थरुहट पार्टीले मेरो विरुद्ध भ्रम फैलाउन खोज्योः सांसद गंगा थारु

व्यवहार सुधारे पार्टी पुनः एक हुनसक्छः सांसद दहित


लक्की चौधरी
काठमाडौं, पुस १२ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) की अध्यक्ष तथा सांसद गंगा थारु सत्गौंवाले थरुहट पार्टीले आफू र आफ्नो पार्टी विरुद्ध भ्रम सृजना गर्न खोजेको आरोप लगाउनुभएको छ । सांसद थारुले सांसद पदको मोहमा परेर आफूले पार्टी नफुटाएको दावी गर्नुभयो ।

पार्टी फुटाउनुको कारणसहितको दुई पृष्ठको चिठी माउपार्टी थरुहटमा पेशगरेको स्वीकार्दै सांसद थारुले मिडियामा आएकोजस्तो चिठीमा “सांसद पदको मोह त्याग्न नसकी अलग दल दर्ता गरें” भन्ने शब्दावली आफूले नलेखेको दावी गर्नुभयो । हमार पहरा डट कमसँग कुरागर्दै थारुले त्यो अफवाह मात्र भएको दावी गर्नुभयो । तर चिठीमा उहाँको हस्ताक्षरसहितको शब्दावली प्रष्टै देखिन्छ ।

यसअघि थारु सत्गौंवाले पार्टी फोड्नुको आरोप वरिष्ठ नेतालाई लगाउनुभएको थियो । उहाँकै कारण आफूले पार्टीमा न्याय नपाउँदा पार्टी फुटाउनुपरेको बताउनुभएको थियो । तर यस विषयमा वरिष्ठ नेता तथा सांसद गोपाल दहितसँग कुरागर्दा उहाँले त्यो आरोपलाई सिधै अस्वीकार गर्नुभयो ।

“गंगा थारुलाई मैले कहिल्यै घोचपेच गरेको छैन, अपमानित हुने व्यवहार पनि गरेको छैन, कामको सिलसिलामा मुद्दामा बहस हुनु सामान्य हो” सांसद दहितले भन्नुभयो । गंगा थारुले पार्टी फुटाउन खोजेको खवर उहिल्यैदेखि भएपनि लामो समय कारवाही नगरिएको दहितले बताउनुभयो ।

“विश्वास छ, आफ्नो सोच, तुच्छबोलीमा लगाम लगाए भने म टाढा छैन, म तपाईहरुको नजिकै छुँ, फेरि एक हुन सकिन्छ ।”

“पहिले नयाँ शक्ति पार्टीमा जाने तयारी गर्नुभएको थियो, पार्टीले सचेत गराएपछि रोकिनु भयो, अहिले अर्को बहानाबाजी बनाएर पार्टी फुटाउनुभयो, यो ठीक भएन” दहितले भन्नुभयो । गल्ती सच्याएर आए अझै पार्टी एक हुनसक्ने उहाँको भनाई छ ।

तर यता गंगा थारुले पनि दहितले आफ्नो आनीबानी सुधारे पार्टी एक हुनसक्ने बताउनुभएको छ । लामो समयको पेलानपछि विरक्त भएर अलग हुनुपरेको उहाँको भनाई छ । पार्टी बैठकमा उजुरी र गुनासो गर्दापनि सुनुवाई नभएकाले बाध्य भएर एक्लिनुपरेको थारुको तर्क छ ।

पार्टीमा प्रेसित चिठीको अन्तिममा थारुले लेख्नुभएको छ, “विश्वास छ, आफ्नो सोच, तुच्छबोलीमा लगाम लगाए भने म टाढा छैन, म तपाईहरुको नजिकै छुँ, फेरि एक हुन सकिन्छ ।”

तपाईको प्रतिक्रिया