घनश्याम चौधरी
मोरङ, पुस १६ गते । मोरङ जिल्लाको लखन्तरी ७ मा गत आइतबार भएको आगलागी पीडितलाई दुई थारु संस्थाले राहत बितरण गरि सहयोग गरेका छन।
बिबेकशील थारू युवा समूह सुनसरि मोरङ र प्रवासी थारु सेवा समाज मलेसियाको संयुक्त पहलमा आगलागीबाट पीडित ४ घर परिवारलाई राहतस्वरुप जाडोमा ओढ्ने १, १ थान सिरक, ५० किलोको चामल र खाना बनाउन प्रयोग गरिने केही भाँडाकुडा राहत स्वरुप दिइएको सो संस्थाले जानकारी गराएको छ । पीडित घर परिवारलाई सहयोग गरेको समूहका प्रमुख पदाधिकारी राजेश भगत र सेवा समाजका अध्यक्ष आर. एन. चौधरीले जानकारी गराउनुभयो ।
आगलागीबाट नारायण माझी, चन्द्रनारायण माझी, सुर्यनारायण माझी, ललित ठाकुर गरी चारघर परिवारको घर, गोठ, पशुपंक्षी जलेर नष्ट भएका थिए ।राहत पाउँदा आगलागीपीडित नारायण माझीले भने, हामीलाई नेपाल सरकारले कुनै सहयोग नगरे पनि युवा समूहले गर्दा बाँच्ने आशा पलाएको छ । राहत बितरण कार्यक्रममा समूहका प्रमुख राजेश भगतसहित कमला चौधरी ,मनिता माझी, बिरबल गच्छदार, प्रदिप चौधरी, बिनोद चौधरीलगायतको सहभागिता थियो ।
नेपालको तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाती थारु समुदायको निम्ति बिबेकशील थारु युवा समूहले सक्रियरुपमा सहयोग गरिरहेको छ । त्यस्तै, भरखर केही महिना अगाडिमात्र प्रबास मलेसियामा स्थापना भएको प्रवासी थारु सेवा समाज मलेसियाले पनि थारु समुदायलाई अगाडि बढाउनकानिम्ति, थरुहट बिकासको निम्ति लागीपरेको छ ।