वद्धन गर्नकालागि होमस्टे सञ्चालन गरिएको बताउनुभयो ।
अध्यक्ष चौधरीले होमस्टेको प्रमोसन तथा प्रर्वद्धन गर्नकालागि हरेक वर्ष पौष १७ देखि २१ गतेसम्म महोत्सव पनि सञ्चालन गर्दैआएको जानकारी दिदैै यो वर्ष छैठौंं महोत्सब सञ्चालन हुन गइरहेको बताउनुभयो ।
चौधरीले महोत्सबमा प्रत्येक दिन स्थानीय कलाकारहरुको प्रस्तुति, स्थानीय नाच (सखिया नाच, झुम्रा नाच, मघौटा नाच, मुंग्रह्वा नाच, हुर्दङग्वा नाच, लठ्ठी बैठकी र गुरुवा नाच) हुने बताउनुभयो ।
त्यसैगरी सजना, मैना, धमार, बर्कीमार, लग्नी, कठ्मधैया, बिर्हनी गितहरु लगायत रानाथारु, कठरिया थारुहरुको गित प्रस्तुत हुने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
महोत्सवको मूल आकर्षण थारु परिकार ढिक्री, खेरिया, फूलौरी, अण्डीक भाट, खुम्रा, पनझझरा, कचरीक बरिया, घोघी, गेगटा, सुटही, मुसाको परिकार, सिध्रामाछा, मौहुवाक दारु, चौरकदारु, निघार, छवुवा जाँर लगायत विभिन्न खाना र नास्ताको परिकार रहने बताउनुभयो ।
थारुगाउँ भादामा १९ घर होमस्टे सञ्चालन गरिएको छ । धनगढी उपमहानगर पालिका भित्रैपर्ने होमस्टे पुग्न सदरमुकामबाट १७ किलोमिटर पुर्व पर्छ भने, पूर्वपश्चिम महेन्द्र राजमार्गको राजीपुरबाट ७ किलोमिटर दक्षिणमा पर्छ ।