देवी चौधरीको सातौं राष्ट्रिय खेलकुदमा तीनवटा राष्ट्रिय कीर्तिमान


काठमाडौं, पुस ११ गते । नेपाल प्रहरीकी देवी चौधरीले आफ्नै गृह जिल्लामा एकै दिन तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत राजविराजमा आइतबारदेखि सुरु भारोत्तोलनको महिला ५३ केजी स्पर्धामा उनले आफ्नै कीर्तिमानमा सुधार गरेकी हुन्।

उनले स्न्याचतर्फ दुई पटक ५९ र ६० तथा क्लिन एण्ड जर्कतर्फ ७८ केजी तौल उठाएर आफ्नै कीर्तिमानमा सुधार गरिन्। यसअघि काठमाडौंमा गत असार ६ मा सम्पन्न पाँचौ ग्राण्ड प्रिक्स प्रतियोगितामा चौधरीले स्न्याचतर्फ ५८ र क्लिन एण्ड जर्कतर्फ ७७ केजीको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। उनले कूल १ सय ३८ केजी तौल उठाएकी छिन्।

सप्तरीको शम्भुनाथ ४ की चौधरी ०६२ सालदेखि नेपाल प्रहरीमा आवद्ध छिन्। उनको खेल जीवन २०५५ सालदेखि सुरुभएको हो। १० महिनाअघि भारतको गुवाहाटीमा भएको १२ औं साफमा उनले कास्य पदक पनि जितेकी थिइन्।

यस प्रतिस्पर्धामा नेपाल प्रहरीकै संगीता राईले कुल एक सय चार केजी तौल उठाउदै रजत र पश्चिमाञ्चलकी टिकामाया गुरुङले ९२ केजी तौल उठाई तेस्रो भइन्।

यसैगरी ४८ केजी तौल समूहमा नेपाली सेनाकी मनिषा रानाभाट कूल एकसय पाँच केजी तौल उठाउदै स्वर्ण जित्न सफल भइन्। यस स्पर्धामा पूर्वाञ्चलकी मनिषा चौधरीले कूल ७७ केजी उठाई रजत तथा सुदूर पश्चिमाञ्चलकी कञ्चन चौधरीले कुल ७१ केजी तौल उठाई कास्य जित्न सफल भइन्।

४८ केजी तौल समूहमा नेपाली सेनाकी मनिषा रानाभाट कूल एकसय पाँच केजी तौल उठाउदै स्वर्ण जित्न सफल भइन्। यस स्पर्धामा पूर्वाञ्चलकी मनिषा चौधरीले कूल ७७ केजी उठाई रजत तथा सुदूर पश्चिमाञ्चलकी कञ्चन चौधरीले कुल ७१ केजी तौल उठाई कास्य जित्न सफल भइन्।

पुरुषतर्फ ६२ केजी तौल समूहमा साफ गेमका रजत पदक बिजेता नेपाल प्रहरीका विकास थापाले कुल दुई सय २७ केजी उठाई स्वर्ण जिते। यस स्पर्धामा नेपाली सेनाका जीवन तामाङले कूल एक ६६ केजी तौल तथा पश्चिमाञ्चलका धनबहादुर झाक्री मगरले एक सय ६१ केजी तौल उठाई क्रमशः रजत र कास्य जिते।

पुरुषतर्फको ५६ केजी तौल समूहमा मनोज यादवले कुल एक सय ७५ केजीे तौल उठाई स्वर्ण पदक जिते। नेपाली सेनाका तुलाराम महतोले एक सय ६६ केजी तौल उठाई रजत र सुदूर पश्चिमाञ्चलका रबीलाल चौधरीले एक सय ६२ केजी तौल उठाई कास्य जिते। खेलकुदमन्त्री दलजीत श्रीपाइलीले २५ किलो तौल उठाएर एक समारोहबीच प्रतियोगिताको उदघाटन गरेका थिए।

चार दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ सात र पुरुषतर्फ आठ गरी १५ स्वर्णका लागि ४९ महिला र ६४ पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेको नेपाल भारोत्तोलन संघका सचिव तिलक राउतले जानकारी दिए।

प्रतियोगितामा पाँच विकास क्षेत्र र नेपाल प्रहरी, नेपाली सेना तथा एपिएफ क्लव गरी आठ टिम सहभागी छन्। एपिएफ टिमको भारोत्तोलनमा पहिलो सहभागिता हो।

तपाईको प्रतिक्रिया